Successfully Copied

साहित्यमा ‘नारीवाद’

नेपाली साहित्यमा अहिले महिला अग्रपंक्तिमा छन् । नारीवादी विधा धेरै आइरहेका छन् तर सबै खाले विधा उत्तिकै मन पराइएको छ ।

नुवाकोटस्थित त्रिशूली बजारमा ३५ वर्षअघि जन्मिएकी जया ओझा लेखक, साहित्यकार र कानुन व्यवसायीका रूपमा क्रियाशील छिन् । उनका ‘कदम’ गीति संग्रह, ‘आवरण’ र ‘अनुराग’ उपन्यास प्रकाशित छन् । नेपाल टेलिभिजनमा प्रसारित आधा दर्जनजति धारावाहिकको पटकथा लेखनसमेत गरिसकेकी जयाका गजल संग्रह र अर्को एउटा उपन्यास प्रकाशोन्मुख छन् । उनीसँग गरिएको संवाद :

‘अनुराग’ कस्तो उपन्यास हो ?

दोस्रो विवाह गर्ने महिला र पुरुष दुवैलाई कानुनअनुसार कुनै पनि सुविधा छैन । महिलालाई नागरिकता दिइँदैन, बच्चाले पनि नागरिकता पाउँदैनन् । यिनै विषयलाई चिरफार गरेर लेखिएको उपन्यास हो–‘अनुराग’ । मानसिक, सामाजिक, कानुनी तथा शारीरिक विषयगत पक्षलाई ‘अनुराग’ ले उजागर गर्न खोजेको छ ।

पछिल्लो समयमा नेपाली साहित्यमा महिलाको स्थान र अवस्था कस्तो छ ?

नेपाली साहित्यमा अहिले महिला अग्रपंक्तिमा छन् । नारीवादी विधा धेरै आइरहेका छन् तर सबै खाले विधा उत्तिकै मन पराइएको छ ।

नेपाली साहित्य कुन धारमा बगिरहेको छ ?

नारी सहित्यकारले नारीवाद धारलाई पछ्याइरहेका छन् तर विविधता भने कायमै छ । साहित्यले समाजलाई हित गर्नुपर्छ । कुनै पनि साहित्यले एउटा विषयवस्तुलाई समातेको हुनुपर्छ । पाठकलाई चेतना र ज्ञान मिल्ने खालको हुनुपर्छ ।

नेपाली साहित्यमा गुणस्तर वृद्धिका लागि के आवश्यक देख्नुहुन्छ ?

हामी नेपालीमा पढ्ने बानीको विकास भएको छैन । पुस्तकमा खर्च गर्नेहरू कमै भेटिन्छन् । पुस्तक बिक्री नभएसम्म साहित्यकारलाई लेखेरै जीविकोपार्जन गर्ने वातावरण बन्दैन ।

पाठकलाई केही सन्देश छ कि ?

पुस्तक किनेर पढ्ने बानी बसालौं । पाठकले प्रतिक्रिया पनि दिन सक्नुपर्‍यो । नराम्रा कन्टेन्ट भएका पुस्तकलाई पाठकले ब्यान्ड गर्न पनि सक्छन् । जसले लेखकलाई सुधार्ने मौका मिल्छ ।

 Image