Successfully Copied

साहसिक क्षेत्रका  पथप्रदर्शक

भौगोलिक विकटताले नै साहसिक पर्यटनको गन्तव्य बनाएको छ, हाम्रो मुलुकलाई । भनिन्छ, विदेशी आगन्तुकहरू हिमाल हेर्न वा चढ्न मात्र आउँदैनन् । लुम्बिनी वा पशुपतिको फन्को लगाउन मात्र आउँदैनन् । आङ सिरिंग हुने खेलको अनुभव संगाल्न पनि आउँछन् । 

  

बेतोडले बग्ने पहाडी नदी, अत्यासलाग्दो पखेरा, कहालीलाग्दो खोंच । यही भौगोलिक विकटताले नै साहसिक पर्यटनको गन्तव्य बनाएको छ, हाम्रो मुलुकलाई । भनिन्छ, विदेशी आगन्तुकहरू हिमाल हेर्न वा चढ्न मात्र आउँदैनन् । लुम्बिनी वा पशुपतिको फन्को लगाउन मात्र आउँदैनन् । आङ सिरिङ्ग हुने खेलको अनुभव संगाल्न पनि आउँछन् । 

कुनै बेला चुल्होचौकामै सीमित महिलाहरू अहिले यस्ता साहसिक खेलहरूका पथप्रदर्शक बनेका छन् । तिनै महिलाहरूको कथा हो यो, जो हरक्षण जोखिमसँग खेल्छन् । 

फेवातालको आकाशमा उड्ने शर्मिला 

पोखराको सारङकोटबाट उड्दै फेवातालको आकाशमा फन्को लगाउने काम हो, शर्मिला शर्माको । उनी प्याराग्लाइडिङ पाइलट हुन् । शर्मिला बिहान ८ बजे नै पोखराबाट सारङकोट पुग्छिन् । दिनमा दुई पटकसम्म प्याराग्लाइडिङ गर्छिन् । यो उनको विगत सात वर्षदेखिको दैनिकी हो । 

उनले यो काम सुरु गर्नुअघि नेपालमा प्याराग्लाइडिङ पाइलट कम थिए, विदेशबाट झिकाउनुपर्ने बाध्यता थियो । त्यही बाध्यता टार्नका लागि शर्मिला आफै प्याराग्लाइडिङ गर्न तम्सिइन् । १८ महिनाको तालिम लिइन्, १५ सय घन्टा अर्थात् तीन दिनको एकल उडान गरिन् । त्यसपछि व्यावसायिक उडान गर्ने अनुमति पाइन् । पहिलो पटक एक्लै प्याराग्लाइडिङ गरेको सम्झँदै शर्मिला भन्छिन्–‘त्यो एकदमै रोमाञ्चक क्षण थियो । चराजस्तै उड्दा कसको मन फुरुङ्ग हुँदैन होला र र?’शर्मिलाको कर्मक्षेत्र यही हो । त्यसो त उनका श्रीमान् पनि यही क्षेत्रमा छन् । दुवैले प्याराग्लाइडिङ कम्पनी पनि सञ्चालन गरिरहेका छन् । 

प्याराग्लाइडिङ साहसिक र चुनौतीपूर्ण खेल पनि हो । यसमा हावाको बहाव र मौसमको पूर्वानुमान गर्न सक्नुपर्छ । कहिलेकाहीँ खराब मौसमले चुनौती दिन्छ । यद्यपि पोखराको सराङकोट दक्षिण एसियामै वर्षैभरि उडान गर्न सकिने राम्रो मौसम भएको सुरक्षित स्थान मानिन्छ । गण्डकी प्रदेशको नेपाल एयरपोर्ट्स एसोसिएसनका अध्यक्ष कृष्ण भण्डारी भन्छन्–‘प्याराग्लाइडिङ उद्योगमा लिङ्ग विभेद हुँदैन र एसोसिएसनले महिला पाइलटको सहभागिता बढाउने प्रयास गरिरहेको छ ।’ 

