Successfully Copied

विवाहको बन्दोबस्ती

विवाहको बन्दोबस्ती पहिलेको तुलनामा अहिले सजिलो भएको छ । कतिपय कम्पनीले विवाहमा आवश्यक सबै तारतम्य मिलाइदिने भएकाले सजिलो भएको हो । अहिले कार्ड छाप्ने, किनमेल गरिदिने, कार्ड बाँड्ने, घर सजाउने, गाडीको व्यवस्था गर्ने, खानपान, अतिथि सत्कारदेखि गरगहना किनमेलसम्मको काम गरिदिने कम्पनी खुलेका छन्

विवाहको बन्दोबस्ती पहिलेको तुलनामा अहिले सजिलो भएको छ । कतिपय कम्पनीले विवाहमा आवश्यक सबै तारतम्य मिलाइदिने भएकाले सजिलो भएको हो । अहिले कार्ड छाप्ने, किनमेल गरिदिने, कार्ड बाँड्ने, घर सजाउने, गाडीको व्यवस्था गर्ने, खानपान, अतिथि सत्कारदेखि गरगहना किनमेलसम्मको काम गरिदिने कम्पनी खुलेका छन् ।

इलामका घनश्याम घिमिरे आफ्नो घरमा विवाहको व्यवस्थापन गर्दाको क्षण सम्झदै भन्छन्, ‘आर्थिक कुरा पनि मिलाउनुपर्ने, अरु आवश्यक सरसामान तयार गर्नुपर्ने । सबैकुरा मिलाउनुपर्ने दबाब र तनावले गर्दा आफ्नो घरमा विवाहको रमाइलो पनि अनुभव गर्न नपाइने रहेछ ।’ आफ्नै विवाह र बहिनीको विवाह सम्पन्न गर्दा धेरै कुरा चाहेर पनि मिलाउन नसकिएको उनी बताउँछन् । ‘विवाह आफैंमा ठूलो इभेन्ट हो’ उनी भन्छन्, ‘यसलाई राम्ररी सम्पन्न गर्नका लागि आफू पनि कुशल व्यवस्थापक हुन जरुरी छ ।’

समयसँगै विवाहको स्वरूप फेरिँदो छ । विगतमा जस्तो निश्चित विधिविधान पूरा गरेपछि पनि वैवाहिक समारोह सम्पन्न हुँदैन । अहिले नयाँ–नयाँ शैली र तौरतरिका अपनाउन थालिएको छ । चाहे विवाहको फोटोग्राफी होस् वा मण्डपको सजावट । विवाहअघि नै मेहन्दी लगाउने, पारिवारिक रमझम गर्ने प्रचलन पनि सुरु भइसकेको छ । यसले विवाहलाई भव्य उत्सवझैं बनाइदिएको छ । त्यसैले यी सम्पूर्ण कुराको कुशलतापूर्वक व्यवस्थापन गर्न निकै कठिन हुन थालेको छ ।

बोझ बिसाउने ठाउँ

हुन त वैवाहिक समारोह आफैंमा बोझ होइन उत्सव हो । तर, वैवाहिक समारोहको सम्पूर्ण व्यवस्थापन गर्दा सम्बन्धित व्यक्तिले निकै ठूलो बोझ उठाएको अनुभव गर्छन् । यस्तो अवस्था किन पनि आएको छ भने अहिले विवाहको तामझाम बढेको छ ।

 वैवाहिक समारोहको स्वरूप बदलिँदै जाँदा सहरमा अर्को ट्रेन्ड सुरु भएको छ । जस्तो कि, ‘वेडिङ प्लानर’ अर्थात् विवाहको सम्पूर्ण व्यवस्थापन गर्ने छुट्टै व्यावसायिक संस्थाहरू आएका छन् । ती संस्थाले विवाहको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा बोक्छन्, जुन विवाह गर्ने घर–परिवारले बोक्नुपर्थ्यो ।

वेलकम वेडिङ म्यानेजमेन्ट, वेडिङ प्लानर नेपाल जस्ता इभेन्ट व्यवस्थापन गरिरहेका कम्पनीहरूले नै विवाहको जिम्मेवारी बोक्न थालेका छन् । यस्ता कम्पनीहरूले विवाहका लागि आवश्यक बजेट तय गरिदिनेदेखि सम्पूर्ण वैवाहिक समारोह सम्पन्न गर्नसम्म सघाउ पुर्‍याउने गरेका छन् । आफ्नो मर्जीअनुसार उनीहरूले सजावटदेखि परिकारसम्मको सम्पूर्ण व्यवस्था गरिदिन्छन् । यसमा विवाह गर्ने घर–परिवारले कत्ति पनि झन्झट उठाउनु पर्दैन । कतिपय कम्पनीले विवाहको छिनोफानोदेखि हनिमुनसम्मको प्याकेजसमेत उपलब्ध गराइरहेका छन् ।

