Successfully Copied

कोरोना त्रास: गर्भवतीलाई चिकित्सकका १२ सुझाव

अहिले कोभिड १९ को संक्रमण पनि बढ्दो छ । यसले गर्भवतीमा संक्रमण गरेमा गर्भपतन हुने संभावना रहन्छ । यसैगरी गर्भमा रहेको शिशुमा समेत असर पर्न सक्छ । अहिलेको विषम परिस्थितिमा गर्भवतीलाई डा. तुमला शाहको सुझाव– 

विश्व यतिबेला कोरोना भाइरस संक्रमणको सन्त्रासमा छ । उत्तरतिरको छिमेकी देश चीनबाट सुरु भएको यो भाइरसको कहर सिंगो विश्वले नै भोगिरहेको छ । विश्वमा मृत्यु हुनेको संख्या आइतबारसम्म ३० हजार पुगिसकेको छ । नेपालमा पनि यसको संक्रमण ५ जनामा देखिएको छ । नेपालले पनि कोभिड १९ को संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गर्दै सामान्य जनजीवनमा रोक लगाएको छ । मौसम परिवर्तनको समय भएकाले भाइरलको प्रकोप पनि बढ्ने संभावना रहन्छ । अस्पतालमा अत्यावश्यक बाहेक अन्य बिरामीलाई नआउन भनिएको छ । 

चाबहिलकी २६ वर्षीया श्वेता शर्मा (नाम परिवर्तन) गर्भवती भएको दुई महिना भयो । उनले यस्तो अवस्थामा आफूले नियमित देखाइरहेको चिकित्सकसँग फोनबाट नै परामर्श लिइरहेकी छिन् । श्वेताको जस्तो समस्या कालोपुलकी सावित्रीको पनि छ । उनको डेलिभरी हुने समय यहीं महिनाको अन्तमा तोकिएको छ । चिकित्सकले धेरै गाह्रो भयो, योनिबाट रगत बग्यो, अधिक पेट दुखे मात्र अस्पताल आउन सल्लाह दिएका छन् । सावित्री र श्वेताको जस्तो समस्या यतिबेला धेरै गर्भवतीलाई परेको छ । 

सुखी परिवार क्लिनिककी चिकित्सक डा. तुमला शाहका अनुसार एक वर्षमा विश्वभरि १३ करोड शिशु जन्मन्छन् । गर्भावस्थामा इम्युन सिस्टम परिवर्तन हुन्छ । यतिबेला महिला संवेदनशील हुन्छन् । यसले गर्दा भाइरलको संक्रमण हुने संभावना पनि उत्तिकै रहन्छ । अहिले कोभिड १९ को संक्रमण पनि बढ्दो छ । यसले गर्भवतीमा संक्रमण गरेमा गर्भपतन हुने संभावना रहन्छ । यसैगरी गर्भमा रहेको शिशुमा समेत असर पर्न सक्छ । अहिलेको विषम परिस्थितिमा गर्भवतीलाई डा. तुमला शाहको सुझाव– 

१. अस्पतालमा संक्रमण हुने संभावना भएकाले इमरजेन्सी भएमात्र जानुपर्छ । 

२. गर्भावस्थामा कतिपयलाई सुरुको तीन महिना चक्कर लाग्ने, बान्ता आउने गर्छ । यसलाई सामान्य मानिन्छ । 

३. नियमित परीक्षण, टिटानसको सुई, अल्ट्रासाउण्ड जस्ता सामान्य समस्याका लागि अस्पताल नजानु वेश हुन्छ । टिटानसको इन्जेक्सन लगाउनुपर्ने भएपनि अहिले त्रासमय वातावरण भएकाले केही समय ढिला भएपनि फरक पर्दैन । 

४. आपतकालीन अवस्था जस्तो रक्तचाप उच्च भए, पेट अधिक दुखे, योनिबाट रगत वा पानी बगेमा मात्र अस्पताल जानु पर्छ । 

५. आफ्नो गर्भमा रहेको शिशुको अवस्था शिशु चले नचलेको याद गर्नुपर्छ । 

६. चिकित्सकले दिएको अनुसार सुरुका तीन महिना फोलिक एसिड, त्यसपछि क्याल्सियम र आइरन सेवन गर्नुपर्छ ।

७. गर्भवतीले आफ्नो साथै गर्भमा रहेको शिशुको हितका लागि पोषिला खानेकुरा, तरकारी, फलफूल तथा झोल कुराहरु सेवन गर्नुपर्छ । रोगप्रतिरोधक क्षमता बढाउन केरा खानुपर्छ । 

८. सोडियम, पोटासियम तथा मिनरल सन्तुलन राख्नका लागि पुनर्जलीय झोल सेवन गर्न सकिन्छ ।  

९. आफूले नियमित जाँच गराइरहेको चिकित्सकको नम्बर लिनुपर्छ र सम्पर्कमा रहनुपर्छ । यतिबेला फोन, इमेल तथा भाइबरबाट चिकित्सकको सम्पर्कमा रहन सकिन्छ ।  

१०. विदेशबाट आएकाको सम्पर्कमा बस्नुहुँदैन । १ सय ४ डिग्री फरेनहाइट ज्वरो आएमा चिकित्सकको सल्लाहमा सिटामोल सेवन गर्नुपर्छ । साबुन पानीले बारम्बार हात धोइरहनुपर्छ । 

११. परिवार नियोजन, बाझोपन, गर्भपतन जस्ता सामान्य परामर्शका लागि यतिबेला अस्पताल जानु हुँदैन । 

१२. यतिबेला वातावरण नै त्रासमय भएकाले सकारात्मक सोच्नुपर्छ । चिकित्सकको सल्लाहमा हल्का व्यायाम तथा घरको छतमा केही समय हिँडडुल गर्नुपर्छ ।

(डा. तुमला शाहसँग उपासना घिमिरेले गरेको कुराकानीमा आधारित ) 

 

 Image