Successfully Copied

भान्साका सारथि

पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ । अझ यसलाई पेसाकै रूपमा अपनाउनेहरूका लागि घरमा बिहान–बेलुका दुई छाक खाना पकाएजस्तो सजिलो छैन । घण्टौं उभिएर गर्नुपर्ने यो काम पुरुषमा भएको शारीरिक बलले सम्भव बनाएपनि महिलाका लागि भने गाह्रै छ । पछिल्लो समय महिलाहरू विभिन्न साहसिक र जोखिमपूर्ण पेसामा आउने क्रम बढ्दो छ । तिनैमध्ये पाककलामा संलग्न महिला सेफलाई नारीको यो अंकमा प्रस्तुत गरिएको छ ।

 

सरु सुर्खेती

सेफ, द एभरेस्ट होटल, बानेश्वर

कुकिङ (सेफ) पेसामा अवसर र भविष्य दुवै छ, तर चुनौती पनि उस्तै छ । पछिल्लो पुस्ता ‘फुड एक्सप्लोर’ गर्ने विषयमा धेरै अगाडि छन् । नेपालमा आफैंले सानो रेस्टुराँ मात्रै खोल्न सके पनि राम्रै आम्दानी गर्न सकिन्छ । श्रीमान्को मृत्युपछि मेरी आमा तारा सुर्खेतीले मलाई डाक्टर, इन्जिनियर बनाउन खोजेकी थिइन् । तर, मेरो मन पाककलामा बस्यो । सानैमा मलाई मीठा–मीठा परिकार बनाउन निकै चाख लाग्थ्यो । बीएचएमसम्म शिक्षा आर्जन गरे पनि मलाई केही समय फाइभ स्टारको अनुभव संगालौं भन्ने लाग्यो । १८ वर्षको उमेरदेखि नै मैले होटल म्यानेजमेन्ट तालिम लिएकी हुँ । पछि बिएचएम पढ्दै गर्दा अन्नपूर्ण होटलमा इन्टर्नका लागि पुगें । हाल म जे छु त्यो हुनुमा त्यहाँका डीसीडीपी सरको ठूलो हात छ । उहाँकै साथ, सहयोग, हौसला र प्रेरणाले म यो पेसामा टिक्न सकें । अन्यथा म १२–१६ घण्टा उभिएर काम गर्नुपर्दा कहिलेकाहीँ छोडिदिऊँ जस्तो लाग्थ्यो । 

घण्टौं उभिएर काम गर्नुपर्ने, भान्सामा चक्कु–छुरीजस्ता धारिला हतियारसँग खेल्नुपर्ने, आगोसँग हरहमेसा निकटता हुनेलगायतको जोखिम यो पेसामा छ । अन्नपूर्णपछि बत्तीसपुतलीस्थित ‘मिराज लर्डस इन’ मा डेढ वर्ष काम गरेपछि मैले बीचको केही समय विभिन्न रेस्टुराँको अनुभव बटुलें । हाल ‘द एभरेस्ट होटल’मा ‘कोल्ड सेक्सन’ (सलाद बनाउने ठाउँ) मा कार्यरत छु । यहाँ मैले विभिन्न किसिमका सलाद तयार पार्ने काम गर्छु । संसारभरका सलाद बनाउने काममा ‘एक्सपेरिमेन्ट’ गरिसकेकी छु । हामीले बुझेको साधारण सलाद भन्दा भिन्न र फरक आइटमका सलाद बनाउँछु । त्यसका लागि छुरी–चक्कु पहिलो आवश्यकता हो । तसर्थ म आफ्नो हात बसेको चक्कु ब्यागमा बोकेर हरेक दिन घरै लैजान्छु अनि अफिस आउँदा लिएरै आउँछु ।

