Successfully Copied

अनलाईन संगीतमा बढ्दो क्रेज

विषम परिस्थितिमा पनि गायक, गायिका तथा संगीत क्षेत्रमा लागेकाले गीत, संगीत पस्किरहेका छन् । अहिले अनलाईनमार्फत् नै स्रोतालाई संगीत प्रस्तुत गरिएको बताउँछन्,

कोरोना भाइरस माहामारीका कारण यस वर्षको संगीत दिवस फरक तरिकाले मनाइयो । सन् १९८१ देखि हरेक वर्ष जुन २१ मा मनाइँदै आइएको संगीत दिवसका अवसरमा स्टेजमै बिशेष कार्यक्रम हुन्थ्यो । यसपालि भने अनलाईन मार्फत् नै संगीत दिवस मनाइएको छ ।

संगीतसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । विश्वभरको सरल र सहज भाषाको रुपमा संगीतलाई लिने गरिएको छ ।

जारी विषम परिस्थितिमा पनि गायक, गायिका तथा संगीत क्षेत्रमा लागेकाले गीत, संगीत पस्किरहेका छन् । अहिले अनलाईनमार्फत् नै स्रोतालाई संगीत प्रस्तुत गरिएको बताउँछन्, गायक श्री केसी । यसबाट संगीत क्षेत्रमा भर्खर प्रवेश गरेका र गर्न चाहेकालाई सहयोग पुगेको उनको बुझाई छ । सँगै आफूलाई पनि अभ्यास भएको उनको अनुभव छ ।

गायक नविन के. भट्टराई अरु वर्षहरुको संगीत दिवसमा निकै व्यस्त हुन्थे । यसपालि भने उनी पनि भर्चुअल माध्यमबाटै संगीतमा संलग्न भएको बताउँछन् । उनी पनि आफ्ना नयाँ पुराना गीतका साथ सामाजिक सञ्जालमा आइरहेका छन् । अब संगीत क्षेत्र पनि नयाँ मोडमा प्रवेश गरेको उनको बुझाई छ ।

अबका केही वर्ष अनलाइन क्लास, अनलाइन कन्सर्ट नै हुने उनले अनुमान लगाएका छन् । गायक भिम तुलाधरले संगीत दिवसको अवसरमा आफ्नो नयाँ गीत ‘मेरो गीतमा साथ तिमी’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेका छन् ।

धेरै जसो गायक, गायिका र व्याण्डहरुले अचेल लाइभ प्रस्तुति दिइरहेका छन् । रक गायिका अभया सुब्बा पनि लकडाउन भएदेखि नै लाइभ आएर अनलाईन सिरिज पस्किरहेकी छिन् ।

 Image