रिंकु रहर

नारी संवाददाता

श्रावण ५, २०७९ मधेस प्रदेशको राजधानी जनकपुरमा ३१ वर्षअघि जन्मेकी रिंकु (गायत्री) मिश्र रहरले पत्रकारितामा प्रवेश गरेकी हुन् । थुप्रै आरोह–अवरोध पार गर्दै उनी यो क्षेत्रमा टिक्न सफल छिन् । उनी पत्रकारितामा आउन चाहने मधेसी चेलीहरूका लागि प्रेरणा र हौसलाकी स्रोत बनेकी छन् । हाल उनी नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य हुन् ।

आफ्नो विगत सम्झिदै उनले भनिन्, ‘दिनभरि बाटाघाटामा दुनियासँग बोल्दै हिन्छे, रातबिरात घर आउँछे, फलानाकी छोरी बिग्रिई भन्नेहरू आज छोरीले इज्जत कमाई भन्छन् । बाटोघाटो नबने मलाई बोलाएर लौन  कसरी बनाउने भनेर सोध्छन् । किनभने उनीहरूलाई विश्वास छ, यो काम मैले नै गर्न सक्छु भनेर ।’ रिंकुले मधेसमा मात्रै होइन देशमै पनि महिलालाई पत्रकारिता गर्न सहज नभएको बताइन् । उनले भनिन्, ‘त्यसमाथि हामी मधेसी मूलका महिला, जुन समुदायका महिला अझै पनि घुम्टोभित्रै छन् । १६ वर्षअघि महिलाले पत्रकारिता गर्दा कति चुनौती थियो होला ?’

रिंकुले मधेसमा हुने बालविवाहको डरलाग्दो असर आफ्नै घरैभित्र देखेकी छिन् । उनका बुवाका दुईवटी श्रीमती थिए । जेठीबाट दुई छोरा, एक छोरी र कान्छीबाट रिंकु र अर्की छोरी । ‘मेरै घरमा ठूलो ममीको छोरीको १६ वर्षमै विवाह भयो । सासूले निकै तनाव दिएपछि आत्महत्या गर्नुभयो । मेरी आमातिरकी जेठी छोरी मेरै दिदीको १४ वर्षमा विवाह भयो’ उनले भनिन्, ‘विवाहको मुख्य कारण उहाँको शारीरिक बनोट ठूलो हुनु थियो । दिदीको १६ वर्षमा बच्चा जन्मियो, उहाँ बित्नुभयो तर बच्चा बाँच्यो । बालविवाहको असर मेरै घरमा छ । त्यसैले मैले मधेसमा हुने बालविवाहलगायतका हिंसा अन्त्यको भूमिका खेल्न पत्रकारिता रोजें ।’

सानैदेखि रेडियोमा रुचि राख्ने रिंकु विद्यालयमा वक्तृत्वकला आदि कार्यक्रममा सहभागी हुन्थिन् । उनी त्यसताका निकै बोल्न सक्ने, हठी र निडर समूहमा पर्थिन् । १६ वर्षअघि जनकपुरमा रेडियोहरू खुल्न थालेका थिए । रिंकु १२ कक्षामा पढ्दै थिइन् । ‘रेडियो जनकपुर’ को स्टेशन म्यानेजरका भाइले उनलाई ‘रेडियोमा काम गर्छौ ?’ भनेर सोधेका रहेछन् । आफ्नो रुचिको विषय भएकाले उनी रेडियोकर्मी बन्न तम्सिइन् । उनले भनिन्, ‘मेरो भ्वाइस कडा थियो, मैले न्युज पढ्छु भनेकी थिएँ । तर न्युजमा अगाडि धेरै जना भएकाले मलाई काम दिएनन् ।’ ०६४ मा उनी ‘रेडियो टुडे’ मा काम थालिन् । त्यहाँ कार्यरत अग्रज पत्रकारहरूबाट उनले प्रशिक्षण प्राप्त गरिन् । उनमा पत्रकारिताको ज्ञान बढ्यो । नौ महिनापछि उनले न्युज पढ्न पाइन् । त्यसअघि गीत–संगीतका कार्यक्रम चलाउने, बाटोमा ‘भक्स पप’ लिने, रिपोर्ट बनाउने काम गरेकी थिइन् । अतीत सम्झिदै उनले भनिन्, ‘मधेसको ठाउँ, केटी मान्छे, बाटोघाटोमा भक्स पप लिन जाँदा केटाहरूले हो–हल्ला गर्थे, घेर्थे, कहिलेकाहीँ त भाग्नुपर्थ्यो । बुवाले पनि बाटोघाटोमा गएर यस्तो काम नगर भन्नुभएको थियो । उतिबेला मधेस आन्दोलन अन्त्य हुने क्रममा थियो । टायर बाल्ने, विरोध प्रदर्शन गर्ने काम रोकिएको थिएन । भक्स पप लिन जाँदा पनि मान्छेहरूलाई दाइ, अंकल, भाइ भनेर फकाएर अलिकति पर हिँड्नुस् न केही बोलिदिनुस् भन्थें । हामी किन जाने, किन बोल्ने भनेर रिसाउँथे । निकै चुनौती थियो ।’