यो पेसा चुनौतीपूर्ण भएपनि महिलाका लागि सुहाउँदो र सम्मानित छ । ‘फाइभ स्टार’ले दिने ८ घण्टे ड्युटी, नारी दिवस र महिनामा साढे दुई दिन अतिरिक्त बिदा, आकर्षक तलब तथा अन्य सुविधाले गर्दा महिलाका लागि यो पेसा उपयुक्त छ । म विभिन्न सोसल साइट, युट्युब हेरेर पृथक्मेनु आफैं क्रियट गर्छु । यो पेसामा समय, दृढता र एकाग्रता अत्यावश्यक कुरा हुन् । ४–५ घण्टाको सीप र कलालाई अन्तिमको एक मिनेटले बिगार्न सक्छ । तसर्थ संवेदनशीलता पनि उत्तिकै जरुरी छ ।× यसका लागि शारीरिक र मानसिक रूपमा शतप्रतिशत केन्द्रित हुनुपर्छ । यति गर्न सकिएन भने हाम्रो कला र सिर्जनशीलता यत्तिकै खेर जान्छ । सफल हुन गाह्रो हुन्छ । पकवानका लागि विभिन्न सामग्रीसँग खेल्न छुट्टै कला चाहिन्छ । नयाँ र पृथक् शैलीका रेसिपी तयार गरेर म आफ्नी आमा र आफन्तलाई खुवाउन रुचाउँछु । एकपटक मेरो हात तन्दुरमा काम गर्दा पोलियो । जलेको टाटो देखिने हुनाले कहिलेकसो पार्टी जाँदा मलाई हाफ लुगा लगाएर जान लाज लाग्छ ।तर पनि मैले जति चुनौती आइपरे पनि त्यसको सामना गर्दै आज म कलिलै उमेरमा प्रतिष्ठित ‘स्टार होटल’ मा आकर्षक आम्दानी र सेवा–सुविधामा रमाइरहेकी छु । अन्नपूर्णमा काम गर्दा म रातको ११ बजे घर फर्किन्थें । आमाले म नआएसम्म बाटो हेरेर बस्नुहुन्थ्यो, मैले गर्दा जहिले पनि उहाँको निद्रा बिथोलिन्थ्यो । त्यतिबेला निकै नराम्रो लाग्थ्यो । काम नै छोडिदिऊँजस्तो पनि लाग्थ्यो । मेरो सफलतामा आमाको ठूलो हात छ ।

मन्दुमाया वाइबा सेफ

शंकर होटल, लाजिम्पाट

आठ महिने छोरा छोडेर म काठमाडौंको बौद्धदेखि एकाबिहानै लाजिम्पाटस्थित शंकर होटल पुग्छु । ८ घण्टे ड्युटीमा रमाउँछु । तर, ठूलो पार्टी परेका बेला रातको एघार–बाह्र बजेसम्म होटलमै काम गरिरहन्छु । १८ वर्षदेखि सेफ पेसामा आबद्ध छु । सुरुमा तरकारी केलाउने, सरसफाइ गर्ने सहयोगीका रूपमा होटल शंकर प्रवेश गरेकी हुँ । त्यहीँ काम गर्दागर्दै कुकको तालिम लिएँ । बाह्र–पन्ध्र वर्षअघि त्यति महिला कुक थिएनन् । महिलाले होटलमा काम गर्नेभन्दा समाजको फरक दृष्टिकोण हुन्थ्यो । मैले यो पेसालाई गहन सीपका रूपमा बुझेकी छु । आफ्नो मेहनतको फल सबैलाई चखाउन पाउँदा म कामबाट सन्तुष्ट छु । 

