Successfully Copied

बच्चाको धड्कन महसुस गर्दै छु : प्रियंका

मानव हुन् नारी । सृष्टि सिर्जना गर्न सक्ने दम र शक्ति भएका मानव नै नारी हुन् । प्रसव पीडालाई जितेर अर्को जीवनदान गर्ने साहस भएका भगवान्का सुन्दर रचना हुन् नारी ।

बहुप्रतिभाकी धनी कलाकार हुन्–प्रियंका कार्की । उनको कला, क्षमता र दक्षताले नेपाली मनोरञ्जन क्षेत्र सिञ्चित छ । उनी ‘मिस टिन’ को उपाधि जितेपछि टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनले हालसम्म चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । नृत्यमा समेत पार∙त तथा वाकपटुमा तिख्खर उनी भिजेका रूपमा काम गर्दा होस् वा नृत्यसम्बन्धी रियालिटी शो ‘भुगीवुगी’ मा निर्णायकको भूमिका निर्वाह गर्दा होस्, सबैमा आफूले बेस्ट रिजल्ट दिएको बताउँछिन् । उनी भन्छिन्, ‘हरेक जिम्मेवारीलाई गहन ढंगले निर्वाह गर्ने मेरो सानैदेखिको बानी हो । यही कारणले आजको दिनसम्म आइपुग्दा गरेका कामहरूमा निराश हुनु परेको छैन ।’

जीवनका हरेक मोडमा प्रियंका आफ्नो जिम्मेवारीमा अडिग बनेर उत्कृष्ट परिणाम दिने ध्याउन्नमा हुन्छिन् । त्यसैले कुनै चलचित्र होस् वा विज्ञापन या त विभिन्न कार्यक्रम नै किन नहोस् प्रियंकाकै खोजी हुन्छ । अभिनयबाहेक लेखन, निर्देशन, गायनमा समेत आफूलाई अब्बल साबित गरिसकेकी उनले गतवर्ष नायक आयुष्मान देशराज जोशीसँग लगनगाँठो कसिन् । आमा बन्दै गरेकी उनी भन्छिन्, ‘महिलाका लागि यो पल अत्यन्तै सुन्दर र जीवनकै अविस्मरणीय हुँदोरहेछ, जुन मैले पनि महसुस गरिरहेकी छु । अर्को मानवलाई यो धर्तीमा ल्याउन सक्ने नारीमा भएको साहस अदम्य छ ।’ यहाँ प्रियंकासँग गरिएको संवाद प्रस्तुत छ :

कोरोना महामारीका बीच आमा बन्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?

उत्साहित छु, हरेक पल मभित्र एउटा अर्को मानवले स्वास फेर्दैछ । उसलाई महसुस गरिरहेकी छु । नकारात्मक कुरा मनमा आउन दिएकी छैन । सकभर त्यस्ता खबरबाट टाढै रहन्छु । मभित्र हुर्किएको अमूल्य मानवलाई यो सुन्दर संसारमा स्वागत गर्न आतुर छु ।

मनमा कतै डर उत्पन्न हुन्छ कि ?

सावधानी अपनाइरहेकाले खासै डर महसुस भएको छैन ।

के–कस्ता सावधानी अपनाइरहनुभएको छ ?

भैंसेपाटीमा बस्ने हुँदा नजिकैको मेडिसिटी अस्पतालमा देखाइरहेकी छु । अनावश्यक भेटघाट र जमघटबाट टाढै रहेकी छु । बाहिर निस्किएकी छैन, घरैबाट काम गरिरहेकी छु । सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकी छु । किनभने यो अवस्थामा अतिरिक्त हेरचाह जरुरी छ ।

चलचित्र क्षेत्रलाई कोरोनाले पारेको असर ?

कोभिडका कारण संसार नै ठप्प छ । व्यापार, व्यवसाय बन्द छन् । यही चपेटामा छ हाम्रो पनि इन्डस्ट्री । बाहिर निस्किन नपाएपछि सुटिङ हुने कुरै भएन । हलमा दर्शक जाने अवस्था छैन । आउटडोर काम बढी हुने भएकाले यो क्षेत्र झनै बढी चपेटामा छ ।

आजको दिनसम्म आइपुग्दा जीवन के रहेछ ?

जीवन यही हो भनेर ठ्याक्कै भन्न सकिँदो रहेनछ । यो परिवर्तनशील छ । समय, परिस्थिति, भोगाइ, अनुभव, सोच–विचारअनुसार जीवन परिवर्तन हुँदै जान्छ । बाल्यावस्थामा कसैले चकलेट नदिएकोमा वा होमवर्क नगर्दा गाली खाएकोमा दिग्दार लाग्थ्यो भने अहिले त्यो समय पार गरेर फरक परिवेशमा आइपुगिएको छ । परिवक्वतासँगै जीवनको आकार र व्याख्या फरक हुँदै जाँदो रहेछ ।

समाज र राष्ट्रका लागि केही योगदान पुर्‍याएजस्तो लाग्छ ?