नदीको छालसँग खेल्ने राधा 

सिन्धुपाल्चोकमा जन्मी–हुर्केकी राधा तामाङ हरेक दिन तीव्र गतिमा बग्ने नदीको छालसँग लुकामारी खेल्छिन् । र्‍याफ्टिङका लागि प्राविधिक हिसाबले निकै जटिल र कठिन भनी विश्वमै कहलिएको छ, नेपालको भोटेकोशी–सुनकोशी नदी । त्यही नदीसँग उनको साइनो गाँसिएको १० वर्ष भयो । यसबीचमा उनी कति पटक छालमा हराइन्, कति पटक तैरिइन् गनिसाध्य छैन । छालसँग खेल्दा जति जोखिम हुन्छ, उत्तिकै रमाइलो पनि हुने राधाको अनुभव छ । 

यो रोमाञ्चक खेलको अनुभव लिन चाहनेहरूको रहर पूरा गर्नु उनको जिम्मेवारी हो । र्‍याफ्ट बोटलाई कसरी कुशलतापूर्वक तैराउने भन्ने कुरामा उनले खास हेक्का राख्नुपर्ने हुन्छ । र्‍याफ्टिङको अनुभव संगाल्न आउनेलाई सुरक्षित राख्नु उनको कर्तव्य हो । र्‍याफ्ट बोट पानीको भुमरीमा फस्न सक्छ, ठूलो चट्टानमा अड्किन सक्छ, असन्तुलित भई पल्टन सक्छ । यी सबै अवस्थाबाट उनले जोगाउनु पर्छ । 

एसएलसी सकेर काठमाडौं आएपछि उनको र्‍याफ्टिङ करियर सुरू भयो । स्विडेनका र्‍याफ्टिङ प्रशिक्षकले नेपाली महिलालाई गाइड तालिम दिने कुरा थाहा पाइन् । साहसिक खेलमा महिला सहभागिता कम भएकाले स्विडेनबाट प्रशिक्षक ल्याएर १० नेपाली महिलालाई तालिम दिइएको थियो । 

उनी सम्झन्छिन्–‘त्यो समयमा धेरै महिलालाई पानीमा पौडिन आउँदैनथ्यो । त्यसैले सुरुमा पौडिन सिकाइयो । त्यसपछि नदीमा कसरी बोट बहाउने भन्ने सिकाइयो ।’ राधा कहिल्यै ठूलो नदीमा पौडेकी थिइनन् । नदी देख्नेबित्तिकै उनको होस उड्यो । तर उनले साहसपूर्वक सिकिन् ।

‘आउटडोर एडभेन्चरमा स्वाभाविक रूपमा जोखिम त हुन्छ नै । र्‍याफ्टिङ अवधिभर चनाखो भइरहनुपर्छ,’ उनी थप्छिन्–‘र्‍याफ्टिङ गर्न आउने सबैले पौडी सिकेका हुँदैनन् । कहिलेकाहीँ उनीहरू बोटबाट उछिट्टिन्छन् । यस्तोमा उनीहरूलाई उद्धार पनि गर्नुपर्छ ।’ 

अहिले पनि र्‍याफ्टिङमा महिला सहभागिता कम नै छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा० का अनुसार १ हजार ६ सय जना प्रमाणीकृत रिभर गाइडमध्ये महिला जम्मा १० जना छन् । तथापि पहिलेको तुलनामा अहिले महिला गाइडको संख्या बढेको हिमालयन रिभर गाइड एसोसिएसनका अध्यक्ष मानध्वज गुरुङ बताउँछन् । 

हिमाल चढाउने लक्ष्मी 

हिमाली कठोरतासँग पौंठेजोरी खेल्नु लक्ष्मी तामाङको कर्म हो । ४ वर्षदेखि उनी हिमाल आरोहणको सहयोगी बनिरहेकी छिन् । 

त्यसो त, नेपालमा महिला माउन्टेन क्लाइम्बिङ गाइडको उपस्थिति धेरै छैन । मौसम क्षण–क्षणमै बदलिइरहने हुँदा २४ घन्टा सतर्क रहनुपर्छ । त्यो चुनौतीलाई उनले सहजै स्वीकार गरेकी छिन् । उनी भन्छिन्–‘आरोहीलाई हिमाल चढाउने–ओराल्ने काम गर्नुपर्छ । यसबीचमा कुनै आपत् आइलागे के गर्ने भन्नेमा सधैं चनाखो रहनुपर्छ । प्राथमिक उपचारदेखि मौसमको अवस्थासम्म ख्याल राख्नुपर्ने हुन्छ ।’ 

