Successfully Copied

रंगमा रमाउने चिकित्सक

उनको चित्रमा उनकै मनोभाव देखिन्छ । एक्रेलिक शैली क्यानभासमा उतार्ने सविनाको चित्रमा नीलो रंग बढी देखिन्छ । नीलो रंगले सकारात्मक ऊर्जा दिने भएकाले पनि आफूलाई यो रंग मन पर्ने उनले बताइन् ।

एउटै व्यक्तिका अनेक आयाम हुन्छन् । नेत्र रोग विशेषज्ञ डा. सविना श्रेष्ठको जीवनमा यो भनाइ ठ्याक्कै मिल्छ । उनले साहित्यकारका रूपमा समेत परिचय बनाएको धेरै भैसक्यो । ‘जिन्दगी एक प्रश्न चिन्ह’, ‘मनको स्पर्श’ जस्ता उनका कविताहरू प्रकाशित भइसकेका छन् । साहित्यप्रति रुचि हुनुको कारण आमाको छाप आफूमा परेको उनले बताइन् । साहित्यमा आमाको औधी रुचि भएकै कारण त्यही पथ पछ्याउँदै आफू यता ढल्किएको उनको भनाइ छ । उनी भन्छिन्, ‘आमाले साहित्यमा रुचि राखेकै कारण मेरो पनि साहित्यमा रुचि बढेको हो ।’ चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै उनी साहित्यबाट टाढिइन् । 

तर पछिल्लो समय साहित्यलाई चित्रमार्फत उतार्दै उनी फेरि उदाएकी छन् । कलम लिएर कविता लेख्ने उनी तिनै कविताका भावहरूलाई चित्रमार्फत क्यानभासमा उतारेकी छिन् । उनले भनिन्, ‘मैले कविताका भावहरूलाई चित्रमार्फत देखाएकी छु ।’ 

उनले चित्र कोर्नका लागि लकडाउनको समयलाई सदुपयोग गरेकी हुन् । काठमाडौं मेडिकल कलेजमा कार्यरत उनी लकडाउनको समयमा केही फुर्सदिली बनिन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उनले अस्पतालको कार्यकक्षमा नै चित्र कोरिन् । उनले भनिन्, ‘लकडाउनको समयमा अस्पतालमै बसेर धेरै चित्र बनाएकी छु ।’ उनले कहिले अस्पतालमा बसेर चित्र कोरिन् त कहिले चित्र कोरेरै रात बिताइन् । ‘अरु सबै सुत्थे म रातमा चित्र बनाएर बस्थें’ उनले भनिन् । हो, उनको यही मेहनत र रुचिले साहित्यकार र चिकित्सकसँगै अब कलाकारका रूपमा पनि आफूलाई अब्बल प्रमाणित गरेकी छन् । उनले पहिलो पटक काठमाडौंस्थित नेपाल आर्ट ग्यालरीमा असोज दोस्रो साता ‘भाइब्रेसन’ शीर्षकमा एकल चित्रकला प्रदर्शन गरिन् । दुई वर्षको समयमा उनले कोरेका सयभन्दा बढी चित्र प्रदर्शनमा राखिए । प्रदर्शनमा राखेका चित्रहरू हेर्दा उनी आफै दंग भइन् । रहरै रहरैमा चित्र कोर्न सुरु गरेकी उनले यति धेरै चित्र बनाएर प्रदर्शन गर्ने सोचेकी थिइनन् । उनी भन्छिन्, ‘यसरी एकल चित्रकला प्रदर्शन गरौंला भनेर त कल्पनै गरेकी थिइन ।’ 

चित्रप्रति उनको रुचि सानै देखिको हो । उनले चित्र कोर्न खासै प्रशिक्षण लिएकी छैनन् । रामानन्द जोशीसँग तीन महिना स्केच सिकेको मात्रै उनलाई याद छ । स्केच बनाउँदै त्यसलाई रंग्याउन उनले आफै प्रयास गरिरहिन् । उनलाई चित्र र रंगको संयोजनबारे केही थाहा थिएन, तैपनि प्रयास गरिरहिन् । उनले भनिन्, ‘मैले परीक्षण र प्रयोग गर्दागर्दै चित्र तयार भएका हुन् ।’ 

उनको चित्रमा उनकै मनोभाव देखिन्छ । एक्रेलिक शैली क्यानभासमा उतार्ने सविनाको चित्रमा नीलो रंग बढी देखिन्छ । नीलो रंगले सकारात्मक ऊर्जा दिने भएकाले पनि आफूलाई यो रंग मन पर्ने उनले बताइन् । उनी प्रकृति र जीवनसँग नजिक भएर काम गर्छिन् । उनका चित्रहरूमा प्रकृति एवं जीवन जगत्का विभिन्न पक्ष समेटिएका छन् । 

 Image