Successfully Copied

बाँझोपन : महिला र पुरुष दुवैमा हुन्छ

बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार तथा समाजबाट अपहेलित हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या पुरुषमा भए पनि महिलाले नै त्यसको अपजस खेप्दै आएका छन् । यद्यपि महिला र पुरुष दुवैमा बाँझोपनको समस्या देखिन्छ ।

नि: सन्तान विशेषज्ञ, ओम अस्पताल तथा रिसर्च सेन्टर 

बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार तथा समाजबाट अपहेलित हुनुपर्ने अवस्था छ । बाँझोपनको समस्या पुरुषमा भए पनि महिलाले नै त्यसको अपजस खेप्दै आएका छन् । यद्यपि महिला र पुरुष दुवैमा बाँझोपनको समस्या देखिन्छ ।

अध्ययनअनुसार १ सय दम्पतीमध्ये १०–१२ दम्पतीमा बाँझोपनको समस्या हुनसक्छ । महिला र पुरुष यसका समान भागिदार हुने गरेका छन् तर पितृसत्तात्मक नेपाली समाजले सम्पूर्ण दोष महिलामाथि नै थोपर्ने गरेको छ ।

के हो बाँझोपन ?

महिला वा पुरुषका प्रजनन अङ्गमा आएको खराबीका कारण गर्भाधान नहुनुलाई बाँझोपन वा नि:सन्तान भनिन्छ । यो आफैंमा एउटा रोग हो भने अन्य रोगका कारण पनि बाँझोपनको समस्या निम्तिन सक्छ ।

महिलामा रजस्वला हुँदा ३ देखि ४ लाख अण्डा स्टोर भएका हुन्छन् । महिलाको प्रजनन उमेरभर ३ सयदेखि ४ सयपटक महिनावारी हुन्छ र हरेक पटक एउटा मात्र अण्डा निष्कासन हुन्छ । विशेषगरी महिनावारी भएको १२–१३ औं दिनमा अण्डा निष्कासन हुन्छ ।

सोही समयमा यौन सम्पर्क भै अण्डाले शुक्रकीट पायो भने गर्भ बस्छ । उक्त अण्डाको आयु १५ देखि २० घण्टा हुन्छ । महिनाको एकपटक मात्र आउने उक्त गोल्डेन समयमा अण्डा र शुक्रकीटको मिलन भए त्यसबाट भ्रूण बन्ने प्रक्रिया सुरु हुन्छ ।

महिलामा बाँझोपन

३५ वर्षभन्दा कम उमेरका महिलाले १ वर्ष, ३५–४० उमेरका महिलाले ६ महिना र ४० वर्षमाथिका महिलाले ३ महिना प्रयास गर्दा पनि गर्भाधान हुन सकेन भने नि:सन्तानको समस्या भएको बुझ्नुपर्छ । पाठेघरको मुख निकै टाइट वा सुक्खा भयो भने शुक्रकीट गर्भनलीसम्म पुग्न सक्दैन जसका कारण बाँझोपनको समस्या सिर्जना हुनसक्छ तर यो समस्या बिरलै भेटिन्छ ।

केही महिलामा जन्मजात नै बाँझोपनको समस्या हुन्छ भने कतिपय अवस्थामा डिम्बाशयले निकालेको अण्डा तल झर्न पाउँदैन । गर्भनलीमा समस्या भए अण्डा निस्कन सक्दैन र शुक्रकीटसँग अण्डाको मिलन हुन पाउँदैन । महिलाको उमेर धेरै भएको अवस्थामा डिम्बले आवश्यकताअनुसारको अण्डा उत्पादन गर्न सक्दैन । त्यसकारण पनि गर्भ रहन सक्दैन ।

डिम्बले चाहिनेभन्दा बढी अण्डा उत्पादन गर्दा पनि बाँझोपनको समस्या उत्पन्न हुनसक्छ । अण्डा फुट्न १८ देखि २० मिलिमिटर साइजको फोका हुनुपर्छ तर धेरै भयो भने १० मिलिमिटरभन्दा माथि जाँदैन र अण्डा फुट्नै धेरै दिन (४०–४५ दिन) लाग्न सक्छ । यसमा गर्भ बस्ने सम्भावना निकै कम हुन्छ । धेरै पटक पेटको अप्रेसन गरिएको छ भने डिम्बाशय पेटमा टाँसिन्छ र अण्डा निस्कदैन । पाठेघरमा ट्युमर, विभिन्न किसिमका इन्फेक्सन हुँदा, गर्भर्िनरोधक औषधि बढी प्रयोग गर्दा तथा धेरै नै क्युरेट गरिएको छ भने बाँझोपनको समस्या सिर्जना हुन्छ ।

