Successfully Copied

साहसी सराह

युएईको ‘काउन्सिल अफ साइन्टिस्ट’ को अध्यक्षता गरिरहेकी सराह ‘इमिरेट्स मार्स मिसन’ को उप–व्यवस्थापक छिन् । युएई क्याबिनेटअन्तर्गतको एड्भान्स टेक्नोलोजी मन्त्रीसमेत रहेकी उनी युएई स्पेश एजेन्सीको अध्यक्ष पनि छिन् ।

युनाइटेड अरब इमिरेट्की सराह बिन्त युसेफ अल अमिरी सन् २०२० को ‘बीबीसी हन्ड्रेड वुमन’ मा पर्न सफल भइन् । शरीर मात्र होइन अनुहार पनि लुकाएर हिँड्नुपर्ने मुलुकमा जन्मिए/हुर्किएकी उनी अरबी मुलुकका लागि महिला सशक्तीकरणको बलियो उदाहरण बनेकी छन् । पुरुष वर्चस्व रहेको ती मुलुकमा महिलालाई घरबाहिर निस्किएर काम गर्न सहज छैन । यो परम्परा र व्यवहारलाई चिर्न सराह सफल भएकी छन् । हाल ‘युएई मार्स मिसन’ टोलीमा रहेर उनी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन् ।

युएईको ‘काउन्सिल अफ साइन्टिस्ट’ को अध्यक्षता गरिरहेकी सराह ‘इमिरेट्स मार्स मिसन’ को उप–व्यवस्थापक छिन् । युएई क्याबिनेटअन्तर्गतको एड्भान्स टेक्नोलोजी मन्त्रीसमेत रहेकी उनी युएई स्पेश एजेन्सीको अध्यक्ष पनि छिन् । अंग्रेजी भाषामा दख्खल राख्ने ३३ वर्षीया सराह अमेरिकन युनिभर्सिटी सारजहाबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेकी छन् ।

बाह्र वर्षको उमेरमा ‘मिल्की वे’ आकाशगंगा नजिकको एन्ड्रोमेडा ग्यालेक्सीको तस्बिर देखेपछि अन्तरिक्ष तथा साइन्स टेक्नोलोजीतर्फको मोह बढेको बताउने गर्छिन् । सन् २०१६ मा उनले युएई साइन्स काउन्सिल नेतृत्वको जिम्मेवारी पाएकी हुन् । प्रदेश मन्त्रीका हैसियतले हाल उनी संयुक्त अरब इमिरेट्सभित्र साइन्स एण्ड टेक्नोलोजीमा युवाहरूको सहभागिता र योगदानलाई बढावा प्रदान गर्न क्रियाशील छिन् । ‘आगामी केही वर्षभित्र युएईको अर्थतन्त्रलाई बलियो बनाउन विज्ञान तथा प्रविधिको महत्वपूर्ण भूमिका हुनेछ’ उनी भन्छिन्, ‘त्यसका लागि हामीले अहिल्यैदेखि यसको जगलाई मजबुत बनाउनु जरुरी छ ।’ मानव ज्ञान तथा प्रविधिलाई उत्पादन ठान्ने उनी यिनै चीजको उपयोग गरी पुँजी बनाउनुपर्नेमा जोड दिन्छिन् । पाँच वर्षदेखि साइन्स एण्ड टेक्नोलोजीमा अब्बल ठहरिँदै आएको युएईले पछिल्लो समय अन्तरिक्षतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । ‘मार्स मिसन’ का लागि दक्ष प्राविधिकमा सराहलाई नेतृत्व सुम्पिएको हो ।

 Image