तत्कालीन पत्रकार उमा सिंहले न्युजमा ‘म एक्लै छु रिंकुलाई राखौं’ भन्ने प्रस्ताव गरेकी थिइन् । उमाले एकदिन नौ बजेको समाचार तयार पारिदिएर घर हिँड्न लाग्दा भनेकी थिइन्, ‘रिंकु यो तिम्रो होइन मेरो परीक्षा हो, मलाई पास गराउनु ।’ त्यतिबेला उनलाई आफ्नो सपना पूरा हुन लागेको महसुस भएको थियो । ‘रेडियो टुडे’ मा दुई वर्ष मैथिली, नेपाली र हिन्दी भाषामा समाचार पढिसकेपछि उनले स्नातक तेस्रो वर्ष पढ्दै गर्दा पत्रकार घनश्याम मिश्रसँग विवाह गरिन् । विवाहपछि पनि उनलाई काममा रोकतोक भएन तर पहिले जस्तो प्रशस्त समय दिन नभ्याउने स्थिति आयो । दुई हजार तलबमा बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म काम गर्नुपर्थ्यो । विवाहपछि उनले अफिस समय घटाउने र सिनियर भइसकेकाले आठ घण्टा ड्युटीको पाँच हजार तलब माग गरिन् । आफ्नो माग पूरा नभएपछि उनलाई चित्त बुझेन र पाँच हजार तलब दिने ‘मिथिलाञ्चल एफएम’ मा गइन् । दुई वर्षपछि त्यहाँ पनि विवाद भयो, न्युज रुमका सबै टिमले एकै पटक रेडियो छाडे । उनी फेरि मिथिलाञ्चलमै फर्किइन् । रिंकु सात वर्षयता यहीँ कार्यरत छिन् । बीचमा उनले टेलिभिजनहरूमा पनि काम गरिन् ।

पुरुषहरू वैदेशिक रोजगारीमा गएपछि महिलाहरू घुम्टो खोलेर बाहिर आउन थालेको उनी बताउँछिन् । थपिन्, ‘चाहे त्यो विदेशबाट श्रीमान्ले पठाएको पैसा बैंकबाट छुटाउन होस् वा आफ्नै घर चलाउनुपर्ने बाध्यताका कारण, मधेसी महिला बाहिर निस्किन थाले । पछिल्लो समय मधेसमा छोरी पढाउनु गर्वको विषय बनेको छ । जुन हामीजस्ता अगुवाहरूको कामको प्रमाणीकरण र प्रभाव हो जस्तो लाग्छ ।’