पुरुषमा बाँझोपन

ओलिगो, एस्थेनो, टेराटो, स्पर्नियालगायतका समस्याका कारण पुरुषमा बाँझोपन हुन्छ । शुक्रकीटको संख्या कम र गति निकै कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखिन्छ । एक एमएल वीर्यमा डेढ करोड शुक्रकीट हुनुपर्छ ।

त्यसमध्ये ४० प्रतिशत सक्रिय हुनुपर्छ तर कसै–कसैमा १० मिलियन वा त्यसभन्दा पनि कम हुनसक्छ । यस्तो अवस्थामा ६० प्रतिशत शुक्रकीट सक्रिय हुनुपर्छ । त्यस्तो नभए बाँझोपन भएको बुझ्न सकिन्छ ।

शुक्रकीटको आकार पनि यसको अर्को कारण हो । सामान्यतया शुक्रकीटको टाउको र पुच्छर जोडिएको हुन्छ । तर कतिपयमा पुच्छर नहुने र कतिपयका टाउका दुईवटा हुन्छन् । यस्तो अवस्थामा पनि बाँझोपन हुनसक्छ ।

अण्डकोषमा बढी तापक्रम हुँदा शुक्रकीट उत्पादनमा कमी आउन सक्छ । त्यस्तै जिम गर्ने क्रममा स्टोरोइड भएका खाना बढी खाँदा बाँझोपन हुनसक्छ । जंक फुड बढी खाँदा पनि बाँझोपन उत्पन्न हुनसक्छ ।

केही पुरुषमा जन्मजातै बाँझोपनको समस्या हुन्छ । यस्ता पुरूषमा शुक्रकीट नै उत्पादन हुँदैन । लिङ्गबाट सेतो पदार्थ निस्किए पनि त्यसमा शुक्रकीट भने हुँदैन । लिङ्ग र अण्डकोषबीचको नलीको खराबी र अण्डकोषको आकार निकै सानो भए पुरुषमा बाँझोपनको समस्या सिर्जना हुन्छ ।

यौन प्रक्रियामा भाग लिने प्रजनन अङ्गहरू (योनि, पाठेघरको मुख, पाठेघर, गर्भनली र डिम्ब) ले 

आफ्नो भूमिकाअनुसारको कार्य गर्न नसक्दा महिलामा बाँझोपनको समस्या देखिन सक्छ । पुरुषमा भने मुख्यत: वीर्यका कारणले बाँझोपनको समस्या उत्पन्न गर्छ ।

महिलामा बाँझोपनको समस्या भए–नभएको थाहा पाउन पाँचवटै अङ्गको जाँच गर्नुपर्ने हुन्छ तर पुरुषको हकमा वीर्य मात्रै जाँचे पुग्छ । पुरुषको शुक्रकीटलाई माइक्रोस्कोपमा राखेर त्यसमा शुक्रकीट छ कि छैन भनी परीक्षण गरिन्छ । त्यस्तै कति संख्यामा छ ? त्यसको गति कति छ ? आकार कस्तो छ भन्ने कुरा १० मिनेटमै थाहा हुन्छ । महिलाको हकमा भने केही दिनको परीक्षणपछि मात्र बाँझोपनको समस्या भए–नभएको र के कारणले भएको पत्ता लगाउन सकिन्छ ।

बाँझोपनको समस्या हुँदा यौन इच्छामा कमी आउँदैन । परिवार र समाजबाट एक्लिने डरले यो विषयमा दम्पतीहरू बढी चिन्तित हुन्छन् । सन्तान नभएको अवस्थामा शारीरिक कारणले भन्दा पनि मनोवैज्ञानिक कारणले गर्दा यौन इच्छामा कमी आउन सक्छ ।

 Image