विवाहमा सवारीका लागि बग्गी चाहियो वा कार ? ‘वेडिङ प्लानर’ ले नै जिम्मा लिन्छ । आगन्तुकलाई कसरी सत्कार गर्ने, बाजागाजाको व्यवस्था कसरी गर्ने कुनै पनि कुरामा विवाह गर्ने घरपरिवारले सोच्नुपर्दैन ।

त्यसो त यी सम्पूर्ण कुराकै जिम्मा बोकाउनुपर्छ भन्ने पनि छैन । निश्चित कामका लागि पनि यस्ता कम्पनीहरूले काम गरिरहेका छन् । जस्तो–कार्ड छपाउन, गाडीको व्यवस्था गर्न, क्याटरिङको व्यवस्था गर्न, घर–मण्डप सजाउन, फोटोग्राफी, साउन्ड सिस्टम, लाइट आदिको जोहो गर्न मात्र पनि उनीहरूलाई जिम्मा दिन सकिन्छ । आफ्नो बजेटअनुरूप के गर्ने/नगर्ने भनी जिम्मेवारीको बाँडफाँड गर्न सकिन्छ ।

‘वेडिङ प्लानिङ्ग’ गर्ने वा वैवाहिक समारोहको सम्पूर्ण जिम्मा अरु कम्पनीलाई दिने ट्रेन्ड किन पनि सुरु भएको हो भने अहिले धेरैजसो व्यक्ति व्यस्त छन् । पेसा, व्यवसाय, उद्यम आदिमा व्यस्त व्यक्तिहरूलाई विवाहका लागि लामो फुर्सद लिएर सबै कुरा व्यवस्थापन गर्न सम्भव हुँदैन । यसरी आफूसँग समय नभएको अवस्थामा पनि यस्ता कम्पनीहरूलाई गुहार्न सकिन्छ ।

त्यसो त यसरी एक अलग व्यावसायिक कम्पनीलाई सम्पूर्ण जिम्मेवारी दिएर वैवाहिक जस्ता ठूला समारोह सम्पन्न गराउने चलन अहिलेको होइन । खासगरी उच्च मध्यम वर्गीय परिवारमा विवाहलगायतका समारोह आयोजना गर्दा अरु कुनै व्यावसायिक कम्पनीलाई जिम्मा दिने गरिन्थ्यो । अहिले भने मध्यम वर्गमा पनि यसको प्रभाव सुरु भएको छ ।

यसबाट सबैभन्दा बढी लाभान्वित भनेका विदेशमा रहने वा प्रवासी नेपालीहरू भएका छन् । जोसँग पैसा छ, तर समय छैन । कामका कारण विवाहका लागि अतिरिक्त समय निकाल्न सक्दैनन् । उनीहरू निश्चित समयका लागि नेपाल आउँछन्, विवाह गर्छन् र विदेश फर्कन्छन् । यसरी कम समयमै विवाहको सम्पूर्ण तारतम्य मिलाउनुपर्ने अवस्थामा रहेकाहरूलाई वेडिङ प्लानर एक राम्रो विकल्प भएको छ ।

यद्यपि हरेक कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ भनिएझैं यसका पनि दुई पाटा छन् । यस्ता कम्पनीले विवाहको सम्पूर्ण जिम्मेवारी वहन गरिदिँदा झन्झट त कम हुन्छ, तर बजेट बढ्छ । उक्त सेवा प्रदान गरेबापत कम्पनीले निश्चित सेवा–शुल्क राख्छन् । आफैले विवाहको तारतम्य मिलाउने हो भने त्यस्तो खर्च गरिरहनु जरुरी हुँदैन ।

विवाह भनेको जीवनमा एकपटक गरिने खास उत्सव पनि हो । यसलाई हरेक दम्पती वा घरपरिवारले स्मरणीय बनाउन चाहन्छन् । उनीहरू विवाहको क्षणलाई जीवनभर साँचेर राख्न चाहन्छन् । यसरी विवाहलाई स्मरणीय बनाउन आफैले पनि कतिपय नयाँ अनुभव र झन्झट व्यहोर्नु उचित हुन्छ । ‘वेडिङ प्लानर’ लाई सबै बोझ बोकाउँदा भने विवाहका कतिपय रोमाञ्चक अवसरहरूबाट आफू वञ्चित हुनुपर्ने अवस्था आउँछ ।

करियरका लागि

यसको अर्को पाटो के पनि छ भने जसरी विवाह गराउने नयाँ–नयाँ तौरतरिका खोजिँदैछ, उसैगरी यस क्षेत्रमा करियरको अवसर पनि खुला हुँदैछ । जस्तो वेडिङ प्लानरकै रूपमा विशेषज्ञता हासिल गरेर पनि राम्रो आय आर्जन गर्न सकिन्छ ।

अरुको विवाहका लागि आवश्यक बजेट तय गर्ने, नयाँ आइडिया र अनुभव साझेदार गर्ने, सम्पूर्ण विवाहकै जिम्मेवारी लिने कामबाट कमाइ गर्न सकिन्छ । भारतलगायतका मुलुकमा यही विषयमा तालिम लिन वा अध्ययनसमेत गर्न सकिन्छ ।