सुरुवाती दिनमा उनी पैदल हिँडेरै रिपोर्टिङ गर्थिन् । पछि उनलाई जनकपुर बजारमा प्रायः साइकल र रिक्सामा रिपोर्टिङमा हिँडेको देखिन्थ्यो । पछिल्लो समय उनी स्कुटर चढ्न थालेकी छिन् । ०७२ को आन्दोलनपछि सहर बाहिर गाउँमा उनलाई रिपोर्टिङमा जानुपर्ने भयो । दिलीप यादव र नितु यादव बाल सहिदका आमाबुवा भेट्न जानुपर्ने थियो । जानकपुरबाट निस्किने बेला रिंकुलाई पुरुष सहकर्मीसँग जान लागेको देखेर कतिपयले फलानाकी श्रीमती त केटासँग सहर बाहिर जाँदैछे भनेर कुरा काटे । मानौं कि उनी कुनै नराम्रो काम गर्न जाँदैछिन् । यस्तो दशा उनले पटक–पटक भोग्नुपरेको सुनाउँछिन् । त्यति मात्र नभएर न्युज रुममा काम गर्दा र रिपोर्टिङमा हिँड्दा पनि धेरै खाले हिंसा भोगेको अनुभव छ उनीसँग । उनले भनिन्, ‘एकदिन न्युज बुलेटिन पढ्नुपर्ने थियो, न्युज रुममा म एक्लै थिएँ । एकजना पुरुष सहकर्मी आएर के–के कुरा गर्न थाल्नुभयो । उहाँको बोलीमा यौन दुर्व्यवहारको गन्ध आइरहेको थियो । त्यो दिन म राम्ररी न्युज पढ्न सकिन ।’ उमा सिंह हत्याकाण्डको विषयलाई लिएर पनि उनलाई विभिन्न धम्की आए तर आफू कहिल्यै विचलित नभएको बताइन् । त्यसबेला भयको वातावरण थियो । एफएममा काम गर्ने सबै पत्रकार महिलाले छाडेर गइसकेका थिए, पत्रकारितामा उनी एक्ली महिला थिइन् । रिपोर्टिङ गर्न जाँदा एक्लै महिला हुन्थिन् उनलाई अप्ठ्यारो महसुस हुन्थ्यो र पनि उनले आफूभित्रको साहसलाई डगमगाउन नदिई निरन्तर खटिरहिन् ।

उनले भनिन्, ‘मोफसलबाट मूलधारमा जान महिलालाई सहज छैन । उमा सिंहको हत्यापछि यहाँका पत्रकार महिला हराए । मैले भने पेसालाई निरन्तरता दिएकी छु । मलाई देखेर पुनः पत्रकारितामा महिला आउने क्रम बढेको छ । उति बेलै गाउँटोलमा भएका बहिनीहरूलाई ‘मिडियामा आऊ हामी सिकाउँछौं’ भन्थ्यौं । क्रियाशील पत्रकार महिलाको सदस्य भएपछि मैले धेरैलाई यो पेसामा जोड्न सकें । नेपाल पत्रकार महासंघको प्रदेशको उपाध्यक्ष रहेका बेला धेरै महिलालाई पत्रकारितामा ल्याउन सफल भइयो । क्रमशः यसरी महिला संख्या बढ्दै गयो । अहिले जनकपुरमा डेढ दर्जन पत्रकार महिला सक्रिय छन् ।’

पछिल्लो समय रिंकु ‘मिथिलाञ्चल एफएम’ को ‘युट्युव च्यानल’ मा ‘टक शो’ चलाउँछिन् भने रेडियोको काम त छँदैछ । उनी अडियो–भिडियो दुवै रिपोर्ट आफैं बनाउँछिन् । पत्रकारिताबाहेक उनी मिडिया काउन्सिलको सदस्य पनि हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै गरेकी उनकी १० वर्षीया छोरी अतिथि प्रिया छिन् । पत्रकारलाई व्यावसायिक बनाउने सवालमा उनले भनिन्, ‘मोफसलमा भएका पत्रकारहरूलाई लेखनसँग सम्बन्धित गुणस्तरीय तालिमको अझै खाँचो छ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>