शिक्षकका आमा

नारी संवाददाता

असार १२, २०७९ सन्तान चाँडै ठूलो होस् । उन्नति, प्रगति गरोस् । नाम कमाओस् । सबैजसो आमाको सपना हुन्छ । मेरी आमाका पनि यस्तै सपनाहरू थिए । बेला–बेलामा आफ्नो काखमा राखेर मायाले मेरो टाउको सुमसुम्याउँदै सपनाहरू छचल्काउनुहुन्थ्यो, ‘बावु तँ कहिले ठूलो होलास् ⁄ जागिर खालास् । अनि मलाई सुख देलास् ।’ म केही नबोलीकन आमाको अलिअलि अत्यास मिसिएका, झट्ट हेर्दा बसिबियाँलो लाग्ने, वास्तवमा मप्रतिको निर्धक्क भरोसाका अभिव्यक्तिहरू सुनिरहन्थें । मैले ठूलो भएपछि पैसा कमाएर आमालाई खुसीकासाथ पाल्ने योजना बनाइहेको थिएँ ।

समयको चक्रमा हुइँकिने क्रममा कलिला ओठहरूमाथि जुँगाको रेखी बस्न थाल्यो । भर्खरै एसएलसी उत्तीर्ण गरेको १८ वर्षको हँसिलो, जोसिलो युवक । प्राथमिक तहको शिक्षकमा नियुक्ति पायो । उसमा उत्साह, फुर्ती एवं जाँगर धेरै थियो । प्रधानाध्यापकले कक्षागत रूपमा तोकिदिएका विषयहरू र पिरियडहरूमा अर्जुन नजर लगाएर अघि बढ्यो । समयमा विद्यालय पुग्ने र निर्धारित समयभर कक्षामा ध्यान दिएर शिक्षण गर्ने पक्षमा ऊ चुक्न चाहँदैनथ्यो । विद्यार्थीहरूलाई अनुशासनमा राखेर राम्ररी सिकाउनुपर्छ भन्ने पक्षतर्फ चनाखो थियो । न उसमा शिक्षण, सिकाइसम्बन्धी अनुभव थियो न उसले यससम्बन्धी कुनै पनि प्रकारको ज्ञान तथा सीप प्राप्त गर्ने अवसर पाएको थियो । बालमनोविज्ञानसम्बन्धी ज्ञान, बालमैत्री शिक्षण, क्रियाकलापमा आधारित शिक्षणलगायतका आधारभूतपक्षबारे ऊ अनभिज्ञ थियो । उसका गुरुहरूले पनि अनुकरण तथा अनुशरणका लागि यो पक्षलाई खासै केही अपनाएका थिएनन्, न सहकर्मीहरू अभ्यासरत थिए । कमजोर विद्यार्थीहरूलाई पृष्ठपोषण दिने सन्दर्भमा परम्परागत सामग्रीहरू हप्कीदप्की र छडीलाई उसले पछ्याएको थियो । 

विद्यार्थीहरू नयाँ सरको नामले चिन्थे । शिक्षणको सुरुवात गरेको केही समयपछि नै विद्यार्थी र अभिभावकहरूमाझ राम्ररी पढाउने सरका रूपमा पहिचान बन्यो । आधिकारिक तरिकाले अनुगमन र सुपरिवेक्षण गरी आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन प्राप्त गर्ने परिवेश नरहेको सन्दर्भमा उक्त पहिचान नै अगाडि बढ्नका लागि प्रेरणा एवं हौसला बन्नपुग्यो । कलिला मनमस्तिष्कका रुचि र चाहनाहरू केलाउने वातावरण निर्माण नभएको माहोलमा बालबालिकाहरूको व्यक्तिगत भिन्नता ओझेल पर्नु स्वाभाविक थियो । व्यवहारमा कुनै पनि प्रकारको विभेद थिएन । चिन्तन पनि पाठ्यपुस्तकमा समावेश विषयवस्तुसम्बन्धी ज्ञान तथा सीप विद्यार्थीहरूले प्राप्त गर्नसकून् भन्ने हो । विद्यालय समयभर विद्यार्थीहरूप्रति नै सम्पूर्ण ध्यान केन्द्रित गरेर दिनहरू बितिरहेका थिए ।

