जीवनमा सन्तुलन अनिवार्य

 लक्ष्मी भण्डारी

माघ १३, २०७८ अन्तर्राष्ट्रिय जगत्मा ‘लाइक अ बुद्धिस्ट चेकोभ’ का नामले ख्याति कमाएका लेखक तथा प्राध्यापक सम्राट उपाध्यायले सन् २००१ मा ५० हजार अमेरिकी डलरसहितको ‘हि्विटिङ अवार्ड’ प्राप्त गरेपछि उनको चर्चा चुलिन थाल्यो । अंग्रेजी साहित्यमा दख्खल राख्ने उनका ‘अरेस्टिङ गड इन काठमाडौं’, ‘द गुरु अफ लभ’, ‘द रोयल घोस्ट’, ‘बुद्धाज अर्फन्स्’ लगायत छ वटा पुस्तक प्रकाशित छन् । सम्राटलाई यहाँसम्मको यात्रामा सघाएकी छिन् पत्नी बबिता लम्साल उपाध्यायले । उनी भन्छन्, ‘मेरो पहिलो पाठक उनै हुन् । मलाई सम्पादन गर्ने पनि उनै हुन् र प्रतिक्रिया दिने पनि उनै हुन् । उनकै कारण आज म यहाँ छु ।’ 

२१ वर्षको उमेरमा अमेरिका पुगेका सम्राट त्यहाँ पढाइ सकेर साउदी अरेबियास्थित एउटा विश्वविद्यालयमा पढाइरहेका थिए । सोही बखत नेपाल आएका बेला उनका बुवा हरिभक्त उपाध्याय र आमा शान्ता शर्माले विवाहका लागि कर गर्न थाले । बबिता र सम्राटलाई आफन्तमार्फत भेट गराउने काम भयो । गुह्येश्वरीमा पहिलो पटक भेटघाट गरेका उनीहरू ती पल स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला लभ गर्ने, केटाकेटी सँगै घुम्ने, बोल्ने बेला थिएन । हाम्रो पहिलो पटक भेट हुँदा एक–अर्कासँग बोल्न पनि धक लागिरहेको थियो । तर आधा घण्टाजति कुराकानी गरियो, त्यही नै जीवनको निर्णय बन्न पुग्यो ।’ त्यो भेटमा सम्राटले दश–बाह्रवटा प्रश्न गरेको बबितालाई सम्झना छ । उनले पनि बुवाआमाले खोजेको केटा राम्रै त होला नि भनेर हरेक प्रश्नमा सटिक उत्तर दिँदै गएकी थिइन् । ‘म त पिएचडीका लागि अमेरिका फर्किन्छु तिमी जाने कि नजाने ?’ भनेर सम्राटले बबितालाई सोधेका थिए । उत्तरमा बबिताले ‘जान्छु तर केही समयका लागि मात्रै, फेरि नेपालै फर्किएर केही गर्छु’ भनेकी थिइन् । तर एकपटक गएपछि बबिता स्थायी रूपमा फेरि नेपाल नफर्केको सम्राट बताउँछन् । भेटघाटको केही दिनमै सम्राट साउदी अरेबिया फर्किए, त्यसको दुई महिनापछि नेपाल आएर विवाह गरे । त्यसपछि सम्राट काठमाडौं विश्वविद्यालयमा प्राध्यापन र विभिन्न पत्रपत्रिकामा लेखनमा व्यस्त भए । 

नेपाल बसाइको केही समयपछि सम्राट फेरि अमेरिका फर्किए । लेखनमा बाल्यकालदेखिको उनको भोक त्यहाँ पुगेपछि व्यावहारिक रूपमै उत्रिन थाल्यो । सन् १९६१ मा काठमाडौंमा जन्मिएका सम्राटको बाल्यकाल धेरैजसो पढेरै बित्यो । उतिबेला उनी ‘एडभान्स’ र ‘एडल्ट’ विषयवस्तु समेटिएका हिन्दी उपन्यास धेरै पढ्थे । सेन्ट जेभियर्समा पढेका सम्राटलाई सबैले पढन्ते भनेर चिन्थे । बाल्यावस्थादेखि नै अन्तर्मुखी स्वभावका उनी अमेरिका पुगेर पढाउन थालेपछि आफू ‘एम्बिभर्ट’ (अन्तर्मुखी र बहिर्मुखीको बीचको स्वभाव) हुँदै गएको बताउँछन् । 

