Successfully Copied

एउटै सिक्काका दुई पाटा : नरेन्द्रबहादुर र निरु श्रेष्ठ

साहित्यिक कार्यक्रम, कला प्रदर्शनी तथा व्यावसायिक जमघटहरूमा धेरैजसो सँगै पुग्छन्–श्रेष्ठ दम्पती । निरु श्रीमान्का हरेक क्रियाकलापमा उत्तिकै चासो राख्छिन् र राम्रो कला एवं कृतिका लागि प्रोत्साहन पनि दिन्छिन् । अहिलेसम्म परिवारसँगै बसेर राति टिभी हेर्दै दिनभरिका घटनाहरू सुन्ने, सुनाउने बानी छ उनीहरूको । हरेक पुरुषको सफलतामा

जीवन दु:ख र सुखको दोसाँध हो । दु:खमा नआत्तिनु र सुखमा नमात्तिनु भन्ने सिद्धान्तमा हिँडिरहेका दम्पती हुन्, नरेन्द्रबहादुर श्रेष्ठ र निरु श्रेष्ठ । उनीहरूको विवाह भएको ४४ वर्ष नाघिसकेको छ तर उनीहरूलाई अझै पनि आफ्नो विवाह भर्खरै भएजस्तो लाग्छ । श्रेष्ठ दम्पती आफ्नो सम्बन्धलाई एउटै सिक्काको दुई पाटा भन्न रुचाउँछन् । विवाहपछि नै नरेन्द्रबहादुर व्यवसायका साथमा कविता लेखन र जराको स्कल्पचरमा परिचय स्थापित गर्न सफल भएका हुन् । जीवनमा धेरै किसिमका उत्तारचढाव आए तर यी आपसी समझदारी, व्यावहारिकता एवं एउटै निर्णयका कारण हरेक परिस्थिति सहज बन्दै गए । 

नेपालमा जराको स्कल्पचर बनाउने पहिलो कलाकार हुन् नरेन्द्र र यसलाई निरन्तरता दिने पनि उनी मात्र हुन् । उनी आफ्नो कलालाई प्रकृतिसँयको सहकार्य भन्न रुचाउँछन् । उनका कोठाभरि जरा, काठ, रंग तथा ब्रसहरू छरिएका हुन्छन् । काठको धूलोले सोफा तथा कार्पेट फोहोर हुन्छन् तर कहिल्यै श्रीमतीले उनको यो कलाप्रतिको मोह भंग हुने गरी डिस्टर्ब गरिनन् । अहिले नाति सानो भएकाले नरेन्द्रबहादुरलाई छुट्टै वर्कसप बनाइदिएकी छिन् तर एक्लै बसेर काम गर्न नसक्ने नरेन्द्र श्रीमतीकै अघि किचेन, डाइनिङ वा बेडरुममै जराबाट विभिन्न स्कल्पचर बनाइरहन्छन् । निरु उनको त्यो कला दंग पर्दै हेरिरहन्छिन् । 

काठमाडौंमा जन्मिएका नरेन्द्रबहादुर सानैदेखि स्टेजमा नाटक गर्ने, कविता कोर्ने, पेन्टिङ गर्ने प्रकृतिका थिए । यसरी कला क्षेत्रमा मात्र व्यस्त भएपछि कमाउनु पनि पर्छ भनेर उनी विराटनगरमा छिरेका थिए । त्यतिबेला धरानकी निरु श्रेष्ठसँग उनको विवाहको कुरा अघि बढ्न थाल्यो । पिकेमा दिदीसँग पढ्ने धरानकी निरु श्रेष्ठको आनीबानीले गर्दा आमाबाट नै कुरा अघि बढेको हो । विवाह भएको केही समयसम्म पनि नरेन्द्रले कविता नलेखेको र चित्रहरू नकोरेको देखेर खोइ त कलम र कुची चलाएको भन्दा आफूमा जोस आएको नरेन्द्र बताउँछन् । उनले त्यतिबेला निरुलाई हेरेर कविता फुराइहाले जसलाई निरुले टेप रेकर्डमा रेकर्ड गरेकी थिइन्, जुन अहिले पनि सुरक्षित छ । विवाहपछि उनीहरू दुई वर्ष विराटनगरमै बसे । काठमाडौं आएर विशालबजारमा व्यापार गर्न थालेकै बेला इन्डियन पब्लिसरले २०१८ मा नरेन्द्रको कविता संग्रह प्रकाशित गरिदिए । नरेन्द्र आफ्नो कविताको आधा अंग श्रीमतीलाई नै मान्छन् । कविताको आलोचना र समालोचना पनि श्रीमतीबाटै पाउँछन् । 

