निरोगी रहन जीवनशैली परिवर्तन जरुरी

मुटुरोग हुँदा छातीको बीच भाग भारीपन भएर दुख्ने, केही चीजले थिचेको जस्तो हुने दुःखाइ माथि हाततिर सर्ने, पसिना आउने, दुःखाइसँगै बान्ता हुने, बेस्सरी अप्ठ्यारो हुने गरी दुखेमा ‘हर्ट एट्याक’ भएको हुन सक्छ ।

उपासना घिमिरे

पुस २, २०७८काठमाडौं इन्द्रचोकस्थित वटुटोलमा ४२ वर्षअघि डा. भवानी मानन्धरको जन्म भएको हो । पढाइमा अब्बल उनले थुप्रै पदक तथा पुरस्कार पनि पाइसकेकी छन् । उनले प्राप्त गरेका प्रमुख पुरस्कारहरूमा प्रवेशिका परीक्षामा छात्रामध्ये उच्च अंक हासिल गरेवाफत ‘हीरादेवी कंसाकार गोल्ड मेडल’ र विज्ञान संकायमा प्रवीणता प्रमाणपत्रमा देशभरकै छात्रामध्ये प्रथम हुँदा ‘ऐश्वर्य विद्या पदक’ हुन् । भवानीले चिकित्सा शास्त्रमा एमबीबीएस भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्स’बाट, महाराजगंजस्थित ‘चिकित्साशास्त्र अध्ययन संस्थान’बाट एमडी मेडिसिन र धरानस्थित ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’बाट मुटुरोगमा डीएम गरेकी छन् । हाल उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा असिस्टेन्ट प्रोफेसर इन कार्डियोलोजिस्टका रुपमा कार्यरत छिन् । उनी नेपालकी प्रथम महिला डी.एम. कार्डियोलोजिस्ट हुन् । कुनै पनि क्षेत्रमा सफलता हात पार्न आफूलाई इच्छा लागेको विषय रोज्ने र त्यसैमा शत प्रतिशत इफोर्ट दिनुपर्ने धारणा उनको छ । यसका लागि आत्मविश्वासका साथ मेहनत गरेर अघि बढ्नुपर्छ । भवानीसँग उनका संघर्ष र मुटुरोगका विविध पक्षमा गरिएको कुराकानी :

 

प्रथम महिला डीएम कार्डियोलोजिस्ट बन्न के–कस्ता संघर्ष गर्नुभयो ?

सबै क्षेत्रमा अघि बढ्न परिश्रम र निरन्तर लगावको आवश्यकता पर्छ । २४ घन्टे ड्युटी, इको, क्याथल्याब सबै वार्डमा बिरामी हेर्न गाह्रो हुन्छ । एमबीबीएस, एमडीभन्दा पनि माथिको पढाइ भएकाले अझ गाह्रो भयो । त्यतिबेला मेरो विवाह भएर छोरी पनि जन्मिसकेकी थिइन् । त्यसैले संघर्ष त गर्नैपर्‍यो । डीएम गर्ने क्रममा श्रीमान् र घरपरिवारको सहयोग पाउँदा सहज भयो । 

परिवार र सानी छोरीलाई समय दिन नपाउँदा पढाइ छोडौं जस्तो लागेन ?

त्यस्तो कहिल्यै लागेन । मलाई जसरी पनि पढाइ पूरा गरेर आफ्नो मिसनमा सफलता हात पार्नु थियो । 

पछिल्लो समय कुन उमेरकालाई बढी मुटुरोग देखिएको छ ?

बढ्दो उमेरसँगै मुटुरोगको जाखिम बढ्ने भएपनि अहिले कम उमेरमै मुटुरोग देखिन थालेको छ । पहिले खेतबारीमा काम गर्ने, शारीरिक गतिविधि बढी हुन्थ्यो । अहिले त्यो छैन, सबै मानसिक तनाव र बसेर गर्ने काम छन् । शारीरिक थकानको काम नहुँदा बढी जंक फुडको भर पर्दा, अल्कोहल, स्मोकिङ गर्ने बानी, तनावका कारण युवावस्थामै पनि ‘हार्ट एट्याक’ हुने गरेको छ । पहिले ‘हार्ट एट्याक’ भनेको उमेर गएपछि हुने जस्तो लाग्थ्यो अहिले ३५–४० वर्षकालाई पनि हुने गरेको छ । कोरोनरी आर्टरी डिजिज, हार्ट एट्याक भएर एन्जियोप्लाष्टि गराउनेको संख्या बढ्दो छ । 

बालबालिकाहरूमा मुटु रोग हुने सम्भावना कत्तिको रहन्छ ?