डेजर्ट, पेस्ट्री, केक, कुजिजलगायतका बेकरी आइटमको डिजाइन, क्रियसन र बेकिङमा मेरो बढी रुचि छ । यसमा म पोख्त नै छु । अन्तर्राष्ट्रिय स्तरका पाककलाका भिडियो हेरेर अझ थप सिर्जनात्मक र स्वस्थ परिकार पस्किने ध्याउन्नमा म सधै रहन्छु । अतिथिलाई कसरी राम्रो खाना खुवाउने भन्नेमा मेरो सधै चिन्ता हुन्छ । खाना स्वादिष्ट हुनुका साथै स्वस्थ हुनु अत्यन्त जरुरी छ, जुन हाम्रो हातमा हुन्छ । लाखौं मानिसको स्वास्थ्य आफूमा निर्भर हुनु सानो कुरा होइन । त्यसैले यो पेसा निकै संवेदनशील छ । मानिस बाँच्नका लागि पहिलो आवश्यकता खाना हो । साथै मानिसको आयु कस्तो खाना खाइन्छ भन्नेमा निर्भर रहन्छ, त्यसैले हाम्रो पेसामा तन, मनका साथै समय लगाएर त्यसैमा दृढ हुनुपर्छ । त्यसैले पनि यसलाई सजिलो पेसा नभनिएको हुनसक्छ । 

बेकरी सेक्सनमा केकमा बुट्टा भर्दा किसिम–किसिमका नाइफ आवश्यक हुनाले म विभिन्न किसिमका चक्कु ड्रयरमा लुकाएर राख्छु । आफूमा भएको कला देखाउन मलाई मन लाग्छ । म हरहमेसा सिर्जनात्मक हुने प्रयासमा हुन्छु । खानालाई कसरी नयाँ शैली र डिजाइनमा ढाल्न सकिन्छ त्यसैमा चिन्तित हुन्छु । पारिवारिक र विशेष गरी श्रीमान्को सहयोगका कारण म यो पेसामा यति लामो समयसम्म टिक्न सकेकी हुँ । १६ घण्टा उभिएर काम गर्दा पनि मैले यो पेसा छोड्न सकेकी छैन । पछिल्लो समय पेसाले नाम, दाम र सामाजिक प्रतिष्ठा दिएकोमा म खुसी छु । उहिले भात पकाउने काम भनेर खिसी गर्थे तर कुकिङ काम पछिल्लो समय सम्मानित पेसा बनेकोमा म निकै खुसी छु । अस्ट्रेलियाली दूतावासले दिएको कुकिज–केक तालिमले मलाई आफ्नो कलालाई अझै निखार्न सहयोग गरेकाले म यही पेसामा जीवन बिताउन झनै हौसिएँ । त्यस्तै, शंकर होटलले महिलालाई दिएको अतिरिक्त सेवा–सुविधा र घरेलु वातावरणले पनि यो पेसा छोडेर अन्य कुनै पेसामा जान मन लाग्दैन ।

दीपा लामा सेफ

डी. पार्टी, होटल ह्यात रिजेन्सी बौद्ध

मलाई सानैदेखि घाँस–दाउरा गर्न जंगल जानभन्दा चुल्हो छेउको न्यानोमा बसेर नुन–बेसार, मरमसलासँग खेल्दै खाना पकाउन मन पर्थ्यो । हाल मेरो पेसा पनि त्यस्तै पर्‍यो–खाना पकाउने अर्थात् सेफ । मेरो परिवारमा मामादेखि दाजुभाइ सबै जना सेफ हुनुहुन्छ । सन् २००२ तिरको कुरा हो । मामा जर्मनमा कुकको काम गर्नुहुन्थ्यो । मलाई कुक तालिम गर्न जर्मन आउनुपर्छ भन्नुभयो । जर्मन जानका लागि तालिम लिन जमल पुगें । तालिम सकिएको केही समयपछि रेस्टुराँमा काम गरेपछि म सन् २००३ मा ‘फाइभ स्टार’ को अनुभव बटुल्न ‘ह्यात रिजेन्सी’ होटलमा पुगें । चाइनिज, कन्टिनेन्टल, थाई आदि धेरै किसिमका परिकार बनाउन सक्छु । १९ वर्षदेखि निरन्तर ह्यातमा भान्साका विभिन्न सेक्सनमा काम गर्दै म आफ्नो कला पस्किरहेकी छु । 

