Successfully Copied

प्रेममा सबै कुरा गौण हुन्छ

३४ वर्षअघि नेपाली समाज अहिलेजस्तो फराकिलो थिएन । त्यस्तो बेलामा पनि उषाले आफूभन्दा कान्छा श्रीमान् राजीवलाई रोजिन् । प्रेममा सबै कुरा गौण हुने बताउने उनीहरू मुख्यत: व्यक्ति असल र एक–अर्कालाई बुझ्ने भएमा वैवाहिक जीवन सार्थक हुनेमा विश्वास गर्छन् ।

उषा शाही, अनुसन्धानकर्ता / राजीव शाही, व्यवस्थापन विशेषज्ञ

३४ वर्षअघि नेपाली समाज अहिलेजस्तो फराकिलो थिएन । त्यस्तो बेलामा पनि उषाले आफूभन्दा कान्छा श्रीमान् राजीवलाई रोजिन् । प्रेममा सबै कुरा गौण हुने बताउने उनीहरू मुख्यत: व्यक्ति असल र एक–अर्कालाई बुझ्ने भएमा वैवाहिक जीवन सार्थक हुनेमा विश्वास गर्छन् । उषा भन्छिन्, ‘उहाँको बौद्धिकस्तर, मायालु स्वभाव र समझदार बानीका कारण उमेरले त्यहाँ कुनै अर्थ राखेन । हरेक क्षणमा हामी दुवैले एक–अर्कालाई दिने साथ र समर्थनका कारण पनि हामीबीच उमेर कहिल्यै बाधक बनेन ।’

लैंगिक विभेद गर्ने–गराउनेहरू एकै उमेर समूहका किन नहून्, तिनीहरूबीच वैमनश्यता आउन सक्ने ठान्छन्, राजीव । त्यस्तो सम्बन्धबीच तिक्तता, नैराश्यता र विचारमा बेमेल हुने राजीवको विश्वास छ । भन्छन्, ‘मलाई त मभन्दा उनी अझ पक्का लाग्छिन् । धेरै सम्बन्ध उमेरान्तरका कारण धरापमा परेको भनिन्छ । समाजले पनि यसलाई कटाक्षको विषय बनाउँछ ।

उषा भन्छिन्, ‘एक समय महिला पूर्णरूपमा श्रीमान्मा आश्रित थिए । सम्पूर्ण जिम्मेवारी बहन गर्न पुरुष पाको, पढेको, परिपक्व हुनैपर्छ भन्ने थियो । कथंकदाचित् जेठी श्रीमती परिन् भने यसले जितेर खान्छे भन्ने हुन्थ्यो । अहिले पनि हामी उही कुरामा अडिग रह्यौं भने परिवर्तन असम्भव हुन्छ । परिवर्तन आफैबाट किन नथाल्ने ? उमेर होइन, व्यवहार र समझदारीले दाम्पत्य जीवन सुन्दर हुने हो त्यसको उदाहरण हामी किन नबन्ने ?’ 

उषालाई लाग्छ, एकपटक प्राप्त सुन्दर जीवन उमेरभन्दा धेरै गुना फराकिलो छ । मानसिक परिपक्वता बढाउन यही व्यायाम काफी छ । त्यसकारण उनी उमेरमै मात्र केन्द्रित रहेर अन्य सारा कुरा छाड्नुलाई जीवनकै दुर्भाग्य सम्झिन्छन् । भन्छिन्, ‘उमेरभन्दा माथि धेरै कुरा छन् जसले तपाईंको दाम्पत्य जीवनलाई स्वर्ग बनाउन सघाउँछन् ।’

उमेरान्तरजस्ता झिनामसिना विषयमा अल्झिन नहुने राजीवको सुझाव यस्तो छ । ‘अरुलाई सुनेर तनाव बोक्नुअघि आफूलाई भित्रैदेखि सुनौं । जीवन बिताउने दुई व्यक्तिले हो,’ उनले भने, ‘हामै्र कुरा गर्दा पनि हामी दुवैले आफूभित्रको आत्मालाई नसुनेको वा नबुझेको भए सायद हामी सँगै हुन्नथ्यौं कि ?’

 Image