Successfully Copied

जाडो बिदाको सदुपयोग

घरमा होस् वा विद्यालयमा बालबालिकाहरूलाई शारीरिक रूपमा चलायमान बनाइराख्नुपर्छ ।



जाडोमा बालबालिकाहरू अल्छी हुन्छन्, उनीहरूलाई कसरी सक्रिय बनाउने ?
घरमा होस् वा विद्यालयमा बालबालिकाहरूलाई शारीरिक रूपमा चलायमान बनाइराख्नुपर्छ । जाडोको छुट्टी भन्दैमा उनीहरूको लापरबाहीमा छुट दिनु हुँदैन । बेलुका समयमै सुताउने, बिहान ७ बजेसम्म उठाइसक्ने र समयमै ब्रेकफास्ट दिने गर्दा उनीहरूको शरीर मात्र नभएर दिमाग पनि तरोताजा रहन्छ । बालबालिकाहरूलाई आफूसँगै एक्सरसाइज गराएर वा डान्समा सहभागी भएर, खेलकुदमा भाग लिएर वा ग्याजेटभन्दा बाहिर रहेर अभिभावक आफू पनि उनीहरूसँगै सहभागी हुन सके उत्तम हुन्छ । समय मिलेको खण्डमा चिल्डे«न पार्कतिर घुमाउन लैजाने, सम्भव भएको स्थानमा बारीमा सँगै लिएर काम गर्न लैजाने गर्दा बालबालिकाले व्यावहारिक ज्ञान सिक्न सक्छन् । व्यावहारिक काममा सहभागी गराउँदा उनीहरू सक्रिय र स्वस्थ हुन्छन् ।
बालबालिकालाई छुट्टीको सदुपयोग कसरी गराउन सकिन्छ ?
आर्ट, कलरिङ, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलमा सहभागी गराउन सकिन्छ । बाल्टिनमा पानी भर्न लगाएर, तरकारी केलाउन लगाएर, रोटी पकाउँदा आटाको डल्लो पार्न लगाएर, भाँडाकुँडाको व्यवस्थापन गर्न लगाएर भान्साकै काममा पनि लगाउन सकिन्छ । उनीहरूको खुसीका लागि कहिलेकाहीँ घुमघाम तथा मुभी लिएर जान सकिन्छ । सकेसम्म बिदामा उनीहरूलाई नयाँ सिकाइका काममा लगाउन सकिन्छ ।
मनोरञ्जनका लागि के गराउँदा राम्रो हुन्छ ?
समय निकालेर टेलिभिजन वा हलमै मुभी हेर्न, घुमाउन लैजान सकिन्छ । राम्रा र सकारात्मक स्टोरी बुक रिडिङ गराउन सकिन्छ । अडियोमार्फत उत्प्रेरणामूलक कथा सुनाउन सकिन्छ वा अभिभावकलाई फुर्सद भएको खण्डमा लोककथाहरू पनि सुनाउन सकिन्छ । स्वस्थ र स्वादिष्ट परिकार घरमै बनाएर खुवाउँदा पनि बालबालिकाहरू खुसी हुन्छन् ।
ग्याजेटबाट कसरी छुटकारा दिलाउने ?
मुख्य कुरा त अभिभावकले बालबालिकालाई समय दिन नसक्नु नै यो समस्या निम्त्याउनु हो । अभिभावकले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ र व्यावहारिक क्रियाकलापमा सहभागी गराउनुपर्छ । अभिभावकहरू पनि बालबालिकाको अगाडि मोबाइलमा मात्र झुन्डिनुभएन । उनीहरूलाई सिर्जनात्मक र उत्पादनमूलक काममा लगाउनुपर्छ । कहिलेकाहीँ मनोरञ्जनका लागि निश्चित समय तोकेर खेल्न दिन सकिन्छ तर लत नै बस्ने गरी मोबाइल दिनुहुँदैन ।


जाडोमा बालबालिकालाई कस्ता क्रियाकलापमा लगाउनुपर्छ ?

बिहानको घाममा करिब १ घण्टा बस्दा फाइदा हुन्छ । साइकलिङ, टेनिस, ब्याडमिन्टन, स्किपिङलगायतका आउटडोर र इनडोर दुवै गेममा सहभागी गराउ“दा बालबालिका स्वस्थ हुन्छन् । यसरी गेम खेल्ने बालबालिकालाई पौष्टिकतत्व खान दिनुपर्छ र र आरामको पनि उत्तिकै आवश्यकता हुन्छ ।
छुट्टीमा बालबालिकाको मानसिक तथा भावनात्मक विकासका लागि के गराउनु उपयुक्त होला ?
मूल कुरा अभिभावकहरूले बालबालिकालाई आफ्ना कुरा सेयर गर्ने सहज वातावरण बनाइदिनुपर्छ । घरभित्र बालमैत्री वातावरण सिर्जना गरिदिनुपर्छ । बालबालिकालाई दबाब र तनावमा राख्नुहुँदैन । यो गर, त्यो नगर वा यो नबिगार भन्ने गर्दा उनीहरूले दबाब महसुस गर्छन्, आफ्ना कुरा सजिलै अभिभावकलाई भनिहाल्न सक्दैनन् । उनीहरूको मनोबल उच्च हुने काम गरिदिनुपर्छ । बालबालिकाले केही राम्रो काम गरेका छन् भने स्यावासी दिन र आफूलाई सघाएकोमा धन्यवाद भन्न बिर्सनु हुँदैन ।

कौशिला राई (प्रि प्राइमरी इन्चार्ज, इलिक्सर प्रि–स्कुल, कुमारीगाल)

 Image