Successfully Copied

जाडोमा बिरुवाको स्याहार

बिरुवाका लागि माटो, मल, पानी एवं घाम मात्र भएर पुग्दैन, बिरुवाको उचित स्याहार–सुसार गर्नु पनि जरुरी हुन्छ । जाडो मौसम सुरु भइसक्यो । जाडो मौसममा बोटबिरुवालाई गर्मीमा जस्तो हेरचाह गर्नुपर्दैन ।

प्रवीन्द्र महर्जन

कुमारी नर्सरी, पकनाजोल

बिरुवाका लागि माटो, मल, पानी एवं घाम मात्र भएर पुग्दैन, बिरुवाको उचित स्याहार–सुसार गर्नु पनि जरुरी हुन्छ । जाडो मौसम सुरु भइसक्यो । जाडो मौसममा बोटबिरुवालाई गर्मीमा जस्तो हेरचाह गर्नुपर्दैन । सातामा एकपटक वा माटो सुक्न थालेपछि मात्र पानी हाले पुग्छ । किनभने चिसोमा बिरुवाको जरा फैलिँदैन । पानी धेरै भए जरा कुहिने डर हुनुका साथै फंगस उत्पन्न हुनसक्छ । तर, बिरुवाको गोडमेल भने गरिराख्नुपर्छ । माटो सुख्खा हुँदा जराले हावा सोस्न सक्दैन । त्यसैले महिनामा एकपटक माटोलाई कुटोले कोट्याइदिनुपर्छ । बिरुवालाई सही पोषक तत्व पुर्‍याएपछि त्यसमा हुने सम्भावित खतराबाट बचाउनुपर्छ । बिरुवालाई सबैभन्दा बढी खतरा कीराको हुन्छ, जसले रोग निम्त्याउँछ ।

सही मात्रामा पानी

बिरुवाको वृद्धि/विकासका लागि पानीसँगै सुरक्षा पनि आवश्यक हुन्छ । बिरुवालाई सातामा एकपटक पानीले पूरै नुहाइदिनुपर्छ । पातलाई नियमित रूपमा धोइदिनुपर्छ । पात वा डाँठमा कीरा टाँसिएको छ भने त्यो पूरै सफा नभएसम्म नियमित धोइरहनुपर्छ । कीरा सफा गरिसकेपछि पनि यो प्रक्रिया सातामा एकपटक गर्नुपर्छ । कुनै कीरा सजिलै नगए ब्रसले हल्का रगडी पानीले पखाल्नुपर्छ ।

कति पानी दिने ?

बिरुवालाई कति मात्रामा पानी दिने भन्ने कुरा वाष्पीकरणमा निर्भर गर्छ । आउटडोरमा राख्ने बिरुवाको तुलनामा इन्डोर बिरुवाको वाष्पीकरण कम हुन्छ । त्यसैले इन्डोर बिरुवामा पानीको मात्रा कम हुनुपर्छ । मौसमअनुसार बिरुवालाई पानी पनि दिनुपर्छ । गर्मीमा बिरुवालाई बढी पानीको आवश्यकता पर्छ । जाडो मौसममा कम र वर्षामा त्यसभन्दा पनि कम पानी चाहिन्छ । फूल फुल्न थालेपछि बिरुवालाई पहिलेको तुलनामा बढी पानीको आवश्यकता पर्छ । क्याक्टसलाई वर्षामा पानी हाल्नुपर्दैन भने जाडोमा थोरै पानी हाल्नुपर्छ ।

प्रकाश पर्ने ठाउँ

बिरुवाको सही वृद्धि/विकासका लागि सूर्यको प्रकाश जरुरी हुन्छ । बिरुवा लगाउँदा वा रोप्दा हावा ओहोर–दोहोर हुने र घाम पर्ने ठाउँको छनोट गर्नुपर्छ । इन्डोर बिरुवालाई पनि सातामा एकपटक बाहिर निकाल्नुपर्छ । लामो समयसम्म कोठामा राख्दा पात पहेंलो हुन्छ र बिरुवाको सही वृद्धि/विकास हुन पाउँदैन । ‘लक्की बेम्बो’ लाई प्रकाश र तापको जरुरी हुन्छ । यसलाई धेरै चिसो ठाउँमा राख्नुहुँदैन । चिसोले यसको पात पहेंलो हुन्छ । कोठाभित्र राख्दा पनि झ्यालको छेउमा राख्नुपर्छ । त्यस्तै, बाहिर राख्ने फूललाई पनि सीधा घामको सम्पर्कबाट बचाउनुपर्छ ।

हावा जरुरी

बिरुवालाई घाम–पानीले मात्र हुँदैन हावाको पनि आवश्यकता पर्छ । बाहिर रोपिने बिरुवामा त पर्याप्त मात्रामा हावा पुग्छ तर इन्डोर प्लान्टहरूमा हावा ओहोर–दोहोर हुनु जरुरी हुन्छ । बिरुवालाई ताजा हावाका लागि बिहान–बेलुका झ्याल खोलिदिनुपर्छ ।