फाइदा

- वेडिङ प्लानरमार्फत वैवाहिक समारोह सम्पन्न गराउँदा कुनै पनि झन्झट आफूले उठाउनु पर्दैन ।

- विवाहका बेला हुने कतिपय तनाव वा झन्झटबाट मुक्त भइन्छ ।

- वैवाहिक समारोहमा उन्मुक्त रमाउन सकिन्छ । विवाहको एक खास आनन्द लिन सकिन्छ ।

- समयको बचत हुन्छ । आफूले अतिरिक्त समय खर्च गरिरहनु पर्दैन ।

बेफाइदा

- वेडिङ प्लानरका लागि अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ अर्थात् विवाहको बजेट बढ्छ ।

- वैवाहिक समारोहका कतिपय अनुभवहरू संगाल्न पाइँदैन । जस्तो किनमेलको, सजावटको ।

- आफूले भनेजस्तो र सोचेजस्तो सबैकुरा दुरुस्त नहुन सक्छ । अरुको भर पर्दा कतिपय कुरामा सन्तुष्ट हुन सकिँदैन ।

वेडिङ फोटोग्राफी

दम्पतीबीच सुमधुर सम्बन्ध बनाइराख्नका लागि बेलाबखत पुराना फोटो एल्बम हेर्न सुझाव दिन्छन्, मनोविज्ञहरू । जब दम्पतीले फोटो एल्बम पल्टाएर पुराना दिनहरूमा कैद गरिएका क्षणहरू नियाल्न थाल्छन्, उनीहरूमा बेग्लै रोमाञ्चकता भरिन्छ । उनीहरू विगतमा डुब्न पुग्छन् । खासगरी विवाहका बेला कैद गरिएका तस्बिर हेरेर दम्पतीले जीवनभर खुसी संगाल्न सक्छन् । जब कुनै मनमुटाव हुन्छ वा कुनै असमझदारी हुन्छ, त्यसबेला विवाहको फोटो एल्बम पल्टाएर हेर्नुहोस् तपाईंको मन पग्लन्छ ।

विवाह जीवनकै एक स्मरणीय क्षण हो । उक्त क्षणलाई फोटो वा भिडियोमा सधैका लागि संरक्षित गर्ने चाहना हुन्छ । यस्तो फोटो–भिडियो आफ्ना पुस्तौंपुस्ताले हेर्न सकून् भनी इच्छा राखिन्छ । अधिकांश दम्पतीले विवाहको फोटो, भिडियोलाई निकै जतनसाथ राख्छन् । जबकि नेपाली समाजमा फोटोग्राफीको इतिहास त्यति पुरानो छैन । केही पुस्ताअघिदेखि मात्र फोटोग्राफीको चलन सुरु भएको पाइन्छ । त्यसैले हाम्रा पुर्खाहरूले आफ्नो विवाहको वा स्मरणीय क्षणलाई क्यामेरामा कैद गर्न पाएनन् ।

अहिले भने प्रविधिले यसरी फड्को मारेको छ कि, सबैको हात–हातमा क्यामेरा छ । खासगरी मोबाइल प्रविधि भित्रिएसँगै हरेकले कुनै पनि क्षणको भिडियो वा फोटो कैद गरेर सुरक्षित गर्न सक्छन् । उच्च गुणस्तरका क्यामेरा पनि सजिलै उपलब्ध हुन थाले । यस्तो अवस्थामा दम्पतीले आफ्नो जीवनकै अमूल्य क्षणलाई कैद गर्न किन पछि हट्थे ?

विवाह जस्तो जीवनकै महत्वपूर्ण क्षणलाई सधैका लागि संग्रहित गर्न अहिले नव जोडीले फोटो, भिडियोलाई महत्व दिन थालेका छन् । यसरी फोटा,े भिडियोमा नयाँ–नयाँ तौरतरिका अपनाउन थालेका छन् ।

विगतमा विवाहका क्षणमा मात्र फोटो, भिडियो खिच्ने गरिन्थ्यो । फोटोग्राफी वा भिडियोग्राफी गर्नेले विवाहकै माहौलमा आफ्नो हिसाबले दृश्यहरू कैद गर्नुपर्थ्यो । अहिले भने यसलाई विशेष महत्व दिएर फोटोग्राफी एवं भिडियोग्राफीका लागि पनि छुट्टै समय दिइन्छ । धेरै दम्पतीले विवाहको मिति तय भएपछि वा वैवाहिक समारोहअघि नै विभिन्न पोजमा फोटो, भिडियो खिच्ने क्रम सुरु भएको छ अर्थात् प्रि–वेडिङ फोटोग्राफीको सिलसिला सुरु भएको छ ।

विवाहको मिति पक्का गरिसकेपछि कुनै फुर्सदको क्षणमा हुनेवाला दुलहा र दुलहीले पार्क वा कुनै आकर्षक पृष्ठभूमिमा उनीहरूले विभिन्न पोजका साथ फोटो तथा भिडियो खिचाउँछन् । विवाहअघि खिचिने यस्ता फोटोलाई उनीहरूले अलि रहस्यमय पनि बनाउँछन् । सम्पूर्ण तयारीका साथ समय निकालेर कैद गरिने यस्ता तस्बिर उनीहरूको नयाँ जीवनको सुरुवातको संकेत पनि हो । हुनेवाला दुलहा र दुलहीले यही तस्बिर नै पहिलोपटक सार्वजनिक गर्छन्, जसले उनीहरू एक–अर्कासँग जोडिएको औपचारिकता पुष्टि गर्छ ।

