Successfully Copied

शब्दभित्र सुलोचना

मनभित्र दमित भाव, अरुका दुःख–पीडा सुलोचनाकै कवितामार्फत व्यक्त हुन्थे । १७ वर्षदेखि लेखनमा समेत अत्यन्तै सक्रिय सुलोचनाका कविताको पाण्डुलिपि अष्टलक्ष्मी शाक्यको घरमा राखिएको थियो।

लाजिम्पाटको साँघुरो गल्लीबाट छिरेपछि ‘अक्षर’ देखापर्छ । त्यही अक्षरभित्र लेखक सुलोचना मानन्धर (६९) भेटिन्छिन् । सुलोचनाको घरको गेटमा खस्रो ढुँगामा ‘अक्षर’ कुँदिएको छ । विगतमा सक्रिय राजनीति र हाल सामाजिक कार्यमा समेत लागिपरेकी सुलोचना मूलतः शब्दसँगै खेल्न रुचाउँछिन् । हालसम्म उनका रात, नेपाल भाषाका नारी हस्ताक्षर, अर्को गोलाद्र्धका मनहरू, तेजोसी गरी १६ वटा पुस्तक प्रकाशित भइसकेका छन् तर श्रव्य–दृश्य दुवै काव्य जोड्दा भने १८ वटा पुग्छन् । सन् २०१४ मा प्रकाशित उनको कविता संग्रह ‘अनुभूतिका थोपाहरू’ बर्लिन जेब्रा इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेपछि अन्तर्राष्ट्रिय रूपमै प्रख्यात हुनपुग्यो । अन्ततः यसको भिसिडी न्यूयोर्कमा पुरस्कृत भयो । ‘सन्तान मात्रै होइन, आफूले जन्माएका प्रत्येक कुरा प्रिय हुँदा रहेछन् ।’ सुलोचना भन्छिन्–‘आफ्ना सिर्जना यसरी अन्तर्राष्ट्रिय रूपमा समेत सम्मानित हुँदा खुसी लाग्दोरहेछ ।’

बाल्यकाल र युवावस्था
झोंछेका पद्मदेव र चन्द्रमाया मानन्धरका तीन छोरीमध्ये सुलोचना कान्छी हुन् । उनी जन्मिएको आठ महिनामै उनका बुवाको मृत्यु भयो । एकल आमाद्वारा हुर्काइएका छोरीहरू बहादुर र साहसी हुन्छन् भनेझैं सुलोचनामा सानैदेखि लेखन र राजनीतिको चेत पस्यो । उनी भन्छिन्–‘उतिबेला राजनीतिमा होमिनु भनेको सुल्टो होइन, उल्टो बाटो हिँड्नु हो । मेरो परिवारमा कोही राजनीतिमा थिएनन् । मेरी आमालाई म राजनीतिमा लागेको मन परेको थिएन ।’ १८ वर्षकै उमेरमा उनको विवाहको तयारी भइसकेको थियो तर विचार नमिली विवाह नगर्ने सुलोचनाको अडानका कारण विवाह रोकियो । त्यतिबेला आफूले ठूलो क्रान्ति गर्नुपरेको उनी सम्झन्छिन् । २५ वर्षकी छोरी घरमा हुँदा बूढीकन्या भन्नेहरू पनि उत्तिकै थिए तर राजनीतिमा पूर्णरूपमा होमिएकी उनको उद्देश्य उतिबेलाको पीडा, उत्पीडन, विभेद र हिंसाबाट सबैलाई बाहिर निकाल्ने थियो । देश दुखिरहेका बेला मल्हम लाउने राजनीतिमै हो भन्ने लागेको थियो उनलाई । त्यसैले उनी सात कक्षा मात्रै पढेको भनेर बिस्कुट कारखानामा एप्रोन लगाएर मजदुर क्रान्ति गर्न पुगिन् । उनी भन्छिन्–‘जहाँ–जहाँ गयो बत्ती बलेको छ । अहिलेका नेतामा मै मात्रै लाउँलाउँ -खाउँखाउँ भन्ने प्रवृत्ति देखिएको छ, यो देख्दा दुःख लाग्छ ।’