विवाहअघि नै ग्राजुएट निरुले विवाहपछि कतै जागिर खाइनन् । सासू आमाले धेरै ठाउँमा जागिर मिलाइदिए पनि श्रीमान्सँगको सल्लाहमा उनी घर, परिवार तथा छोराहरू हेर्ने जिम्मा लिएर बसिन् । त्यो समय धेरै घरका छोराहरू कुलतमा परेको सुनिन्थ्यो, त्यसको डर थियो । अहिले दुवै छोरा सफल भएकोमा निरु आफूले गरेको निर्णय सही भएको अनुमान लगाउँछिन् । उनका अरु समकालीन साथीहरूको पेन्सन आए पनि निरु छोराहरू नै आफ्ना पेन्सन हुन् भन्ने मानेर खुसी छिन् । नरेन्द्रबहादुर आफ्नी जीवसाथीको प्रशंसा गरेर थाक्दैनन् । म निरुकै कारण साहित्य, कला, समाजसेवा तथा व्यवसायमा सफल हुन सकेको हुँ । उनी भन्छन्–कुराकानीकै क्रममा आफू गलत बाटोमा जानबाट श्रीमतीले रोकेको सन्दर्भ पनि सुनाउँछन्–उनी । हङकङमा व्यवसायका क्रममा उनले दुईवटा बाटा देखे । रातारात लखपति हुने कि विस्तारै कमाउने । श्रीमतीको इच्छा र मनसाय बुझ्न उक्त कुरा सुनाउँदा उनले एकैपटक धुरी चढ्नु छैन, विस्तारै पुगौंला भनिन् । सही बाटो हिँडौं, मलाई सुनका चुरा, नेकलेस आदि लगाउने इच्छा छैन भनेपछि नरेन्द्रले सही जीवनसाथी पाएकोमा गर्व गरे । अहिलेसम्म श्रीमतीले कहिल्यै महँगा साडी तथा गहनाको डिमान्ड नगरेको उनी बताउँछन् । 

साहित्यिक कार्यक्रम, कला प्रदर्शनी तथा व्यावसायिक जमघटहरूमा धेरैजसो सँगै पुग्छन्–श्रेष्ठ दम्पती । निरु श्रीमान्का हरेक क्रियाकलापमा उत्तिकै चासो राख्छिन् र राम्रो कला एवं कृतिका लागि प्रोत्साहन पनि दिन्छिन् । अहिलेसम्म परिवारसँगै बसेर राति टिभी हेर्दै दिनभरिका घटनाहरू सुन्ने, सुनाउने बानी छ उनीहरूको । हरेक पुरुषको सफलतामा महिलाको हात हुने कुरामा नरेन्द्रबहादुर पूर्णरूपमा सहमत छन् । अहिले सामाजिक सञ्जालले गर्दा हरेक कुरा छिटो संचार हुने र रिजल्ट आइहाल्ने हुँदा यसमा बढी सक्रिय हुन थालेको निरुलाई चित्त बुझ्दैन । निरुका अनुसार अहिलेको घोप्टे युगबाट वृद्धदेखि बालकसम्म दुस्प्रभावित छन् । यसले एक–अर्काप्रति समयको अभाव महसुस हुन्छ । यद्यपि नरेन्द्रबहादुरको मान्यता यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने छ । श्रेष्ठ भन्छन्–धेरै त चिनी पनि तीतो हुन्छ तर हामी अहिलेको युगअनुसार चल्न सकेनौं भने डेट एक्सपायर वस्तुझैं हुन पुग्छौं ।

नरेन्द्रको नजरमा श्रीमती

    नरेन्द्रबहादुरको परिचय बनाउने व्यक्ति नै निरु श्रेष्ठ हुन् ।

    प्रतिभाको कदर गर्ने बानी छ ।

    हरेक काम योजना बनाएर गर्छिन् ।

    उनीबाट कहिल्यै नचाहिँदो माग भएन, जसले गर्दा जीवन सहज भयो ।

    बीचबाटै कुरा गर्ने र बुझिएन भने रिसाउने उनको एउटै कमजोरी छ । 

निरुको नजरमा श्रीमान् 

    काम मात्र भनेर परिवारलाई विखण्डन हुन दिनु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ ।

    समय व्यवस्थापन गर्न सक्ने खुबी छ ।

    सारै खट्न सक्ने, जोसिलो व्यक्ति हुनुहुन्छ ।

    कुनै पनि काम नसकेसम्म एकोहोरो लागिरहनुहुन्छ ।

    अहिले मोबाइल बढी चलाउन थालेकाले कुराकानीमा भने केही कमी आएको छ ।

 

 Image