प्रि–वेडिङ फोटोग्राफी/भिडियोग्राफीका लागि फरक लोकेसनमा जाने वा पर्याप्त समय खर्चने गर्छन् । किनभने विवाहको बेला उनीहरूले यसरी सबै कुरा मिलाएर फोटो, भिडियो खिच्न पाउँदैनन् । विवाहको दिन भने फोटोग्राफरले ती तमाम दृश्यहरू कैद गर्नुपर्ने हुन्छ, जसभित्र उनीहरूको विवाहको सबै कुरा समेटियोस् । यो निकै चुनौतीपूर्ण पनि हुन्छ । तर, यसमा पनि नयाँ–नयाँ शैलीहरू खोज्न थालिएको छ । विगतमा विवाहको फोटो वा भिडियो एकोहोरो वा एकै ढंगले खिचिन्थ्यो भने अहिले यसमा रचनात्मक शैली अपनाउन थालिएको छ ।

विवाहपछि पनि विशेष ढंगले फोटो, भिडियो खिच्ने चलन छ । यसरी विवाहअघि, विवाहका दिन र विवाहपछि खिचिएका फोटो, भिडियोलाई सिलसिलाबद्ध रूपमा संग्रहित गर्ने गरिएको छ ।

केही आवश्यक कुरा

उचित ठाउँको चयन

विवाहको फोटोग्राफी एवं भिडियोग्राफी गर्नुअघि कहाँबाट दृश्यहरू कैद गर्ने भनेर उचित स्थानको चयन गर्नुपर्छ । विवाहको दिन भीडभाड र अस्तव्यस्त हुने भएकाले सबैतिरको दृश्य सजिलै कैद गर्न सकिँदैन । त्यसैले विवाहस्थलमा अघिल्लो दिन नै कहाँ–कहाँ क्यामेरा राख्ने भन्ने टुंगो गर्नु उचित हुन्छ ।

महत्वपूर्ण क्षणहरू

विवाहका बेलाका कुन–कुन क्षणहरू महत्वपूर्ण हुन्छन् ? विवाहका विधिविधानहरू के–के छन् ? कुन कुरालाई बढी महत्व दिएर खिच्नुपर्ने हो ? यसका लागि पूर्वतयारी जरुरी हुन्छ । विवाहको फोटोग्राफी वा भिडियोग्राफी गरिरहँदा महत्वपूर्ण दृश्यहरू खिच्न छुट्ने सम्भावना हुन्छ ।

नाता सम्बन्ध पहिचान

विवाहमा आएका आगन्तुकहरूमध्ये कतिपय विशेष नातागोताका व्यक्ति हुन्छन् । जस्तो हुनेवाला दुलहा वा दुलहीको परिवार, आमाबुवा, काकाकाकी आदि । उनीहरूको पहिचान गर्न जरुरी छ । किनभने नजिकका नातेदारहरूको फोटो, भिडियोलाई पनि महत्वका साथ समेट्नुपर्छ ।

रचनात्मक विधि

एउटै ढंगले वा एकै कोणबाट मात्र फोटो, भिडियो कैद गर्दा राम्रो हुँदैन । त्यसैले कुन दृश्यलाई कसरी खिच्ने ? कसरी आकर्षक देखिन्छ ? कसरी अर्थपूर्ण हुन्छ भनेर जान्न जरुरी छ ।

सजावटमा ध्यान

   वैवाहिक समारोहलाई आकर्षक र भव्य देखाउन विभिन्न सजावटको व्यवस्था गरिएको हुन्छ । फूलदेखि बिजुलीसम्मको व्यवस्था हुन्छ । यो सजावट वा सुन्दरता पनि विवाहको फोटो वा भिडियोमा अर्थपूर्ण ढंगले समेटिनुपर्छ ।

ख्याल गर्नुपर्ने कुरा

कतिपय ठाउँमा त्रुटि भइरहेका हुन्छन् । कतिपय नराम्रा दृश्यहरू पनि हुन्छन् । यस्ता कुरामा निकै सजग रहनुपर्छ । जथाभावी खिच्दा पछि त्यसले अरु समस्या ल्याउन सक्छ ।

विवाहको मण्डप सजावट

विवाहको विधिविधान पूरा गर्नका लागि सबैभन्दा महत्वपूर्ण स्थान हो, मण्डप । विवाहको मण्डप आफ्नो रीतिरिवाजअनुसार निर्माण गरिन्छ । मण्डपमै विवाहका विशेष विधिहरू गरिने भएकाले यसलाई निकै महत्व दिइन्छ । मण्डपमा के–कस्ता सामग्री चाहिन्छन् वा कसरी सजाउने भन्ने आफ्नै विधान छन् ।