लक्ष्मीले पथप्रदर्शक बनेर सर्वोच्च शिखर सगरमाथा टेकिसकेकी छिन् । यद्यपि, धेरैजसो ६ हजार फिट माथि उचाइ भएको हिमाल आरोहण गर्नेहरूलाई सहयोग गर्छिन् । 

लक्ष्मीकी बहिनी पञ्चमाया राष्ट्रिय वाल क्लाइम्बिङकी खेलाडी हुन् । सुरुमा लक्ष्मीले उनकै सहयोगमा वाल क्लाइम्बिङ सिकिन् । बहिनीको प्रेरणाले उनी रक क्लाइम्बिङ हुँदै माउन्टेन क्लाइम्बिङमा पोख्त भइन् । अहिले अन्तर्राष्ट्रिय माउन्टेन क्लाइम्बिङ गाइड अनुमतिपत्र लिने प्रक्रियामा छिन् । यो अनुमतिपत्र लिएपछि विश्वको कुनै पनि हिमालमा गाइड गर्न सकिन्छ । अहिलेसम्म यस्तो अनुमतिपत्र पाउने एक मात्र महिला पथप्रदर्शक छिन्–दावा याङजोङ शेर्पा । उनी त्यही बाटो पछ्याउँदैछिन् । 

पदयात्रा सारथी दिकु

पर्यटकलाई डोर्‍याउँदै कहिले हिमाल त कहिले पहाडका उकाली–ओराली गर्नु दिकु तामाङको कर्म हो । उनी महिला ट्रेकिङ गाइड हुन्, ११ वर्षदेखि यही काममा रमाइरहेकी छिन् । जतिबेला उनी ट्रेकिङ गाइड बनेर लेकाली गोरेटो उक्लिरहेकी हुन्थिन्, त्यसबेला महिला गाइड नै फेला पर्दैनथे । अन्नपूर्ण पदयात्रामा भने एकाध महिला गाइड भेटिन्थे । 

ट्रेकिङ गाइड बन्नुअघि उनी नर्स बन्न चाहन्थिन् । सोलुखुम्बुमा जन्मिएकी दिकु नर्स बन्नकै खातिर काठमाडौं आएकी थिइन् । पढाइ सिध्याएर उनी डेनमार्क पुगिन्, वर्किङ भिसामा । त्यहाँ बच्चाको स्याहारसुसार गर्नुपर्ने काम थियो । त्यहीँ उनले अंग्रेजी भाषा बोल्न सिकिन् । डेनमार्कको डेढ वर्ष बसेपछि उनी नेपाल फर्केर नर्सिङ पेसामै लागिन् । 

त्यही क्रममा दिकुले साथीहरूलाई सोलुखुम्बु घुमाउन लगिन् । आफू हुर्किएको ठाउँमा लगेर साथीहरू घुमाउँदा उनको दिमागमा जुक्ति फुर्‍यो, अरु पर्यटक पनि घुमाउने । काठमाडौं आएर उनले निस्शुल्क २ महिना ट्ेरकिङ गाइड तालिम लिइन् । जहाँ नेपालको भूगोल, इतिहास, विविध संस्कृति र परम्परा, चाडपर्व र विभिन्न जंगली जनावर एवं पशुपक्षीबारे सिक्ने मौका पाइन् । त्यसका साथै प्राथमिक उपचार कसरी गर्ने, केही समस्या भए कसरी उद्धार गर्ने, हाइ अल्टिच्युडमा जाँदा के–के समस्या हुनसक्छन् र त्यसबेला के गर्ने भन्ने सिकिन् । यसपछि उनी पूर्णकालीन ट्रेकिङ गाइड बनिन् । 

नेपाल पदयात्राका लागि प्रमुख स्थान मानिन्छ । नेपालमा पदयात्रा सबैभन्दा रोमाञ्चक साहसिक यात्रा हो । नेपालमा पदयात्राका लागि महिला यात्रुहरूको संख्या बढ्दो छ । त्यसैले उनीजस्तै महिला पथप्रदर्शकको महत्व पनि बढ्दैछ ।

 

 Image