विद्यार्थीहरू विद्यालय समय सकिनेबित्तिकै खुसीका साथ आ–

आफ्नो घरतर्फ लम्कन्थे । कतिपयको घरपुग्न एकघण्टाको पैदलयात्रा गर्नुपर्ने थियो । तैपनि गफैगफमा उनीहरू फुत्तै घर पुग्थे । यसैक्रममा एक दिन बीचबाटोमा विद्यार्थीहरूको भेट नयाँ सरकी आमासँग भयो । आफ्ना छोराका विद्यार्थीहरूसँग भेट भएपछि आमाले प्रश्न गरिन्, ‘तिमीहरूको स्कुलमा अहिले आएको मास्टर कत्तिको जाती छ बाबु हो ? कस्तो पढाउँछ ?’ विद्यार्थीहरूलाई गुनासो पोख्ने मानिस भेटिएजस्तो लागेछ । उमेरमा अलि ठूला तीन/चार जनाले एकै स्वरमा भने, ‘पढाउन त राम्ररी पढाउनुहुन्छ । तर असाध्यै कुट्नुहुन्छ । हामीलाई त खप्नै मुस्किल भइसक्यो । उ हेर्नुहोस् त हजुरआमा, त्यसको पाखुरामा त सुम्लै परेको छ । दिनदिनै यस्तै हो ।’ विद्यार्थीहरूको यस्तो जवाफले आमाको मन कुँडियो । सबैको मनमा सोझो व्यक्तिका रूपमा स्थापितबाट यस्तो व्यवहार । सोच्दै नसोचेको सुन्नुपर्‍यो । उनको शरीर फतक्क गलेर आयो । तैपनि सम्हालिएर मनमनै कुरा खेलाउन थालिन् । यिनीहरूको चित्त निकै दुखाएको रहेछ । विचराहरू निकै दुःखी देखिन्छन् । कति सराप्यो होला यिनको मनले ? यस्तै सोच्दै फेरि प्रश्न गरिन्–‘तिमीहरू त्यसलाई गाली गरेर धेरै सराप्छौ होला बाबु हो ?’ उनी अरुको सरापसँग एकदम डराउँथिन् । सन्ततिलाई सराप लाग्ला भनेर मन पिरोलिइरहेको थियो । उनीसँगको कुराकानीले बालबालिकाहरूमा एकप्रकारको मीठो आशा रसाएजस्तो भयो । अपेक्षा मिश्रित मुहार लगाएर भने–‘हामी सराप्न त सराप्दैनौं । कुटाइको पीडा सहन कठिन छ । नकुटिदिए हुन्थ्यो, अरु त हामीलाई सबै ठीक थियो ।’ विद्यार्थीहरूको यसप्रकारको भनाइ सुनेर आफ्नो परिचय नदिई आमा अगाडि बढिन् । विद्यार्थीहरू पनि घरतर्फ लागे । आमाको मन तरङ्गित भयो । टोल, छिमेकमा त बालबालिकाहरूलाई खुब माया गर्ने मानिसले किन यस्तो गरेको होला ? एसएलसी पास गरिसकेको, उमेर पुगेको व्यक्तिलाई के भन्ने होला ? अघिपछि हामीलाई नै सम्झाउने मानिसलाई के भनेर सम्झाउने होला ? मान्छे त अलिअलि एकोहोरो पनि छ, केही भन्दा फेरि रिसाएर झडङ्ग गर्‍यो भने के गर्ने होला ? यस्ता कुराहरू खेलाउँदै घर पुगिन् । त्यसदिन छोराको अनुहार अलि रिसाएजस्तो देखियो । आमाले केही भन्न खोजे पनिखासै साहस आएन । अन्त्यमा भनिन्, ‘बाबु, तिमीले केटाकेटीहरूलाई नपिटेको भए हुन्थ्यो । आज मैले बाटोमा स्कुले केटाकेटीहरू भेटेरतिम्रो बारेमा सोधेकी थिएँ । पढाउन त राम्ररी पढाउनुहुन्छ तर असाध्यै पिट्नुहुन्छ भने । त्यसो नगर बाबु । तिनीहरूको आत्माले कति सराप्यो होला ? मैले भनेको मान । अब केटाकेटी पिट्ने काम नगर । अर्काको मन रुवाउनु हुँदैन ।’ उनले कुनै जवाफ दिएनन् । आमाको अनुहारमा पीडा झल्किन्थ्यो । उनका अर्तिहरूमा आशाका किरणहरू चम्किरहेका थिए । मेरो केही भनाइ आउला भनेर उनले मेरो अनुहार हेरिरहिन् । मैले पनि मुस्कुराउँदै उनलाई हेरिरहें ।

खानापछि ओछ्यानमा ढल्किएर शिक्षकका रूपमा विद्यालयमा प्रवेश गरेदेखि त्यस दिनसम्मका पानाहरू पल्टाउँदै गएँ । त्यसअघि शिक्षण सिकाइका सम्बन्धमा न कहिल्यै प्रधानाध्यापकले प्रश्न उठाए । न सहकर्मी शिक्षकहरूले कुनै सुझाव दिए । न अभिभावक र विद्यार्थीहरूबाट कुनै गुनासो आयो । मैले कस्तो गलत तरिका अपनाइरहेको रहेछु । आफूले राम्ररी पढाएको ठान्थें । मेरो शिक्षण सम्बन्धमा विद्यार्थीहरूको धारणा बुझेर आमाले कति राम्रो सुझाव दिइन् । सम्भावित ठूलो दुर्घटनाबाट बचाइन् । सन्तानप्रति आमा कति संवेदनशील छिन् । सन्तानले नराम्रो काम गरेको देख्न नचाहने । आमा सधैका लागि मार्गदर्शक । निकटतम सुपेरिवेक्षक । त्यसपछि म सुधारिएँ । 

- भरतराज त्रिपाठी

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>