कलाकारिता क्षेत्रमा काम गरिरहेको मान्छेको हैसियतले यो क्षेत्रलाई मान्छेले हेर्ने नजर, यो क्षेत्रप्रतिको बुझाइको तौरतरिकालाई परिवर्तन गर्ने मेरो प्रयास निरन्तर छ । अब यो क्षेत्रमा आउने पुस्तालाई र त्यो पुस्ताले पनि यो क्षेत्रलाई सम्मानजनक नजरले हेरून् । मैले कला क्षेत्रलाई दिन सकेको योगदान भनेकै यो क्षेत्रको उत्थानका लागि उदाहरण बन्न सकूँ भन्ने हो । त्यहीअनुरूप मैले आफ्नो समय, प्रयास, मेहनत र आफूसँग भएको कला लगानी गरिरहेकी छु ।

जीवनको उपलब्धि के जस्तो लाग्छ ?

जीवनको उपलब्धि एकै लाइनमा भन्न सकिँदैन जस्तो लाग्छ । बाल्यकालमा परीक्षा सकिएपछि रिजल्ट आउँदा उपलब्धि यही हो भन्ने लाग्थ्यो, ठूलो हुँदै गएपछि उपलब्धि यही भन्ने लाग्न थाल्यो । फेरि करियरमा सफल हुँदा वा राम्रो सम्बन्धमा रहँदा यो प ो हो त उपलब्धि भन्ने लाग्थ्यो । म जीवनमा गोल सेट गर्दै अघि बढ्ने मान्छे हुँ । यो भन्दा अझैं गर्छु भन्ने सोचका साथ अघि बढेकीले हरेक स–साना कुरा नै किन नहून् त्यो पाउँदा उपलब्धि भएजस्तो लाग्छ ।

नारीको परिभाषा कसरी  दिनुहुन्छ ?

 मानव हुन् नारी । सृष्टि सिर्जना गर्न सक्ने दम र शक्ति भएका मानव नै नारी हुन् । प्रसव पीडालाई जितेर अर्को जीवनदान गर्ने साहस  भएका भगवान्का सुन्दर रचना हुन् नारी ।

जुनसुकै क्षेत्रमा महिला सफल हुन के जरुरी रहेछ ?

कुनै क्षेत्रसँग जोड्नुभन्दा पनि नारी आफैंमा जोडेर यो प्रश्नको उत्तर दिनु उपयुक्त लाग्यो । नारी सक्षम र शिक्षित हुनु जरुरी छ । आर्थिक सबलीकरण र आत्मनिर्भर हुनु अत्यावश्यक छ । नारीलाई ‘म सक्षम छु’ भन्ने बनाउन सकियो भने विविध प्रकारका हिंसा आफै घट्छन् । यति हुनेबित्तिकै घरभित्र र बाहिर जुनसुकै क्षेत्रमा पनि नारी सफल हुन्छन् ।

चलचित्र क्षेत्रमा दीर्घकालीन छवि कायमै राख्न के कुरा महत्वपूर्ण छ ?

सबैभन्दा पहिलो कुरा यो क्षेत्रप्रतिको ज्ञान, आफूमा क्षमता, मेहनत, कला र यो क्षेत्रलाई माया र सम्मान गर्ने हो भने यसमा टिकिरहन गाह्रो छैन । त्यस्तै, कडा परिश्रम, दृढता र आफ्नो क्षमताप्रतिको आत्मविश्वास महत्वपूर्ण कुरा हुन् ।

तपाईंको अबको योजना र नेपालीलाई सन्देश के ?

हरेक दिन बच्चाको धड्कन महसुस गरिरहेकी छु । मेरो सबथोक र संसार भनेको मेरो बच्चा हो । ऊसँग प्रत्येक पल बिताउन हतार भएको छ मलाई । मातृत्वका लागि तयार छु । फुल टाइम ममी बन्न मन छ । पछिल्लो वर्षदेखि कोभिडका कारण हामी डर/त्रासमा छौं । लकडाउन, आइसोलेसन र क्वारेन्टिनलाई फलो गरौं । परिवार र आफूले माया गर्ने सबैका लागि यो नियम पालना गरौं । केही दिन बाहिर ननिस्किँदा पछिका लागि आफू र आफ्नाहरूका लागि राम्रो हुन्छ, सबैको ज्यान जोगिन्छ भने यसलाई हामीले स्विकार्नैपर्छ । बाहिर निस्किनै परेमा मास्क र सामाजिक दूरी कायम गरौं । यो रोक्न हाम्रै हातमा छ, यसमा खेलाँची नगरौं ।

 Image