सुरुमा पार्टी–उत्सव, समारोहका बेला होटलमा धेरै काम हुन्थ्यो, घर पुग्न ढिला हुन्थ्यो । राति ढिलो घर पुग्दा होटलमा काम गर्ने महिला भनेर धेरैले झ्यालबाट हेर्थे, मानौं कि म कुनै नराम्रै काम गरेर आएकी हुँ । तर हाल अवस्था बदलिएको छ । यही पेसाकै कारण सम्मान मिलेको छ । कुकिङ पेसामा जोखिम उस्तै छ । धारिला हातहतियार, दन्किँदो आगो, धेरै ठूला भाँडा यी सबैको सामना गर्नुपर्छ । महिलाले त झनै महिनावारीलगायतका गाह्रो–साह्रोमा बढी नै चुनौतीको सामना गर्नुपर्छ । अगाडि दुईवटा अनि पछाडि दुईवटा गरी चार वटा चुल्होमा चार वटै प्यान बसालेर आठ सय जनाको पार्टीमा मैले एक्लैले अमलेट बनाएर पाहुनाहरूलाई ख्वाइसकेकी छु । त्यो क्षण सम्झिँदा मलाई ममा यस्तो सम्म खुबी रहेछ र ? भन्ने लाग्छ । यो पेसामा धैर्य, बल, आँट, साहस र दृढताको सम्मिश्रण हुनुपर्छ । यो सबै कुरा त चाहिन्छ नै त्यसबाहेक हामी महिला अत्यन्त सहनशील पनि छौं जसले यो पेसामा अगाडि बढ्न मद्दत गर्छ । त्यसैले त निरन्तर १६ घण्टा उभिएर काम गर्दा पनि यो पेसा छोड्न सकिएन । हँसमुख स्वभावकी दीपा सबैसँग समान व्यवहार गर्छिन्, आफूभन्दा जुनियरलाई विभिन्न ज्ञान बाँडिरहेकी हुन्छिन् । दुई बजे ड्युटी सकिए पनि म प्रायः चार बजेसम्म ह्यात होटलको भान्सामै हुन्छु । कार्यस्थलको परिवारमैत्री वातावरणले मलाई यही पेसामा बाँधेर राखेको छ । 

यो पेसा कतिसम्म जोखिम छ भन्ने सवालमा मेरो आफ्नै अनुभव छ । भान्सामा काम गर्दा धेरै पटक मेरा हात पोलिए । म कोल्ड सेक्सन (सलाद बनाउने ठाउँ) मा काम गर्थें । मैले बन्दाकोभी ठानेर मज्जाले बल लगाएँ तर त्यो नरम ‘आइस बग लेट्टयुस’ रहेछ । मेरो औंलाको टुप्पो धारिलो छुरीले काटियो । ह्वालह्वाल्ती रगत बग्न थाल्यो ।यस्ता विभिन्न घटना हुँदा पनि मैले यो पेसा छाड्न सकिन। म खाना फाल्न हुँदैन भन्ने सिद्धान्त मान्छु । पेसागत हिसाबले मजस्ता सेफहरूसँग धेरै मानिसको स्वास्थ्य जोडिएकाले यसबारे निकै सजग हुनुपर्छ । स्वस्थ, पोषणयुक्त र ताजा खाना पस्किनु नै हाम्रो पेसाको मूल धर्म हो । आफ्नो पेसागत धर्म अंगाल्दै यसैमा जीवन बिताउने मेरो रहर छ ।

