Successfully Copied

पूर्णिमा श्रेष्ठ, हिमाल आरोही

‘गिभ अप’ गर्न मन नलाग्ने मेरो स्वभाव । सपना नछोड्ने मेरो बानी । 

अहिले केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै आरोहण सकेर आएँ । रोकिएका अन्य कामहरू मिलाउँदैछु । अर्को यात्राको परिकल्पना पनि गर्दैछु । 

हिमाल आरोहणको यात्रालाई केका रूपमा लिनुहुन्छ ?

हिमाल आरोहण मेरो ‘प्यासन’ हो । यसप्रतिको मेरो रुचिका कारण नै यहाँसम्म आइपुग्न सम्भव भएको हो । म ‘माउन्टेन लभर’ हुँ । 

चुचुरोमा पुग्दा सबैभन्दा पहिला के कुराको सम्झना आउँछ ?

सबैभन्दा पहिला सपना सफल भएको ठानेर खुसी र उत्साहित हुन्छु । मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने स्मरण हुन्छ । उद्देश्यमा पुगेको अनुभव हुन्छ । 

तपाईंले गरेको हिमाल आरोहणमध्ये सबैभन्दा कठिन र रोमाञ्चक यात्रा कुन हो ?

सबैभन्दा कठिन अन्नपूर्ण र रोमाञ्चक मनास्लु । 

तपाईंका लागि हिमाल आरोहणको मूल उद्देश्य के हो ?

हिमाली देशकी चेली भएर आफ्नो बहादुरी प्रदर्शन गर्नु हो । नेपाली महिलालाई उत्प्रेरित गर्नु पनि हो । चुचुरोमा पुग्नु अर्को प्रमुख उद्देश्य हो । 

हिउँसँगको साक्षात्कारमा के महसुस गर्नुहुन्छ ?

हिउँमा साह्रै गाह्रो हुन्छ र पनि अर्कै किसिमको रमाइलो र ऊर्जा मिल्छ । 

हिमाल आरोहीका हैसियतले तपाईंमा भएको सबैभन्दा सबल पक्ष के भएजस्तो लाग्छ ?

‘गिभ अप’ गर्न मन नलाग्ने मेरो स्वभाव । सपना नछोड्ने मेरो बानी । 

एकल आरोहणको चुनौती आइहालेमा कुन हिमाल चढ्न चाहनुहुन्छ ?

पुनः मनास्लु नै चढ्न चाहन्छु । 

के गर्दा सन्तुष्टि मिल्छ ?

जब आफूले सोचेका कुरा पुगेर सफल भइन्छ तब सन्तुष्टि मिल्छ । 

के कुराले तपाईंलाई उत्साहित गराउँछ ?

नयाँ योजनामा उत्साहित हुन्छु । 

तपाईंका रुचि र रहरहरू के–के छन् ?

रहरहरू धेरै छन् । ‘माउन्टेन लभर’ भएका कारण एकपछि अर्को हिमाल चढिरहुँ जस्तो लाग्छ । फोटो पत्रकार पनि भएका कारण नयाँ तस्बिर खिच्न मन लाग्छ । 

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?

एडभेन्चरस र फिजिकल वर्कमै रमाउँछु । हाइकिङ, रनिङ जान तथा साथीभाइसँगको भेटघाट मन पर्छ । 

 Image