चुनौती र संघर्ष
पूर्णरूपमा राजनीतिमा होमिएका कारण उनले एसएलसीपछि पढाइ अगाडि लैजान सकिनन् । पुण्यशोभा चित्रकार, मीरा धुजू, रवि चित्रकार समकालीन भए पनि अष्टलक्ष्मी शाक्य र सुलोचना मानन्धर सक्रिय रूपमा बाहिर देखिएका राजनीतिक योद्धाहरू थिए । ‘साहना दिदीहरू धेरै अगाडिका हुनुहुन्थ्यो तर त्यो बीचमा लामो ग्याप भयो । त्यसपछिका पुस्ता हामी नै थियौं । जीवन खोज्दै गर्दाको उमेरको जोस र जा“गर थियो त्यो । सही र असल उद्देश्यका लागि काम गरौं भन्ने भित्रैदेखिको भावना थियो । सबैको नीति राजनीति नै हो भन्ने बुझाइ थियो । नीति फेरिइसकेपछि सबै विभेद, उत्पीडन सकि“दै जान्छ भन्ने थियो । तर यसका लागि सहज थिएन । चुनौती र संघर्षका अग्ला पहाड अगाडि थिए ।’ विगत सम्झिँदै उनी भन्छिन्–‘मेरी आमाले उतिबेलाका नाम चलेका नेतालाई बचाउने, उपचार गर्ने, जाउलो पकाएर खुवाउने, जेलमा भेट्न जाने गर्नुभएको छ । तिनै संघर्ष र चुनौतीस“ग पौंठेजोरी खेल्ने साहस गरेकैले कतिपय कुरामा परिवर्तन आए । नेताहरू त्यसै नेता भएका होइनन्, हाम्रो साथ–सहयोग, सर्मपण, योगदान र लगानी प्रशस्त छ ।’ राजनीतिक क्रान्तिकै यात्रामा एकजना मजदुर नेताकी बिरामी आमालाई भक्तपुर अस्पतालमा भेट्न जाँदा डा. सरोज धितालसँग उनको भेट भयो । पछि तिनै डाक्टर क्रान्तिका लागि ‘दर्शन’ को क्लास दिन आउँदा चिनाजानी बढ्दै गयो । ०३७ सालमा भेटेका उनीहरूबीच विचार र सिद्धान्त मिल्दै जाँदा ०३८ मा विवाह भयो । विवाहको दुई वर्षपछि डा. सरोज भूमिगत भए, त्यसको एक वर्षपछि मात्रै सरोजको परिवारले सुलोचनालाई घर भिœयाए । सरोज भूमिगत हुँदा सुलोचना गर्भवती थिइन् । त्यस्तो अवस्थामा पनि उनले स्कुलमा पढाँउछिन् । भन्छिन्–‘त्यस्तो अवस्थामा श्रीमान् साथमा नहु“दाको दुःख त थियो नै साथै आर्थिक शंकट पनि बेहोर्नुप¥यो । तर पनि मैले सबै दुःख बिर्सिदै गएँ । दुःख र चुनौतीमा पनि म रमाएँ ।’ विवाहपछि नै सुलोचनाले आइए पास गरिन् । जेठी छोरी जन्मिएपछि चीनमा बसेर चिनियाँ भाषा र साहित्य’ मा डिप्लोमा गरिन् । चीनको पाँच वर्षे बसाइमा उनले नेपालबारे संसारभरका पत्रपत्रिकामा थुप्रै लेख लेखिन् । उतिबेला उनका लेखहरू जापान, नर्वे, नेदरल्यान्डमा त्यहीँका स्थानीय भाषामा छापिन्थे । नेपाल फर्किएपछि उनले त्रि.वि.बाट नेवारी साहित्यमा स्नातकोत्तर गरिन् ।