यद्यपि पछिल्लो समय मण्डपलाई थप आकर्षक ढंगले सजाउन थालिएको छ । आधुनिक जीवनशैलीमा विवाहको मण्डप साजसज्जालाई महत्व दिइन्छ । मण्डप सजाउन कुनै थिम बनाएर सजाउने गरिन्छ । विवाहसँग जोडिएका हरेक रीतिरिवाज जस्तै स्वयम्वर, मेहन्दी, हल्दी, रिसेप्सन आदिका लागि फरक–फरक मण्डप सजाइन्छ । वैवाहिक समारोहका बेला दुलहा–दुलहीले जहाँ–जहाँ बढी समय गुजार्नुपर्ने हुन्छ, त्यहीँ नै विशेष ठाउँ हो । त्यसैले विशेष ठाउँलाई आकर्षक एवं मनमोहक बनाउनैपर्छ । आगन्तुकहरूको ध्यान केन्द्रित हुने ठाउँ पनि हो यो । त्यसैले विवाहको मण्डपलाई जतिसक्दो आकर्षक बनाउन थालिएको छ ।

चाहे घर होस् वा घरबाहिरका पार्टी प्यालेस, होटल, जहाँ भए पनि मण्डपका लागि विशेष ठाउँको व्यवस्था गरिन्छ । अहिले त रिसोर्ट वा महँगा होटलमा समेत वैवाहिक समारोह आयोजना गर्ने चलन छ । यस्तो अवस्थामा मण्डपका लागि उपयुक्त स्थानको चयन गर्नुपर्ने हुन्छ । मण्डपको सजावटमा थरीथरीका सुगन्धित फूलहरू प्रयोग गर्नु राम्रो हो । कतिपयले कृत्रिम फूलहरू पनि राख्छन् । तर त्यहाँ प्राकृतिक फूलहरूको जस्तो भव्यता र उत्कृष्टता मिल्दैन ।

मण्डपमा सजाइने फूलहरूमा पनि बेली र गुलाफको संयोजन बेजोड देखिन्छ । दुवै फूलको संयोजनले मण्डपलाई भव्य, आकर्षक, मोहक एवं सुगन्धित पनि बनाउँछ । हुन त आफ्नो स्थानमा उपलब्ध अन्य फूलहरूले पनि मण्डप सजाउन सकिन्छ । तर, सम्भव भएसम्म बेली र गुलाफ उचित हुन्छ । सामान्य मण्डप सजावटका लागि अरू पनि फूलहरू सजाउन सकिन्छ । यसैगरी, मण्डपमा बिजुली र रंगहरूको समुचित संयोजन जरुरी हुन्छ ।

अर्को कुरा मण्डप सजाउँदा रंगको संयोजन महत्व पूर्ण मानिन्छ । मण्डपलाई पहेंलो रंगले सजाउँदा बढी अर्थपूर्ण हुन्छ । यदि विवाहको थिम वाइन रेड रंगमा आधार भए मण्डप सजाउन प्रयोग गरिने कपडा वाइन रेड नै हुनुपर्छ । मण्डपमा सजाइने कपडाको रंग विवाहको पहिरनसँग पनि म्याच गर्नुपर्छ ।

विवाहमा राजसी सवारी

आफ्नी दुलहीलाई लिनका लागि चितवन, सौराहका व्यवसायी शेरबहादुर परियार हात्तीमा चढेर गएका थिए । विवाहको जन्तीसहित तामझामका साथ हात्तीमा दुलही लिन गएका बेला बाटोमा रमिता हेर्नेहरूको ताँती लागेको उनी सुनाउँछन् । दुलहा र दुलहीका लागि उनले हात्तीको व्यवस्था गरेका थिए र यसबाट नयाँ अनुभव मिल्ने उनको अपेक्षा थियो ।

उहिले–उहिले दुलहा र दुलहीलाई डोलीमा बोकिन्थ्यो । जतिसुकै लामो दूरी भए पनि उनीहरूलाई डोलीमा बोकेर गन्तव्यसम्म पुर्‍याइन्थ्यो । त्यसबेला अन्य सवारी साधन उपलब्ध नभएका कारण पनि डोलीमा दुलहा र दुलहीलाई बोक्ने गरिएको हुनसक्छ । तर, पछि डोली विवाहकै एक अभिन्न अंश बन्यो । अहिले कतिपय समुदायमा डोलीमा दुलहा–दुलहीलाई बोक्ने परम्परा छ । विवाहको कथा, कविता, गीतमा समेत डोलीको प्रसंग राख्ने गरिएको छ । यसलाई विवाहकै एउटा बिम्बका रूपमा पनि प्रयोग गरिन्छ ।

त्यसपछिका समयमा दुलहा–दुलहीलाई घोडामा सवारी गराइयो । विवाहमा दुलहा र दुलही बोक्नका लागि घोडाको प्रयोग भयो । परम्परागत डोली छाडेर घोडामा सवारी गर्दा सहज र छिटो हुने नै भयो । तर, यो क्रम यत्तिमै रोकिएन । विवाहमा दुलहा–दुलहीका लागि कारदेखि हेलिकप्टरसम्म प्रयोग हुन थाल्यो । यसैगरी पछिल्लो समय सहरी क्षेत्रमा बग्गीको प्रचलन बढेको छ ।

