मनहरीमा आमाघर

लीना दुवाडी

चैत्र ५, २०७७ आध्यात्मिक संस्था ब्रह्माकुमारीमार्फत अठ्ठाईस वर्षयता सामाजिक सेवामा सक्रिय योग प्रशिक्षक विजयराज सिग्देलले मकवानपुरको मनहरीमा आमाघर सेवा आश्रम निर्माण गर्दैछन् । आमाघरले समस्यामा परेका महिलालाई आश्रय मात्र होइन उनीहरूलाई स्वाभिमानपूर्वक बाँच्ने अधिकार प्रदान गर्ने लक्ष्य राखेको छ । यसै सन्दर्भमा आश्रमका मुख्य संरक्षक विजयराजसँग गरिएको कुराकानीको सम्पादित अंश :

आमाघर सेवा आश्रम के हो ?

केही वर्षयता प्रशिक्षणका क्रममा देशका विभिन्न स्थानमा पुग्दा नेपाली नारीहरू आजपनि सामान्य अधिकारबाट वञ्चित भएको पाएको छु । मूकदर्शक भईगन्तव्यमा फर्किँदा मभित्रको चेतनाले बारम्बार घच्घच्याइरहन्थ्यो । धेरै समयको अन्तरालपछि अन्ततः एउटा जमर्को गरौं भनेर मातृशक्तिको सम्मानमा आवासीय रूपमै एउटा भवन निर्माण गर्ने अठोट हामीले गर्‍यौं ।

कुनै उमेर समूहका नारीहरू स्वाभिमानपूर्वक जीवनयापन गर्ने रहर भएर पनि ठाउँको अभावमा भौंतारिन नपरोस्र आध्यात्मिक मार्गमा लाग्ने क्रममा पारिवारिक असमझदारीले जीवनमा मिठासको कमी नहोस् भनेर आश्रम बनाउन जुटेका हौं । त्यस्तै, प्राकृतिक प्रकोपका कारण सडकमै जीवनयापन गर्नुपर्ने परिस्थिति सिर्जना भए त्यसका लागि वैकल्पिक स्थान प्रदान गर्न, आध्यात्मिक जीवनयापन गर्ने क्रममा शारीरिक असक्तताका कारण सहयोग आवश्यक पर्नेलाई सहयोग गर्न, पूर्वीय सभ्यतामा सामूहिक परिवारको मूल्य र मान्यतालाई जगेर्ना गर्न आमाघर सेवा आश्रम बन्न लागेको हो । यो ब्रह्माकुमारिजको भगिनी संस्थासमेत भएकाले यो अभियानमा समर्पित अभियन्ताका मातापितालाई सहयोग गर्नुपर्ने स्थितिमा सेवा आश्रमको सदुपयोग गर्न सकिन्छ । स्थानीय मनकारीजनहरूलाई समेट्दै, ब्रह्माकुमारिज अभियानका साधक–साधिकाहरू र स्थानीय सरकारको सहयोगमा हामी निरन्तर अघि बढिरहेका छौं । सय जना नारीलाई आवासीय रूपमा बस्ने र ४० जना केयरटेकरलाई रोजगारी दिन सकिने लक्ष्य पनि हाम्रो हो ।

यो परियोजनाको सुरुवात कसरी भयो ?