एलिशा कुँवर सेफ

मेरियोट होटल, नक्साल, हात्तीसार

भान्सामा काम गर्दा मेरो देब्रे हात पोलियो । त्यसको कालो टाटो अझै पनि मेरो हातमा देखिन्छ । भान्सामा काम गर्दा यस्तो भइराख्छ । तर मलाई हाल ‘फाइभ स्टार’ होटलमा काम गर्ने ‘सेफ एलिशा’ भनेर सबैले चिन्दा गर्व महसुस हुन्छ । सबै दुःख बिर्सिन्छु । सन् २०१३ मा ॅहोटल याक एण्ड यति’मा कुकको तालिम लिएपछि मैले क्याफेरिना महाराजगञ्जमा काम गरें । त्यसपछि म माल्दिभ्स पुगें । उता ठीकै थियो तर आफ्नो कला प्रस्तुत गर्ने हुटहुटीले मलाई स्वदेश फर्किन मन लाग्यो । सन् २०१९ मा अन्तर्राष्ट्रिय फाइभ स्टार चेन मेरियोट खुलेदेखि म यहीँ कार्यरत छु । विदेश त सीप सिक्नका लागि मात्रै जाने हो । सबै युवा विदेश पलायन हुन थाले भने यहाँ कसले गर्छ ? यहाँ विभिन्न क्षेत्रमा दख्खल युवाको खाँचो छ । 

सेफ पेसामै आबद्ध ठूलाबुवा र मम्मीको कठोर मेहनत देखेर हुर्किएकी ममा त्यसैको बलियो छाप पर्‍यो र मलाई लाग्न थाल्यो बिनामेहनत कुनै कुरा सम्भव छैन । त्यसपछि मैले कडा मेहनत गर्न थालें । भन्न हुने हो वा नहुने हो, थाहा छैन–हाल ‘वेस्टर्न कन्टिनेन्टल’ खाना बनाउनमा निपुण भैसकेकी छु । विभिन्न चुनौतीका बाबजुद ‘मेरियोट’ले दिने आकर्षक तलब, सेवा, सुविधा र पहिचानले मलाई यो पेसामा अझ हौस्याएकै छ । म यही पेसामा अत्यन्त रमाइरहेकी छु । भान्सामा मलाई निकै रमाइलो लाग्छ । हरेक दिन तीनदेखि चार सय जनालाई ब्रेकफास्टमा एक्लैले अण्डाका विभिन्न परिकार पकाएर ख्वाइरहेकी छु । प्रसिद्ध भारतीय टिभी एंकर मनीष पलले मैले पकाएको खानाको निकै प्रशंसा गरे । त्यसपछि अझै प्रेरणा थपियो ।महिला भएकै कारण शारीरिकबाहेक अन्य हिसाबले कुनै विभेद खेप्नुपरेको छैन । महिनावारी र शारीरिक बलका हिसाबले भने यो पेसामा चुनौती नै छ । 

सुरुवाती दिन सम्झिँदा मलाई अनौठो लाग्छ । उतिबेला त होटलमा काम गर्ने भन्नेबित्तिकै भाँडा माझ्नै गएको होला भन्ने सोच थियो तर अहिले त्यस्तो छैन । समय र सोच दुवै बदलिएको छ । हाल यो पेसामा सम्मान र पहिचान दुवै छ । ‘फाइभ स्टार’को सेफ भन्दा सबैले सम्मान गर्छन् । घरपरिवार र इष्टमित्रकोमा पार्टी, सभा, समारोह, उत्सवका बेला यो त ‘सेफ’ हो यसले मीठो पकाउँछे भन्छन् । मलाई धैर्य, रुचि र सम्बन्धित ज्ञान यो क्षेत्रका लागि अत्यावश्यक कुरा हुन् भन्ने लाग्छ । म आफूलाई ‘अप टु डेट’ राख्न गुगल, युट्युब र पाककलासम्बन्धी विभिन्न पुस्तक अध्ययन गर्छु । ‘वेस्टर्न आलाकार्ट’ मा खेल्ने म यसै पेसामा ‘लेभल’ बढाउँदै लगेर आफूलाई अगाडि बढाउने योजनामा छु । यो पेसामा दक्ष व्यक्ति आफ्नै देशमा उत्पादन गर्न सकियो भने बाहिरबाट विज्ञ झिकाइराख्नु पर्दैन । आफ्नो देशको पैसा पनि बाहिर जाँदैन ।

 Image