छोटो दूरीका लागि दुलहा र दुलहीलाई बग्गीमा सवारी गराउन थालिएको छ । विवाहलाई भव्य बनाउनका लागि यो एउटा राम्रो विकल्प बनेको छ । विगतमा राजपरिवारको विशेष सवारी साधन हुन्यो, बग्गी । राजपरिवारका सदस्यहरूले कतै आउजाउ गर्नका लागि घोडाले तान्ने आकर्षक बग्गीको प्रयोग गर्थे । पछि राजपरिवार र संभ्रान्त वर्गले आफ्ना विशेष समारोहरूमा बग्गी चढ्न थाले । अहिले भने विवाहका लागि यसको प्रयोग व्यापक बन्दैछ । विवाहलाई विशेष बनाउन एवं राजसी ठाँटको बनाउन बग्गी प्रयोग गर्न थालिएको छ । अब सर्वसाधारणले पनि निश्चित समयका लागि यसलाई भाडामा लिएर चलाउने गरेका छन् ।

जब गृहस्थी जीवन सुरु हुन्छ

पूर्वीय संस्कारअनुसार विभिन्न १६ संस्कारको व्याख्या गरिएको छ । जन्मनुअघि अर्थात् गर्भधानदेखि मृत्युसम्मका १६ संस्कार छन्, जसले एउटा जीवन–चक्र पूरा हुन्छ । यही सोह्र संस्कारमध्येको एक हो, गृहस्थी ।

गृहस्थी जीवन तब सुरु हुन्छ, जब विवाह गरिन्छ अर्थात् नयाँ घरजाम सुरु हुन्छ । आफूसँग जीवनभर साथ दिने कोही साथी हुन्छन् । बालबच्चा हुन्छन् । एउटा बेग्लै संसार हुन्छ । यससँगै आफ्नो जिम्मेवारी र भूमिका पनि बढ्दै जान्छ ।

विवाह गर्नैपर्छ भन्ने छैन । तर, यो सृष्टिलाई चलायमान बनाइराख्नका लागि विवाह गर्ने परम्परा छ । यो एउटा पारिवारिक व्यवस्थाको अर्को मोड पनि हो । विवाह गरेपछि कस्तो जीवनसाथी पाइन्छ ? जीवनसाथीसँग आफ्नो भावना, विचार कति मिल्छ ? काम गर्ने शैली र बानी–व्यवहारमा कति तालमेल मिल्छ ? यो रहस्य बिस्तारै खुल्दै जान्छ ।

कतिपयले प्रेम विवाह गर्छन् । कतिपय मागी विवाह । अहिले त ‘लिभ इन टुगेदर’ मा रहेर पनि विवाह गर्ने प्रचलन छ । प्रेम विवाह वा ‘लिभ इन टुगेदर’ मा रहँदा एक–अर्काको आनीबानी, सोंच, भावना, रुचि एवं इच्छा बुझ्न सकिन्छ । त्यसैले विवाहपछि दुवैलाई दाम्पत्य जीवन चलाउन कठिन हुँदैन भनिन्छ । हुन त प्रेम विवाह गरेका जोडीको दाम्पत्य जीवन पनि सफल हुन्छ भन्ने छैन । तर, प्रेम सम्बन्धमा रहँदा नै उनीहरूले एक–अर्कालाई बुझ्ने मौका पाउँछन् । तर, कतिपयले पहिलो देखभेटमै विवाहको टुंगो गर्छन् । खासगरी मागी विवाहमा युवा र युवती पहिलो भेटमै एक–अर्काप्रति राजी हुन्छन् र उनीहरूले विवाहको टुंगो गर्छन् ।

यसरी पहिलो भेटमै विवाहको कुरा छिनोफानो गर्नेहरूले एक–अर्कालाई राम्ररी बुझेका हुँदैनन् । हुन त धेरैले मागी विवाह गरेका छन् र उनीहरूको वैवाहिक जीवन अत्यन्तै सफल पनि भएको छ । तर, उनीहरूले त्यस्तो अवस्थामा विवाह गरेका हुन्छन्, जतिबेला दुवैले एक–अर्कालाई बुझेका हुँदैनन् । आफ्ना जीवनसाथी के चाहन्छन्, कस्तो व्यवहार गर्छन्, उनको रुचि के छ, आकांक्षा के छ, योजना के छ ? यावत् कुरा बुझेका हुँदैनन् । विवाहपछि क्रमशः उनीहरूले एक–अर्कालाई बुझ्दै जान्छन् । कतिपय कुरामा उनीहरूको मत मिल्छ, कतिपय कुरामा मत मिल्दैन । मत नमिलेको ठाउँमा उनीहरूले आफूलाई सच्याउँछन् । कति कुरा स्वीकार गर्छन्, कति कुरा त्याग्छन् । यसरी दाम्पत्य जीवनलाई सहज र राम्रो बनाउँछन् ।