मनहरीका स्थानीयहरूको एउटा समूह आध्यात्मिक यात्रामा भारतको माउन्टआवु जाँदै गर्दा मित्र रामचन्द्र उप्रेतीले योगी जीवनमा अझै पनि कुनै कर्तव्यबोधको महसुस हुन्छ कि? भनेर सोध्दा–मलाई त्यो प्रश्नले झकझकायो । मैले मातृशक्तिको सम्मानार्थ एउटा मानवताको स्मारक बनाउने रहर व्यक्त गर्दा हाम्रो संवादले विशेष मोड लियो, पछि कुरा अगाडि बढ्दै जाँदा भवनका लागि जग्गाको कुरा निस्कियो । सरकारबाट पार्क निर्माणका लागि सात हेक्टर जमिन उपलब्ध भयो, भवनको नक्सा बनेपछि यसको निर्माणमा सात करोड रुपैयाँ खर्च लाग्ने देखियो । तर, अचम्मको कुरा खल्तीमा सात सय पनि थिएन । ‘जहाँ समस्या त्यहीँ समाधान’ भनेजस्तै बिस्तारै उदार मनहरूबाट सहयोग प्राप्त हुन थाल्यो, कतिपयले आमाको स्मृतिमा केही रकम दान गर्ने वाचा गरे । अहिलेसम्म करिब तीन करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ । भवन पूर्णरूपमा सञ्चालन गर्न एक करोड र एक करोड रुपैयाँ अक्षयकोषमा उपलब्ध हुन सके हामी सेवामा सक्षम हुने अवस्थामा छौं ।

भवन निर्माण र त्यसको सञ्चालनका लागि ठोस आर्थिक आधार के हो ?

आजका मितिसम्म नियमित स्रोत केही देखिएको छैन । बीच–बीचमा कसैको पुण्यतिथि, जन्मोत्सव वा पर्वहरूमा स्वेच्छाले गरिएको दान नै यसको आधार बनिरहेको छ । आगामी दिनमा संस्थाका आजीवन सदस्यहरू बनाएर त्यसवाफत उठ्ने रकमको व्याजले संस्थालाई आर्थिक रूपमा सहज बनाउने लक्ष्य राखेका छौं ।अक्षयकोष एक करोडको बनाउने र त्यसको नियमित व्याजले व्यवस्थापनमा सघाउ पुर्‍याउने योजना राखेर सर्वत्र अनुरोध गरिरहेका छौं । समग्रमा मुठीदानको सहयोग नै यसको नियमित स्रोत हो ।

आममानिसले यो परियोजनाका लागि कुन–कुन तरिकाले योगदान दिन सक्छन् ?

यो बहुआयामिक संस्था भएकाले यसका अनेकौं पहल हुन सक्छन् । एक आमा एक अभिभावक, गाईसेवा, नर्सरीका लागि योगदान, भान्सा सेवाका लागि आर्थिक सहयोग, आमाहरूका लागि मेडिसिन तथा स्वास्थ्यका लागि सहयोग यसका प्रत्यक्ष तरिका हुन् । आर्थिक सहयोगको सम्भावना न्यून भएको अवस्थामा श्रम सेवा, आमाघरको व्यवस्थापनमा १२ बिघामा पार्क निर्माण कार्य पनि सँगसँगै सञ्चालन भइरहेकाले मालीको सेवा, आमाघरमा आउने आगन्तुकको सेवा र सत्कारका लागि पनि समय दिन सकिन्छ । स्वयंसेवकहरूले आ–आफ्नो क्षमता, विशेषता र रुचिअनुसार योगदान दिन सक्छन् ।

ब्रह्माकुमारिज अभियानमा संलग्न आमाहरूले आश्रमको सेवा लिन पाउँछन् ?

आमाघर सबै आमाहरूका लागि हो । हरकोहीले आफ्नो आवश्यकतानुसार आश्रय लिन खोज्दा आश्रय नदिने भन्ने कुरा हुँदैन । यो मातृशक्तिको सम्मानमा निर्माणाधीन चौतारी हो, यद्यपि कसैको घरपरिवारमा कुनै किसिमको असर पर्ने गरी कसैलाई पनि आह्वान गर्दैनौं । निःसन्देह यो एउटा आध्यात्मिक संस्थाको छत्रछायामा सञ्चालित भएकाले यसका केही मर्यादाहरू पनि छन्। अनुशासन नै कुशल व्यवस्थापनको मूल आधार भएकाले केही मापदण्डलाई ख्याल राख्नुपर्छ । संस्थाको मूल आदर्शअनुसार विचारमा सकारात्मकता, भोजनमा सात्विकता र व्यवहारमा मानवीय मूल्य–मान्यतालाई अपनाउन सहयोगापेक्षीले तयार रहनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>