‘खेलाडीलाई राष्ट्रिय सम्मान जरुरी’ 

नारी संवाददाता

मंसिर १२, २०७८ करिब २० वर्षअघि धनकुटाको राजारानीस्थित धूलाम्मे मैदानमा प्लास्टिक तथा मोजाभित्र थोत्रा कपडा कोचेर बनाएको बल खेल्ने फुच्चे अहिले फुटबलबाटै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाइरहेका छन् । उनी नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । एकल आमा हर्कमाया राईले हुर्काउँदा धेरै संघर्ष गरेकीले किरणले आमालाई आफ्नो हिरो र जीवन मान्छन् । 

धनकुटा पहाडको त्यो हिले–धूले मैदानमा खाली खुट्टा कपडाको बल खेल्दा घँगारुको काँडाले पैताला रक्ताम्य भएका दिन स्मरण गर्दै भन्छन्, ‘त्यति हुँदा पनि खेलप्रतिको रुचिमा कहिल्यै कमी आएन । घरमा पाकेको मासु–भातभन्दा मलाई फुटबल प्यारो थियो उहिलेदेखि । त्यति मात्र होइन मैले संसारमै सबैभन्दा बढी माया र भरोसा गर्ने मेरी आमालाई समेत कयौं महिना एक्लै छाडेको छु फुटबलका लागि ।’

१५ वर्षको उमेरमा जिल्लास्तरीय अन्तरस्कुल प्रतिस्पर्धामा धनकुटाबाट छानिएर काठमाडौं खेल्न पुगेका किरण लगत्तै एन्फा एकेडेमीमा अन्डर–१६ मा छानिए । तीन वर्ष एकेडेमीबाट खेलिसकेपछि एन्फाले नै व्यावसायिक फुटबल क्लबमा उनलाई आबद्ध गराइदियो । त्यसपछि किरण मच्छिन्द्र फुटबल क्लबमा जोडिन पुगे । मच्छिन्द्रमा एक वर्षको बसाइपछि उनी थ्री–स्टारमा नौ वर्ष खेले । सुरुदेखि नै उनको मनग्य उचाइका कारण उनलाई गोलकिपरमा उपयुक्त ठानिएको थियो । त्यसपछि मनाङ मर्स्याङ्दी, माल्दिभ्सको टिसी स्पोर्टस् क्लब, भारतको मिर्नेवा क्लब हुँदै गतवर्ष धनगढी फुटबल क्लबबाट खेलेका उनी सन् २०१९ देखि नेपाल फुटबल टिमको क्याप्टेनको जिम्मेवारी सम्हालिरहेका छन् । पछिल्लो साफ च्याम्पियनसीप प्रतिस्पर्धामा बंगालादेशलाई ड्र गरेर २८ वर्षपछि नेपाल फाइनलमा प्रवेश गर्नुलाई उनी आफ्नो खेल जीवनको स्मरणीय क्षण भएको बताउँछन् । खेल जीवनकै नरमाइलो क्षण स्मरण गर्दै किरण भन्छन्, ‘सन् २००८ मा कम्बोडियामा मकाउसँग खेल्दा मेरो पूरै चिउँडो फ्याक्चर हुन पुग्यो । त्यसबेला म अत्यन्त दुःखी भएँ, किनभने अब मेरो खेल करियर यहीँ सकिन्छ कि भन्ने चिन्ता थियो । तर एकवर्षको आराम र उपचारपछि म पुनः खेल मैदानमा फर्किन सफल भएँ ।’ किरणलाई लाग्छ राष्ट्रका लागि मैदानमा होमिनु चानचुने कुरा होइन, जुन मुलुकमा खेल्न गइन्छ त्यहाँ आफ्नो भन्दा अगाडि नेपालको नाम आउँछ, त्यही कुरामा उनलाई गर्व लाग्छ । भन्छन्, ‘हामी खेलाडी आफ्नो घरपरिवार, समय र सम्पूर्ण जीवन अनि आफूसँग भएको बल मेहनत लगाएर देशका लागि लडिरहेका हुन्छौं तर सरकारबाट हामीलाई उचित सम्मान र सहयोग प्राप्त नभएको देख्दा दुःख लाग्छ । पारस खड्का जस्तो मान्छे जसले २५ वर्ष क्रिकेटमा बिताउनुभयो उहाँले आखिर के पाउनुभयो मात्र त्यही अवकाश । कमसे कम सरकारले राष्ट्रका गहनालाई सोहीअनुसारको ट्रिट गर्नुपर्छ । खेलाडी व्यावसायिक ब्रान्डको विज्ञापनमा देखिनुपर्ने बाध्यता हामीकहाँ छ । यो अब रोकिनुपर्छ । भविष्यमा हामीजस्ता खेलाडीको जीवन चल्ने आधार सिर्जना गर्ने दायित्व सरकारको हो, यो मेरो सरकारसँगको आग्रह हो ।’