यद्यपि विवाह गरिसकेपछि एक–अर्काको भावनामा ठेस पुर्‍याउने काम गर्नु हुँदैन । विश्वास गुमाउनु हुँदैन । एक–अर्काको पूर्ण भरोसा र प्रेममा नै दाम्पत्य जीवनको तालमेल मिल्छ । विवाहपछि कतिपय दम्पतीबीच कुरा मिल्दैन । उनीहरू झगडा गर्न थाल्छन् । मनमुटाव हुन्छ । बोलीचाली बन्द हुन्छ । कतिपयले त सम्बन्ध विच्छेद गर्ने कुरा समेत सोच्न थाल्छन् । त्यसैले विवाहपछि धेरै कुरामा आफूलाई बदल्न जरुरी हुन्छ । आफूलाई मात्र सर्वोपरि ठान्ने वा आफूले सोचेको कुरालाई मात्र सही मान्ने, आफ्नो निर्णय लाद्ने, आफ्नो इच्छामा सबैलाई हिँड्न बाध्य बनाउने जस्ता प्रवृत्तिले दाम्पत्य जीवनमा फाटो ल्याउँछ । त्यसैले आफ्नो बानी, व्यवहार एवं सोंच आदि कुरामा समीक्षा गर्नुपर्ने हुन्छ ।

विवाहअघि हामीले आफ्नो जीवनसाथीको सबै कुरा बुझेका हुँदैनौं । उनीहरूको सोंच, भावना, रुचि, व्यवहार केही पनि थाहा हुँदैन । त्यसैले विवाहपछि एकले अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ । दाम्पत्य सुखका लागि हामीले कतिपय कुरा त्याग्नुपर्ने पनि हुनसक्छ । आफ्नो जीवनसाथीले कस्तो व्यवहार रुचाउँछन्, कस्तो बोली मन पराउँछन्, के गर्दा खुसी हुन्छन्, किन दुःखी हुन्छन् थाहा पाउन जरुरी छ ।

सबै मान्छे सर्वगुणले सम्पन्न हुँदैनन् । मान्छेमा कति राम्रो खुवी हुन्छ त कति कमजोरी पनि हुन्छ । जीवनसाथीको कमजोरी खोतल्ने वा कमजोरीमाथि टीकाटिप्पणी गर्ने बानी राम्रो होइन । बरु आफूसँग भएको कमजोरीलाई सच्याउनु उत्तम हो ।

विवाहअघि हामीले धेरै कुरा अपेक्षा गरेका हुन्छौं । आफ्नो जीवनसाथीले यस्तो व्यवहार गर्छ, यस्तो बोलीचाली गर्छ भनेर सोचेका हुन्छौं । तर, यथार्थ फरक हुनसक्छ । त्यसैले बढी अपेक्षा गर्नु पनि पारिवारिक जीवनमा दुःख निम्त्याउने कारण हुन् ।

हामीकहाँ विवाहमा धेरै ठूलो खर्च हुन्छ । कतिपयले त ऋण गरेर विवाह गर्छन् । अनेक रमझम, भोजभतेर, लत्ताकपडा, गरगहना आदिले परिवारलाई आर्थिक बोझ बोकाउँछन् । त्यसैले विवाहलगत्तै परिवारको ऋणात्मक अवस्था हुनसक्ने भएकाले दम्पतीले सकेसम्म आफ्नो खर्च घटाउनुपर्छ ।

विवाहपछि सबै कुरा आफ्नो मर्जीअनुसार चलाउनु उचित हुँदैन । कुनै पनि निर्णय गर्दा होस् वा योजना बनाउँदा, दुवैको बराबरी समझदारी जरुरी हुन्छ । आफूले सोचेको कुरामा पार्टनर सहमत हुनुपर्छ भन्ने पनि छैन । सबै कुरा आफूले सोचेजस्तो ठीकठाक हुनुपर्छ भन्ने पनि छैन । यसमा दुवैको समझदारीपूर्ण निर्णय, योजनालाई एक–अर्काले बुझ्नु र स्वीकार गर्नुपर्ने हुन्छ ।

विवाहपछि खासगरी पुरुषहरूले कुमारित्वको कुरालाई लिएर प्रश्न गर्छन् । हुन त यो एक मानवीय स्वभाव हो । तर, कुमारित्वको कुरालाई लिएर प्रश्न गरिरहँदा जीवनसाथीप्रतिको अविश्वास बढ्छ । अविश्वासले आपसमा फाटो ल्याउँछ ।

विवाहपछि आर्थिक योजना बनाउँदा दुवैको भावना समेटिनुपर्छ । दुवैको सल्लाह र सुझाव जरुरी हुन्छ । यसैगरी पारिवारिक सम्बन्धलाई पनि दुवैले स्वीकार गर्न र सम्मान गर्न सिक्नुपर्छ । सासू–ससुरालगायत परिवारका सदस्यहरूको बानी–व्यवहारमाथि अनावश्यक टिप्पणी गर्नु उचित हुँदैन ।

