Successfully Copied

छोरीको जीवनमा बुवाको महत्व

बुवा यस्ता हुन्छन् जसले छोरीको सुरक्षा, खुसी, उन्नति, प्रगति एवं प्रतिष्ठाका लागि जीवनभर संघर्ष गर्नुपरे पनि हार मान्दैनन् । मेलिना राईले आज गायनमा सर्वाधिक सफलता हासिल गरेकी छिन् । उनको सफलताका पछाडि बुवा जीवेश राईको त्याग र परिश्रमको कथा पनि जोडिन्छ ।

‘जो आफ्नो दुःख लुकाएर सन्तानको खुसी खोज्छन्, ती पिता हुन् ।’ नेपाली समाजमा एउटा भनाइ छ–‘छोरीहरू जहिले पनि बुवाका प्यारा हुन्छन् ।’ बुवाले छोरीलाई निकै माया–ममता दिएर हुर्काउँछन् । हाम्रो समाजको परम्परागत चलनअनुरूप छोरीहरू हुर्किएपछि पराई घरमा जान्छन्, सधै आफ्नो साथमा हुँदैनन् । त्यसैले पनि बुवाहरू छोरीको भविष्यप्रति बढी चिन्तित हुन्छन् । छोरीलाई सबल र सक्षम बनाइयो भने पराई घरमा दुःख पाउँदैनन् भन्ने सोच सबैजसो बाबुमा हुन्छ । 

त्यति मात्र होइन, कतिपय बुवा यस्ता हुन्छन् जसले छोरीको सुरक्षा, खुसी, उन्नति, प्रगति एवं प्रतिष्ठाका लागि जीवनभर संघर्ष गर्नुपरे पनि हार मान्दैनन् । मेलिना राईले आज गायनमा सर्वाधिक सफलता हासिल गरेकी छिन् । उनको सफलताका पछाडि बुवा जीवेश राईको त्याग र परिश्रमको कथा पनि जोडिन्छ । 

मेलिना राई, गायिका

बुवा : जीवेश राई 

‘मलाई आज यहाँसम्म ल्याउन मेरा बुवाले धेरै दुःख गर्नुभएको छ’ अहिलेकी सर्वाधिक चर्चित र व्यस्त गायिका मेलिना राई भन्छिन् । ‘कम्मरमाथि पटुकी’, ‘कुटुमा कुटु’, ‘शिरैमा शिरबन्दी’, ‘ठमेल बजार’ जस्ता गीतबाट आफूलाई चिनाएकी मेलिना अहिलेकी महँगी अनि सर्वाधिक माग भएकी गायिका हुन् । चलचित्रको पार्श्वगायनमा होस् वा देश–विदेशको स्टेजमा, मेलिनाको खोजी हुन्छ । मेलिनाको नजरमा जीवेश एक प्रतिनिधि बुवा हुन्, जसले आफ्नी छोरीको भविष्यका लागि आफूलाई समर्पित गरे । 

बाबा पनि गुरू पनि

मेरो बाबा, बाबा मात्र नभएर गुरू पनि हुनुहुन्छ । उहाँ पनि संगीतकर्मी हुनुहुन्छ । बाबाले नै मलाई संगीतमा लाग्न हौसला दिनुभयो । बाबाले म र मेरी बहिनीलाई सानै उमेरदेखि संगीतमा लगाउनुभयो । 

बाल्यावस्थामा हामी दार्जीलिङमा बस्थ्यौं । बाबाको पेसा नै स्कुलमा संगीत सिकाउने थियो । घरमा हामीले बाबासँगै संगीत सिक्नुपर्थ्यो । हरेक बिहान रियाज गर्ने रुटिन थियो जसका लागि बिहान चार बजे नै उठ्नुपर्थ्यो । 

केटाकेटीमा झिसमिसे उज्यालो नहुँदै उठ्न गाह्रो हुन्थ्यो । न्यानो ओछ्यान छाड्नै मन लाग्दैनथ्यो तर बाबा एकदमै कडा स्वभावको हुनुहुन्थ्यो । भनेको नमाने गाली गर्नुहुन्थ्यो । त्यसैले बाबाको डरले ओछ्यान छाडिन्थ्यो । उठेर फ्रेस हुनासाथ बाबा हारमोनियम लिएर बस्नुहुन्थ्यो । हामीले त्यसमा सुरताल मिलाउनुपर्थ्यो । बाबा मेरो आवाजको निकै ख्याल राख्नुहुन्थ्यो । आवाज खराब हुने खानेकुरा खान पाइँदैनथ्यो । चिल्ला, अमिला, धेरै चिसा खानेकुरा खान बन्देज थियो । कोक, फेन्टा पनि पिउन दिइँदैनथ्यो । 

म गायिका बनेको हेर्ने इच्छा म आफैमा भन्दा मेरा बाबामा बढी थियो । त्यसैले कठोर मेहनत गरेर उहाँले मलाई संगीत साधनामा लगाउनुभयो । 

बाबाको स्वभाव कडा भए पनि मलाई कहिल्यै कुनै गुनासो रहेन । बाबाले गाली गर्दा वा पिट्दा एकछिन चित्त दुखे पनि मेरै लागि हो भनेर म आफूलाई सम्झाउँथें । मैले गल्ती गरेर नै गाली खाएँ, कुटाइ खाएँ भनेर रियलाइज गर्थें । आज म जुन ठाउँमा छु त्यसका लागि मेरा बाबाले धेरै संघर्ष गर्नुभएको छ । उहाँले मलाई राम्रो शिक्षा दिनुका साथै असल अभिभावकत्व पनि दिनुभएको छ । उहाँको मेहनतकै कारण आज मलाई धेरैले मेलिना राईका रूपमा चिन्नुभएको छ ।

 

 Image