Successfully Copied

आन्तरिक सजावट र घरपालुवा जनावर

मानिस सामाजिक प्राणी भएकाले सुख–दु:ख साट्न साथी चाहिन्छ । घरपरिवार एवं साथीभाइका कारण नै समाज बनेको छ । त्यही समाजभित्र नै मानिस रमाउँदै बाँचेका हुन्छन् । आफ्नो घरमा आफूलाई मनपर्ने जनावर पाल्ने चलन अहिले पनि छ । पहिले–पहिले घरमा आफूसँगै राख्ने जनावरलाई घरपालुवा

 

लक्ष्मी खड्का, आर्किटेक्ट

मानिस सामाजिक प्राणी भएकाले सुख–दु:ख साट्न साथी चाहिन्छ । घरपरिवार एवं साथीभाइका कारण नै समाज बनेको छ । त्यही समाजभित्र नै मानिस रमाउँदै बाँचेका हुन्छन् । आफ्नो घरमा आफूलाई मनपर्ने जनावर पाल्ने चलन अहिले पनि छ । पहिले–पहिले घरमा आफूसँगै राख्ने जनावरलाई घरपालुवा जनावर भनिन्थ्यो भने अहिले यसलाई परिमार्जित गरी पेट भन्ने गरिन्छ । घरमा आफूलाई मन पर्ने जनावर राख्नाले र यस्ता जनावरसँग समय बिताउनाले मानिसको तनाव हट्ने र फुर्ती बढ्ने कुरामा पनि विश्वास बढ्दै गएको छ । हुन त पेटका लागि भनेर  फरक शैलीमा भवन र आन्तरिक डिजाइन गर्नुपर्छ भन्ने कुनै विशेष नियम त छैन । तर पनि आन्तरिक डिजाइनमा हल्का परिवर्तन गरी डिजाइन गर्नाले आफ्नो घरको मर्मत–संभारमा पनि सहज हुने र आफ्नो पेटसँगको जीवन पनि रमाइलो बनाउन भने सकिन्छ । तसर्थ यो चार खुट्टे सदस्यलाई घरमा ल्याउनुअघि हामीले ध्यान दिनुपर्ने कुराका बारेमा केही जानकारी :  

घरमा सँगै जनावर राख्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा पहिले सही किसिमको फ्लोरिङको छनोट गर्नुपर्दछ । तसर्थ फ्लोरिङको छनोट गर्दा विनाइल, ल्यामिनेट वा कर्क फ्लोरिङको छनोट गर्नु उत्तम हुन्छ । सकेसम्म यस्ता फ्लोरिङ एउटै ढिक्कामा नभई टुक्रा–टुक्रामा राख्न सकिन्छ । यसो गर्दा फोहोर भएको वा बिग्रेको पिसलाई झिकेर सफा गर्न वा फेर्न पनि सजिलो हुन्छ । यसका अलावा मार्बल, स्टोन र कडा किसिमका बासको फ्लोरिङ राख्नु वेश हुन्छ । यस्ता किसिमका फ्लोरिङ बढी टिकाउ र सफा गर्न पनि सजिलो हुन्छ । घरमा जनावर पाल्ने विचार गर्नुभएको छ भने यस्ता फ्लोरिङ उपयुक्त हुन्छन् । यी फ्लोरिङ पुछ्दा सफा हुनुका साथै हार्ड फ्लोरिङ राखेमा जनावरले दाँत तथा नङ्ग्राले फ्लोरिङलाई बिगार्न पनि सक्दैनन् ।

फर्निसिङ र फेब्रिक्स जनावरको नङ्ग्राले सजिलै च्यात्न सक्ने सिफन र कटनजस्ता फेब्रिक्स सकेसम्म छनोट गर्नु हँुदैन । यसको विकल्पमा लेदर, माइक्रोसुइड, माइक्रोफाइबरजस्ता फेब्रिक्सको छनोट गर्नुपर्दछ । पोलिस्टर एवं फेब्रिक्सबाट बनेको माइक्रो सुइडर, माइक्रोफाइबर फेब्रिक्स मुलायम र आकर्षक  देखिनुका साथै यस्ता फेब्रिक्स लेदरजस्तै सफा गर्न सजिलो, बलियो र टिकाउ पनि हुन्छन् । हामी आफू पनि घरबाट बाहिर जाँदा अथवा घरमा रहँदा पनि त्यहीअनुसार सभ्य भई सोही ठाउँअनुसारको नियम–कानुन पालना गरी बसेको रुचाउँछौं । त्यसैअनुरूप घरमा आफूसँगै राखेको जनावर पनि आफ्नै परिवार सम्झेर उसलाई पनि घरभित्रको नियम सिकाउनु अथवा तालिम दिनु राम्रो हुन्छ । जथाभावी फोहोर गर्दा, उफ्रदा, सामान बिगार्दा गाली गर्ने र राम्रो काम गर्दा प्रोत्साहन र माया गर्ने गर्नाले आफूसँगै राखेका जनावर सभ्य बन्दै जान्छन् । जसले गर्दा पारिवारिक जीवनमा सहजता ल्याउनुका साथै यसले घरभित्र–बाहिरको सरसफाइ गर्न पनि सजिलो हुन्छ । तसर्थ कुकुर, बिरालो, खरायो, ह्यामस्टर राख्ने सोच गर्दै हुनुहुन्छ भने घरभित्र आफ्नो चार खुट्टेलाई पनि आकर्षक देखिने नरम, मुलायम र सफा गर्न सजिलो किसिमको फर्निचर अथवा कक्ष निर्माण गर्नु पनि बुद्धिमानी हुन्छ । आजकल डग हाउस अथवा पेट बेडका रूपमा विभिन्न किसिमका आकर्षक फर्निचरहरू पाइन्छन् । आफ्नो भवन कक्षको कुनै एक ठाउँमा यस्ता डग हाउस र पेट फर्निचरलाई पनि आन्तरिक सजावटको अङ्गजस्तै गरिराख्नाले आन्तरिक सजावटमा सुनमा सुगन्ध थपिन्छ ।

यसका अतिरिक्त घरमा जनावर राखिसकेपछि सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै सरसफाइ हो । तसर्थ घरलाई निरन्तर बढार्ने, पुछ्ने गरेर सफा सुग्घर राख्नुपर्छ । यति मात्र नभई घरको सरसफाइसँगै घरमा राखिएको जनावरको पनि बारम्बार रौं तथा नङ काटिदिएर सफा–सुग्घर राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । साथै घरभित्रको हावालाई सफा राख्न हावा सफा गर्ने एअर प्युरिफायर राख्न सकेको खण्डमा घरभित्र रहेको दुर्गन्ध सफा गरी स्वच्छ हावाको प्रवाह गर्न सकिन्छ ।

 Image