विवाहपछि धेरै दम्पतीले सन्तानको योजना बनाउँछन् । यसमा पनि कतिपय दम्पतीको मत मिल्दैन । कसैले चाँडै बच्चा जन्माउने इच्छा राख्छन् भने कतिपयले सन्तानको योजनालाई पछाडि धकेल्छन् । यस्तो अवस्थामा गर्भनिरोधक साधनहरूको प्रयोग गर्नेदेखि गर्भपतन गराउनेसम्मका कुराले विवाद ल्याउन सक्छ । त्यसैले यी कुरामा आपसी सरसल्लाह हुनुपर्छ । दुवैले एक–अर्काको भावनालाई स्विकार्नुपर्छ ।

हरेक परिवारको आ–आफ्नै चालचलन, रीतिरिवाज, संस्कार, परम्परा हुन्छ । वर्षौंदेखि उक्त परिवारले त्यस्ता संस्कार अंगाल्दै आएको हुन्छ । यस्तो अवस्थामा दम्पतीले पारिवारिक संस्कारविरुद्ध जान उचित हुँदैन । परिवार नै सबैभन्दा ठूलो कुरा हो । परिवार सुख नै सबैभन्दा ठूलो सुख हो । त्यसैले पारिवारिक संस्कारलाई अंगाल्नुपर्छ । आवश्यक परेको ठाउँमा सुधार गर्ने, सच्याउने कुरा छँदैछ । तर, पारिवारिक संस्कारविरुद्ध भने जान हुँदैन ।

इन्गेजमेन्टदेखि हनिमुनसम्मको व्यवस्था

नीता पौडेल

प्रबन्ध निर्देशक, वेलकम वेडिङ इभेन्ट

कोरोना महामारीबीच विवाह व्यवस्थापनको काम कत्तिको भइरहेको छ ?

कोरोनाले गर्दा धेरै नै असर पारेको छ । पहिलेको तुलनामा ५० प्रतिशत नै बुकिङ घटेको छ । सरकारको नीतिअनुसार सामाजिक दूरी कायम गरेर विवाह गर्नुपर्ने हुन्छ । पहिलाजस्तो तामझाम गरेर, बाजा बजाएर भव्य विवाह गर्ने अवस्था छैन । अहिले विवाह गर्नैपर्ने भएकाले मात्र विवाह गर्छन् । तर हरेक ब्राइडलले आफ्नो विवाहको सपना बुनेका हुन्छन् । त्यसैले हामीले पूरै सावधानी अपनाएर नजिकका घरपरिवारका मानिसहरू मात्र भेला गरेर मेहन्दी, संगीत आदि समेत गरिदिने गरेका छौं ।

यसअन्तर्गत के–कस्ता सुविधा उपलब्ध हुन्छन् ?

विवाहको सम्पूर्ण प्याकेज हुन्छ । इन्गेजमेन्टदेखि मेहन्दी, संगीत पार्टीसम्मका जिम्मेवारी हामी लिन्छौं । कार्ड छाप्ने, बाँड्ने, किनमेल गरिदिने, घर सजाउने, गाडीको व्यवस्था गर्ने, खानपान, अतिथि सत्कारदेखि गरगहनासम्मको सबै काम गरिदिन्छौं । ग्राहकको आवश्यकता र इच्छानुसार सेवा प्रदान गर्छौं । मेकअप, ड्रेस, बाजा, गेस्टको तयारीदेखि हनिमुन प्याकेजसम्मको सुविधा छ ।

विवाह व्यवस्थापनका लागि ध्यान दिनुपर्ने कुराहरू के हुन् ?

विवाह व्ययवस्थापन निकै चुनौतीपूर्ण काम हो । हामीले केही नयाापनका साथै ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्छ । त्यसैले स–साना कुरामा पनि ध्यान दिनुपर्छ । व्यवस्थापनमा कुनै पनि गल्ती हुनुहुँदैन । आँखा नझिम्काइकन काम गर्नुपर्ने हुन्छ । हरेक समय सजग र चनाखो भइरहनुपर्छ ।

यस्ता इभेन्ट कम्पनीहरू महागो हुने बुझाइ छ नि ?

महंगो पर्दैन । ग्राहकको रुचि र क्षमतानुसार हामीले पहिले प्याकेज बनाउँछौं । सोहीअनुसार मूल्य निर्धारण गरिन्छ । हामीले १७ प्रतिशत सेवा शुल्क लिन्छौं ।

फाइदा के हुन्छ ?

आफूले जिम्मेवारी लिएर काम गर्दा धेरै तनाव हुन्छ । एउटा विवाह गर्दा सबै आफन्त, साथीभाइ लाग्नुपर्छ । यसरी इभेन्ट कम्पनीहरूबाट गराउँदा झन्झट व्यहोर्नु पर्दैन । खर्च पनि कम पर्छ । किनभने हामीले त सयौं–हजारौं मानिसको काम गरिरहेका हुन्छौं । त्यसैले काम सजिलो र छिटो हुन्छ ।

 Image