साहित्यिक यात्रा
बाल्यकालदेखि नै साहित्यमा रुचि भएकी सुलोचना आफ्नी हजुरआमाको कविता लेखनबाट प्रभावित थिइन् । चार भाषामा विज्ञ आफ्नी हजुरआमाको स्मरणमा केही शब्द खर्चिने मन गर्दै उनी भन्छिन्–‘उहाँ लेखन, साहित्य र भाषामा अब्बल हुनुहुन्थ्यो । मेरा बुवा बाँचिबक्सेको भए उहाँ पनि उस्तै हुनुहुन्थ्यो होला । हजुरआमाको उतिबेलाको त्यो आँट र व्यक्तित्वसँग म निकै प्रभावित थिएँ ।’ मनभित्र दमित भाव, अरुका दुःख–पीडा सुलोचनाकै कवितामार्फत व्यक्त हुन्थे । १७ वर्षदेखि लेखनमा समेत अत्यन्तै सक्रिय सुलोचनाका कविताको पाण्डुलिपि अष्टलक्ष्मी शाक्यको घरमा राखिएको थियो । ०३३ सालमा गोपाल शाक्य, प्रदीप नेपालहरूले जेल तोड्दा अष्टलक्ष्मीको घरमा छापा मार्दा सुलोचनाका सबै कविता अष्टका बहिनीहरूले इनारमा फालिदिए । उनी भन्छिन्–‘त्यतिबेला असाध्यै चित्त दुख्यो । त्यसपछि लामो समयसम्म लेख्दै लेखिन । एकैपटक ०५० सालमा आएर फेरि लेखें । ०५१ सालदेखि दृष्टि र ०५२ सालदेखि बुधबार साप्ताहिकमा ‘सम्पूर्ण आकाश’ स्तम्भ लेख्न थालें जुन अहिले पनि निरन्तर जारी छ । त्यसबाहेक उनलाई प्रत्येक आइतबार रेडियो सगरमाथामा सुन्न सकिन्छ । श्रीमान् डा. सरोज उतिबेलादेखिकै उनको लेखनका प्रेरक हुन् ।

जीवनको उपलब्धि
जीवनका विविध भोगाइ र अनुभवलाई नै उपलब्धि ठान्ने सुलोचना आफूले जीवनमा थुप्रै अनुभवको संगालो मन र मस्तिष्कभित्र राख्न सफल हुँदा जीवन धन्य भएको ठान्छिन् । भन्छिन्–‘यो जीवनमा के मात्रै देखिएन, के मात्रै भोगिएन, के मात्रै गरिएन यो देश र जनताका लागि ?’ जीवन भनेको पाइनसक्नुको वरदान हो भन्ने उनलाई लाग्छ । मनपर्छ भन्दैमा जीवन पाइने कुरा होइन भन्ने उनको तर्क छ । उनलाई यो उमेरसम्म आइपुग्दा लाग्छ ‘मैले जीवन बाँचें, जीवन मात्रै नभएर सार्थक जीवन बाँचें’ । जीवन र संसारलाई प्रेम, करुणा र ज्ञानले हेर्न सक्नुपर्छ भन्ने बताउने सुलोचनाका दुई छोरी छन् ।

आबद्धता

सुलोचना मदन पुरस्कार गुठीको सदस्य भएर काम गरेको लामो समय भइसक्यो । ०६६ सालदेखि प्रज्ञा प्रतिष्ठानमा परिषद् सदस्य भएर चार वर्ष काम गरेकी उनी गुञ्जन महिला साहित्यकार संस्थाको संस्थापक सदस्य पनि हुन् । अहिले उनको ज्येष्ठ नागरिक महासंघमा पनि सक्रियता बढेको छ । ज्येष्ठ नागरिक सञ्जालमा बसेर काम गर्दै जाँदा अहिले अँएर ज्येष्ठ नागरिकका मुद्दा र आवाज सुनुवाइ हुन थालेको र उनीहरूका बारेमा कुरा गरिन थालेकोमा उनलाई खुसी लाग्छ ।


योजना
अब उत्तराद्र्धको अनुभव लेख्ने उनको मुख्य योजना हो । भन्छिन्–‘खुसी हुन चाहन्छु, खुसी बनाउन चाहन्छु ।’

मनपर्ने पुस्तक - मिङयु रिम्पोछेको ‘ज्युँनुको मज्जा’ (नेपाली अनुवादक डा.सरोज धिताल)
मनपर्ने लेखक- नर्वेका लेखक इब्सन, जसले संसारभर प्रख्यात नारी क्रान्तिकारी पुस्तक ‘पुतलीको घर’ लेखे ।
मनपर्ने पुस्तक पात्र- ऐठनका बबनकुमार ।
प्रभाव छाड्न सफल व्यक्ति- धेरै छन् तीमध्ये पनि एक मेरा श्रीमान् ।
प्रभावशाली राजनीतिज्ञ- नेल्सन मण्डेला ।
नारीका लागी सन्देश- शिक्षा र चेतना आवश्यक छ ।

 Image