मन्दिरप्रसाद र जयन्ती लम्सालका पाँच छोरीमध्येकी बबिता भने विवाहताका अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै थिइन् । त्यो छोडेर उनी अमेरिका पुगिन् र उतै पढिन् । बाल्यकालमा आफ्नो दिमागमा विभेदको अंश गडेको बताउने उनी भन्छिन्, ‘मेरा अभिभावकबाट जहिले–जे कुरामा पनि प्रेरणा मिल्यो तर मेरी हजुरआमा (बुवाकी आमा) ले मेरो माइला छोराका सन्तान छैनन्, वंश नचल्ने भो भन्नुहुन्थ्यो । हामी पाँचवटी छोरीलाई उहाँले सन्तानका रूपमा देख्नुभएको रहेनछ । त्यो कुरा मेरो मस्तिष्कमा नराम्ररी गडेको रहेछ । त्यसैले मैले प्रण गरें म एउटा मात्रै सन्तान, त्यो पनि छोरी नै जन्माउँछु र उसलाई आफ्नो वंशको नाम दिन्छु यो कुरामा मलाई श्रीमान्को बलियो साथ मिल्यो । त्यसैले एउटी मात्रै छोरी शहजादी लम्साल उपाध्यायमा हामीले हाम्रो खुसी र वंश भेट्यौं ।’

यी दुईको दाम्पत्य पार्टनरसीपमा चलेको छ । उनीहरूबीच यो काम श्रीमान्ले र यो श्रीमतीले गर्ने भन्ने छैन । दुवै व्यस्त भएकाले भ्याएका बेला दुवैले सबै काम गरिरहेका हुन्छन् । सम्राट आफैं पनि पाककलामा पारंगत छन्, उनलाई भान्साको काम गर्दा रमाइलो लाग्छ । यी दुवैलाई यात्रा र पढाइमा निकै रुचि छ । आपसी संवाद, एकापसमा माया र सम्मान तथा समझदारीले दाम्पत्य जीवनलाई बलियो र सुमधुर बनाउने यी दुईको ठहर छ । अमेरिकास्थित इन्डियाना युनिभर्सिटीका प्राध्यापक सम्राट र उही युनिभर्सिटीमा कार्यरत बबिता २८ वर्षदेखि जीवनका हरेक चुनौती र सुख–दुःखमा एक–अर्काका खम्बा बनेर उभिइरहेका छन् । 

भाषाको कुरा गर्नुपर्दा आफ्नो दक्षता र विज्ञता अंग्रेजीमै भएकाले अंग्रेजी लेखनमै अगाडि बढेको सम्राट बताउँछन् । लेखक–साहित्यकारको शब्दसँग अगाध प्रेम हुने र यसले दाम्पत्य जीवनमा कस्तो असर वा प्रभाव पार्छ भन्ने प्रश्नको उत्तर दिँदै सम्राट भन्छन्, ‘म व्यावहारिक लेखक हुँ । शब्दसँग प्रेम छ तर ती शब्दहरू श्रीमतीकै माया र सहयोगको उपज भएकाले पक्कै पनि यसले हाम्रो निजी जीवनमा कुनै असर पारेको छैन । मैले पहिलो उपन्यास लेख्दा छोरी सानी थिइन् । बबिताले छोरी पनि म हेर्छु, घर–व्यवहार पनि मै सम्हाल्छु भनेकैले त्यो उपन्यासको जन्म भयो । कहिलेकाहीँ इभिनिङ वा मर्निङ वाकमा जाँदा म पात्रसँग डुबिरहेको हुन्थें तर उनको संवादले मलाई विचलित हुन दिँदैनथ्यो ।’ यी दुवै जना शिक्षण पेशामा आबद्ध भएकाले एक–अर्कामा आइडिया सेयर गर्छन्, हरेक निर्णय दुवैको सरसल्लाहमै हुन्छ । बबिताका अनुसार चेक एन्ड ब्यालेन्समा उनीहरूको जीवन चलिरहेको छ । 

बबिताबारे सम्राट

बलियो पक्ष र कमजोरी : अत्यन्तै बलियो र आत्मविश्वासी तर जिद्दी पनि । 

कस्ती श्रीमती ? : असल, सहयोगी, धेरै माया गर्ने अनि बलियो आत्मविश्वास भएकी ।

सम्बन्ध सुमधुर बनाउन : दुवैको साझा रुचिमा केन्द्रित हुनुपर्छ । एकापसमा दरिलो विश्वास चाहिन्छ ।

सुधार्नुपर्ने : जिद्दीपन हटाउन सके राम्रो हुन्छ । 

सम्राटबारे बबिता

बलियो पक्ष र कमजोरी : एकदमै सरल र सहज तर कहिलेकाहीँ अधैर्य । 

कस्ता श्रीमान् ? : विशेष श्रीमान् । म यहाँ हुनुमा शतप्रतिशत उहाँकै हात र योगदान छ । 

सम्बन्ध सुमधुर बनाउन : आपसी समझदारी र एक–अर्कामा सम्मान । 

सुधार्नुपर्ने : धैर्य रहन सिक्नुपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>