उपयोगी माटो

फूल रोप्दा माटो धेरै कसिलो हुनु हुँदैन । कसिलो माटोमा जरा फैलन पाउँदैन । बिरुवा रोप्दा बलौटे माटो उपयुक्त हुन्छ । अहिले ‘कोकोपिट’ मिसाउने चलन छ । माटो मात्रै प्रयोग गर्दा खस्रो खालको हुनुपर्छ । कडा खालको जरा भएको बिरुवामा माटो मात्र हाले पनि हुन्छ तर नरम जरा भएका बिरुवालाई ‘कोकोपिट’ हाल्नुपर्छ । माटोको तयारी गर्दा कति मात्रामा के–के कति हाल्ने भन्ने हुँदैन । तैपनि एक–एक भाग माटो, कोकोपिट, कम्पोस्ट मल र बालुवा मिसाए हुन्छ । माटो भने नरम बनाउनुपर्छ ।

कीरा र रोगबाट कसरी बचाउने ?

बिरुवालाई कीरा लाग्नबाट बचाउन माटोको तयारी गर्दा नै ध्यान दिनुपर्छ । रोप्ने माटो संक्रमित छ भने कीरा पर्ने सम्भावना धेरै हुन्छ । प्रायः फूलमा चियापत्ती, मासुको हड्डी एवं अण्डाको बोक्रा राख्ने चलन छ, जुन एकदमै गलत हो । यसरी पूरै नसडेको खानेकुरा आदि माथिबाट राख्दा ढुसी तथा जीवाणु फैलिनुका साथै कीरा पनि पर्न सक्छन् । भान्साबाट निस्किएको तरकारी तथा फलफूलको बोक्रा आदि गलेपछि मात्र राख्नुपर्छ । कीरा लागेको अवस्थामा बजारमा पाइने कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ ।

मेलाथियानको प्रयोग

पानीले कीरा नगए मेलाथियानको घोलको प्रयोग गर्न सकिन्छ । यसको बट्टामा दिएको निर्देशनअनुसार यो प्रयोग गर्नुपर्छ । पातको माथि सतहमुनि सबैतिर छर्कनुपर्छ । दिएको निर्देशन/मात्रा भन्दा धेरै औषधि हाल्नुहुँदैन । मेलाथियान छर्केपछि बिरुवालाई घरभित्र राख्नु हुँदैन । घरमा साना बालबालिका वा घरपालुवा जनावर छन् भने उनीहरूबाट टाढै राख्नुपर्छ । बिरुवामा औषधि छर्कनका लागि साँझको समय उपयुक्त हुन्छ ।

कीरा मार्ने घरेलु उपाय

कीरा मार्न प्रयोग गरिने कीटनाशक औषधिले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्छ । बिरुवामा ढुसी लागेको भए बेकिङ पाउडर प्रयोग गरी छुटकारा पाउन सकिन्छ । त्यसका लागि चार लिटर पानीमा एक–एक चम्चा बेकिङ सोडा र हर्टिकल्चर तेल मिसाएर तयार पारिएको घोल बिरुवाको जुन भागमा ढुसी छ त्यहाँ छर्कनुपर्छ । त्यसैगरी कीरा मार्नका लागि रातो खुर्सानीको धूलो पनि उपयोगी हुन्छ । दुई चम्चा खुर्सानीको धूलो र सात थोपा जति लिक्विड डिटर्जेन्ट चार लिटर पानीमा मिसाएर तयार पारिएको घोललाई रातभरि छाडिदिएर बिहान राम्रोसँग बिरुवामा छर्कनुपर्छ । बजारमा निमको पाउडर सजिलै पाइन्छ । बिरुवामा दुई–चार ग्राम निमको पाउडर छर्कदा कीराबाट छुटकारा पाउन सकिन्छ ।

- बिरुवा रोप्ने र सार्ने काम साँझ गर्नु राम्रो हुन्छ ।

- नयाँ बिरुवा रोपिसकेपछि वा गमलामा माटो बदलेपछि दुई–तीन दिन छायामा राख्नुपर्छ ।

- नयाँ बिरुवा रोपेपछि थोरै पानी हालिदिनुपर्छ ।

- ‘इन्डोर प्लान्ट’ लाई छाया र ताप चाहिन्छ । त्यसैले धेरै चिसो र अँध्यारो ठाउँमा राख्नुहुँदैन ।

- ‘इन्डोर प्लान्ट’ बलियो हुन्छ । तैपनि पर्याप्त मात्रामा प्रकाश पुगेन भने पात झर्नुका साथै पहेंलो पनि हुन्छ ।

- बिरुवा रोपिसकेपछि १५ दिन वा महिनामा एकपटक मल हालिराख्नुपर्छ । मल जरामा होइन, छेउछेउमा हालिदिनुपर्छ ।

- माटोमा मल मिसाएपछि एक साताजति राखेर बिरुवा रोप्दा राम्रो हुन्छ ।

 Image