किरणले राष्ट्रिय टिममा खेल्न थालेको चौध वर्ष पुगिसकेको छ । उनी जहाँ खेल्न जान्छन् किरण चेम्जोङभन्दा अघि नेपालको नाम आउँछ जसलाई उनी आफूले राष्ट्र र समाजलाई दिन सकेको सानो योगदान ठान्छन् । राष्ट्रिय फुटबल टिमबाट ७९ वटा गेम खेलिसकेका किरणले खेलेका अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल धेरै छन् । सानैदेखि आमाको दुःख–संघर्ष देख्दै हुर्किएका किरण भन्छन्, ‘त्यसैको प्रभाव होला ममा यति धेरै मेहनत र चुनौती सामना गर्न सक्ने क्षमताको विकास भएको । ३० वर्ष एक्लै संघर्ष गरिरहेकी मेरी मामु म भनेरै बस्नुभयो । अहिले जस्तोसुकै आँधीबेहरी नै किन नआओस् म त्यसलाई सहजै समाधान गर्न सक्छु जुन मेरी आमाको जीवनको भोगाइ र उहाँको सिकाइले ममा सारेको गुण हो ।’ प्रबल जनसेवा श्रीबाट सम्मानित किरणलाई सन् २०१६ मा ‘बेस्ट प्लेयर अफ द इयर’ अवार्डद्वारा सम्मान गरिएको थियो । उनले सन् २०१८ मा माल्दिभ्स र सन् २०२१ मा भारतबाट बेस्ट गोलकिपर अवार्ड प्राप्त गरिसकेका छन् । जर्सी लगाएर मैदानमा टेक्नेबित्तिकै गर्वले छाती फुल्ने र खेल मैदानबाट आमालाई सम्झिदा छुट्टै प्रकारको शक्ति आउने बताउने किरण अहिलेका युवालाई आफ्नो क्षमता पहिचान गरी एउटै सपना देख्न आग्रह गर्छन् । 

किरणको धारणा

नारी : नारीविना संसार र प्रकृति सम्भव छैन । मानव जातिको अस्तित्व नै नारी हुन् । 

आमा : मेरी मामु सबथोक हुनुहुन्छ । मेरो प्रेम, मेरो जीवन, मेरो हिरो अनि मेरो अस्तित्व । 

नेपाली नारी पछाडि पर्नुको कारण : सम्मान नपाएर । नारीको महत्व नबुझिदिएर । अर्को कुरा अवसर नदिएर ।

नारी विकास र सशक्तीकरणका लागि आवश्यक वस्तु : सरकारद्वारा नारीका पक्षमा बलियो नीति जारी गरी प्रभावकारी कार्यान्वयन हुनुपर्छ । ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्छ ।

नारीको सबैभन्दा मन पर्ने पक्ष : उनीहरूको त्याग र बलिदान, सहनशीलता, केयरिङ नेचर ।

महिलामा भएको आकर्षक गर्ने व्यक्तित्वः लभिङ–केयरिङ नेचरका साथै सहयोगी भूमिका निर्वाह गर्ने महिलाले मलाई अकर्षित गर्छन् । 

अबका नारी : परिस्थितिअनुसार चल्न सक्ने हुनुपर्छ । हिंसा सहेर बस्ने होइन आवाज उठाउन सक्ने हुनुपर्छ । सहेर बस्ने समय छैन । अबका महिला आफ्नो क्षेत्रमा अब्बल, शिक्षित, स्मार्ट र सशक्त हुनुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>