Successfully Copied

ऐतिहासिक योद्धा– कमला ह्यारिस

डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस (५६ वर्ष) अमेरिकाकै प्रथम महिला उप–राष्ट्रपति निर्वाचित भएकी छन् । उनी भारतीय मूलकी श्यामला गोपालन र जमैकन डोनाल्ड ह्यारिसकी सन्तान हुन् । विजय घोषणालगत्तै कमलाले भनिन्, ‘यो पदका लागि म प्रथम महिला हुँ तर अन्तिम होइन ।

डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस (५६ वर्ष) अमेरिकाकै प्रथम महिला उप–राष्ट्रपति निर्वाचित भएकी छन् । उनी भारतीय मूलकी श्यामला गोपालन र जमैकन डोनाल्ड ह्यारिसकी सन्तान हुन् । विजय घोषणालगत्तै कमलाले भनिन्, ‘यो पदका लागि म प्रथम महिला हुँ तर अन्तिम होइन । किनभनेमेरो विजयले हरेक किशोरीहरूलाई यो विश्वास दिलाइसक्यो कि अमेरिका हरेक कुराको सम्भाव्यता भएको देश हो ।’

कमलाले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाट प्राप्त गरेकी हुन् । उनकी आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनुपर्छ भन्ने पाठ पनि घोकाएकी थिइन् । विजयपछि आमाको स्मरण गर्दै कमलाले भनिन्, ‘उहाँ भएको भए सायद यो क्षणको कल्पना गर्नुहुँदैनथ्यो, तर उहाँलाई एउटा कुरा भने पक्कै विश्वास हुन्थ्यो कि अमेरिका जस्तो मुलुकमा यो क्षण आउनु सम्भव छ ।’

कमला किशोरी छँदा आमाले अन्यत्र जागिर पाएपछि उनको परिवार मोन्ट्रियल सरेको थियो । त्यतिबेलै कमलाले आफूमा कसरी परिवर्तन ल्याउने भनेर खोजी गर्न थालेकी थिइन् । घरबाहिरको चौरमा फुटबल खेल्न गरिएको निषेधलाई दिदीबहिनी मिलेर प्रतिवाद गरेको उनी सम्झन्छिन् । त्यो प्रतिवादपछि नियमै फेरिएको थियो । ‘आमाले हामीलाई सधै कामै नगरेर यसो भएन र उसो भएन भन्नुभन्दा केही गरेर देखाओ भनिरहनुहुन्थ्यो’ कमला भन्छिन्, ‘त्यसैले मैले केही गरेर देखाउने आँट गरेकी हुँ ।’ हाइस्कुलको पढाइ सक्नेबित्तिकै उनी कानुन व्यवसायी बन्ने सोचका साथ आफ्नो पढाइलाई अगाडि बढाइन् । उनी ‘ल स्कुल’ पढ्न क्यालिफोर्निया फर्किएदेखि ओकल्यान्ड र सानफ्रान्सिस्कोस्थित वकिलको कार्यालयमा कानुनी पेसा अपनाउने प्रयास गरेकी थिइन् । तर उनको यो पहिलो प्रयास असफल भयो । उनले हार भने मानिनन् । पछि जिल्लाको सरकारी वकिलका रूपमा आफ्ना हाकिमलाई समेत परास्त गरी सफलतापूर्वक कार्यसम्पादन गर्न भ्याइन् । उनी राज्यकै महान्यायाधिवक्ताका रूपमा चयन हुँदै अमेरिकी सिनेटरदेखि एकपटक त राष्ट्रपतिकै निम्ति समेत प्रयास गरिसकेकी छन् ।

उनकी आमा अमेरिकामा व्याप्त जातीय असमानताप्रति संधै असन्तुष्टि व्यक्त गर्थिन् । आफ्ना छोरीहरू अश्वेतकै रूपमा चिनिनेछन् भन्ने उनलाई थाहा थियो । त्यसैले उनले छोरीहरूलाई अश्वेत संस्कृति र काला जातिका महान् व्यक्तित्वको घेरामा नजिक्याएकी थिइन् । फलस्वरूप सिनेटर कमलाले आफू कलेजमा रहँदा रंगभेद विरोधी अभियानमा सरिक भएको र आमासँगै मिल्दोजुल्दो जीवनशैलीमा ढालिएको बताउँदा–बताउँदै पनि एउटा कुरामा आफूलाई बेग्लै बनाइन्, त्यो हो–परिवर्तनका लागि लड्ने मात्र होइन आफ्नो भागको खोजी पनि गरिन् । कमलाले लेखेकी छन्, ‘म श्यामला गोपालन ह्यारिसकी छोरी हुँ भन्ने भन्दा संसारमै मेरो निम्ति ठूलो अर्को कुनै पद वा उपाधि छैन । मैले साँचेर राखेको जीवनकै सबैभन्दा प्रिय सत्य पनि यही हो ।’

(एजेन्सीको सहयोगमा)

 Image