बालबालिकाहरूमा हुने जन्मजात मुटुरोग (कन्जेनाइटल हार्ट डिजिज) को जोखिम बढी हुन्छ । मुटुमा प्वाल हुने, मुटुको रगतको नली असामान्य हुनेजस्ता रोगहरू हुन सक्छन् । अर्को कमन ‘एक्युट र्‍युम्याटिक फिभर’ (मुटुको बाथ रोग) पनि हुन्छ । कसैलाई बाल्यकालमा ‘टन्सिलाइटिस’, ‘फ्यारेन्जाइटिस’ भएको छ भने जुन किटाणुले टन्सिलाइटिस गराउँछ त्यसैको कारणले मुटुलाई पनि छुन्छ । यसलाई ‘र्‍युम्याटिक फिभर’ भनिन्छ । पाँचदेखि १५ वर्ष उमेर समूहमा यस्ता समस्या धेरै हुन्छन् । समयमै यसको उपचार नभए पछि यसले क्रोनिक रूप लिन सक्छ । क्रोनिकको रूप लिई मुटुको भल्भ बिगारेको अवस्थालाई ‘र्‍युम्याटिक हार्ट डिजिज’ भनिन्छ । 

मुटुमा कस्ता समस्या देखा पर्न सक्छन् ?

पछिल्लो समय रहनसहन, खानपान र जीवनशैलीका कारण मुटु रोगीको संख्या बढ्दो छ । तर, जनचेतना र सजगता पनि उत्तिकै बढेको छ । छाती दुख्यो कि साधारण ग्यास्ट्राइटिसले होला भनेर नबसी उपचार गर्न आउँछन् । मुटुरोग हुनसक्छ, जाँच गराउनुपर्‍यो भन्ने जागरुकता आइसक्यो । उच्च रक्तचाप (हाइपरटेन्सन), कोरोनरी आर्टरी डिजिज, मुटुको धमनी साँघुरो हुने रोग, हार्ट एट्याक, मुटु फेलियरजस्ता समस्या बढ्दो क्रममा छन् । 

महिला र पुरुषमा कुनमा बढी समस्या देखिएको छ ?

उच्च रक्तचाप, मुटुको ब्लकेज महिलाको तुलनामा पुरुषमा बढी हुन्छ । महिलामा महिनावारी भइराख्दा मुटुरोग कम भएको देखिएको छ । महिलामा ‘एस्ट्रोजन’ हर्मोनले ‘प्रोटेक्सन’को काम गरिरहेको हुन्छ । महिनावारी सुकिसकेपछि (मेनापज) भने महिला र पुरुषमा मुटु रोगको सम्भावना बराबरी हुन्छ । महिलाहरूमा हार्ट एट्याक हुँदा पनि पुरुषहरूमा जस्तो बेस्सरी छाती नदुख्न सक्छ र खाली सास फेर्न गाह्रो हुने, ग्यास्ट्राइटिसकै जस्तो लक्षण देखिने हुन सक्छ । त्यसो त महिला अलिअलि दुःखाइ हुँदा सहेर बस्छन् । गाह्रो भएपछि मात्र आउँछन् ।

एकपटक ‘हार्ट फेलियर’ भएका बिरामी कति वर्षसम्म बाँच्न सक्छन् ?

त्यो व्यक्तिमा भर पर्छ । मुटु कमजोर भएर पनि धेरै थकानको काम गरेन भने खासै गाह्रो नहुन सक्छ । सामान्यतया ‘हार्ट फेलियर’ भएपछि पाँच वर्ष ‘मोर्टालिटी’ भन्ने हुन्छ । मुटु धेरै ‘ड्यामेज’ छ र अन्य रोग पनि छ भने मृत्युदर धेरै हुने भयो । मुटु कमजोर छ र औषधिले म्यानेज गरिरहेको छ, अन्य समस्या छैन भने लामो समय (दीघार्यु) पनि हुन सक्छ । 

मुटुरोग गराउने तत्व के–के हुन् ?

मुटुरोग गराउन सक्ने रिस्क फ्याक्टर उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टेरोल, बढ्दो उमेर, वंशाणुगत गुण हुन् । यसैगरी मोटोपन, स्मोकिङ, सेकेन्डरी लाइफस्टाइल यी सबै मुटुरोग गराउन सक्ने तत्व हुन् । जति यिनीहरूको मात्रा बढ्छ, त्यति नै मुटु रोग हुने सम्भावना रहन्छ । 

जाडो मौसममा बिहानको समयमा धेरैलाई हार्ट एट्याक हुने कारण के हो?

जाडो मौसममा ‘ब्लड भिस्कोसिटी’ वृद्धि हुन्छ । साथै, रगतमा हुने कोलस्टेरोल, फाइब्रिनोजिनको मात्रा पनि जाडोमा बढी हुन्छ । जाडोमा चिसोका कारण हात चिसो भएजस्तै रगतको नली पनि साँघुरो हुन्छ । कसैको पहिले नै कोलस्टेरोल जम्मा भएर मुटुको नली साँघुरो भएको छ र चिसो एक्सपोज भएमा अझ बढी साँघुरो हुँदा छाती दुख्ने, रक्तचाप बढ्ने, हर्ट एट्याक हुने समस्या हुन्छन् । 

‘हार्टएट्याक’ नै हो भनेर कसरी पहिचान गर्न सकिन्छ ?

सबै छाती दुःखाइ ‘हर्ट एट्याक’ हुँदैन । सबै पेट पोल्ने ग्यास्ट्राइटिस हुँदैन । ‘रिस्क फ्याक्टर’ भएका बिरामी जस्तो उच्च रक्तचाप, मधुमेहका बिरामी, स्मोकिङ गर्ने, परिवारमा पहिले नै मुटरोग लागेका बिरामी भए अन्य सदस्यलाई पनि मुट रोग हुने सम्भावना रहन्छ । मुटुरोग हुँदा छातीको बीच भाग भारीपन भएर दुख्ने, केही चीजले थिचेको जस्तो हुने दुःखाइ माथि हाततिर सर्ने, पसिना आउने, दुःखाइसँगै बान्ता हुने, बेस्सरी अप्ठ्यारो हुने गरी दुखेमा ‘हर्ट एट्याक’ भएको हुन सक्छ । 

हालसम्म कतिवटा मुटुका बिरामीको अप्रेसन गरिसक्नुभयो ? सबै उपचार सफल भएका छन् ?

धेरै मुटुरोगीको अप्रेसन गरिसकेकी छु । सबै बिरामीलाई बचाउन सकिन्छ भन्ने हुँदैन । तर पनि चिकित्सकले आफ्नो तर्फबाट सक्दो प्रयास भने गरिरहेकै हुन्छन् ।

बिरामी निको भएर घर फर्कदा कस्तो अनुभूति हुन्छ ?

त्यो खुसी अवर्णनीय छ । 

कसरी मुटु स्वस्थ राख्न सकिन्छ ?

मुटु स्वस्थ राख्न जीवनशैली परिवर्तन, शारीरिक व्यायामका साथै खानपानमा पनि ध्यान दिनुपर्छ । दिनमा कम्तीमा ३० मिनेट व्यायाम गर्नु आवश्यक छ । वाकिङ गर्दा स्याँस्याँ हुने गरी, पसिना निस्कने गरी हिँड्नुपर्छ । धेरै चिल्ला एवं गुलिया खानेकुरा खानुहुँदैन । चिल्लो कम भएका खानेकुरा (पोली अनस्याचुरेटेड फ्याट) सागपात एवं फलफूल बढी मात्रामा खानुपर्छ । मधुमेह, उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ र नियमित रूपमा परीक्षण गराउनुपर्छ । ४० वर्षको उमेरपछि वर्षको एकपटक सबै स्क्रिनिङ (मधुमेह, कोलस्टेरोल, रक्तचाप) गर्नु उपयुक्त हुन्छ । 

भविष्यको योजना ?

मुटु रोगीको उपचारमै लागिरहनेछु । यो क्षेत्रमा अझ बढी अध्ययन गर्ने र तालिम लिने योजनामा छु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>