Successfully Copied

सिट्रस फलको हेरचाह

सिट्रस फलको स्वाद अमिलो हुन्छ । यसमा सुन्तला, कागती, भोगटे, मुन्तला, निम्बु, जुनार, मौसम आदि पर्छन् । यी फलमा विभिन्न प्रकारका पोषकतत्व पाइन्छ ।



सिट्रस फलको स्वाद अमिलो हुन्छ । यसमा सुन्तला, कागती, भोगटे, मुन्तला, निम्बु, जुनार, मौसम आदि पर्छन् । यी फलमा विभिन्न प्रकारका पोषकतत्व पाइन्छ । त्यसैले स्वास्थ्यको दृष्टिकोणले यसको सेवन निकै फाइदाजनक मानिन्छ । यी फलमा भिटामिन सीको राम्रो स्रोत पाइन्छ । त्यसबाहेक डाइट्री फाइबर, पोटासियम, फोलेट, क्याल्सियम, कपर आदि पाइन्छ । यी फलहरू घरको छत वा कौसीमा पनि लगाउन सकिन्छ । सानो ठाउँमा पनि रोपेर फलाउन सकिन्छ । भक्तपुर–सानोठिमीकी सरस्वती पोखरेलले छतमा तरकारी र केही फलफूल लगाएकी छिन् । उनले छतमै कागती, मुन्तला, निबुवा फलाउने गरेकी छिन् । उनलाई कौसी खेती गर्न एकदमै रहर लाग्छ । उनले घरमै तरकारीको बोक्राको कम्पोस्ट मल तयार पार्छिन् । उनी भन्छिन्, ‘आफैले रोपेको तरकारी र फलफूल फल्दा एकदमै रमाइलो लाग्छ ।’
त्यस्तै, गोल्फुटार निवासी पवित्रा लिम्बूले आफ्नो बगैंचामा भोगटे, मुन्तला र कागती रोपेकी छिन् । घरको कतै पनि खाली भाग राखेकी छैनन् । धनियाँ, टमाटर, काउली, बन्दा, सिमी, खुर्सानी आदि तरकारी पनि लगाएकी छिन् । उनी भन्छिन्, ‘आफूले रोपेका फलफूलमा कुनै विषादी हुँदैन । यीफलफूललाई हेरचाहको आवश्यकता पनि पर्दैन ।’

 सही ठाउँको छनोट
फलफूलका बिरुवा लगाउन सही ठाउँ छनोट गर्नुपर्छ। बिरुवाको वृद्धि विकासका लागि सूर्यको प्रकाश जरुरी हुन्छ । यी फलहरू प्रशस्त घाम लाग्ने ठाउँ तथा पानी दिन सजिलो पर्ने ठाउँमा रोप्नुपर्छ । घाम नपर्ने ओसिलो र अँध्यारो ठाउँमा बिरुवाहरू राम्रोसँग सप्रिँदैनन् । त्यसका साथै बिरुवा रोपेको ठाउँमा हावा ओहोरदोहोर हुने र घाम पर्ने ठाउँको छनोट गर्नुपर्छ ।

कस्तो माटो उपयोगी ?
घरको छत वा कौसीमा बिरुवा लगाउँदा माटो हल्का र खुलुको हुनुपर्छ । माटो धेरै कसिलो हुनुहुँदैन । कसिलो माटोमा जरा फैलन पाउँदैन । बिरुवा रोप्दा बलौटे माटो उपयुक्त हुन्छ । बिरुवा रोप्न माटो तयार पार्दा दुई भाग माटो, एक भाग बालुवा र एक भाग कम्पोस्ट मल तयार पार्नुपर्छ । यो मललाई मसिनो गरी चाल्नुपर्छ । डल्लाहरू फुटाउनुपर्छ । त्यसबाहेक कोकोपिट, भर्मीकम्पोस्टको प्रयोग पनि गर्न सकिन्छ ।


सही मात्रामा पानीको प्रयोग
बिरुवाको वृद्धि विकासका लागि पानी आवश्यक हुन्छ । बिरुवालाई कति मात्रामा पानी दिने भन्ने कुरा बाष्पीकरणमा निर्भर गर्छ । बाहिर दिनभर घाम पर्ने ठाउँमा र घाम नपर्ने ठाउँको बिरुवाको बाष्पीकरण फरक हुन्छ । त्यस्तै बिरुवालाई मौसमअनुसार पानीदिनुपर्ने हुन्छ । गर्मीमा बिरुवालाई बढी पानीको आवश्यकता पर्छ भने जाडो मौसममा कम पर्छ । वर्षामा अझै कम पानीको आवश्यकता पर्छ । हप्तामा एकपटक वा माटो सुकेपछि मात्र पानी हाल्न सकिन्छ । फूल फुल्न थालेपछि बिरुवालाई पहिलेभन्दा बढी पानीको आवश्यकता पर्छ । धेरै पानी हाल्दा बिरुवाको जरा कुहिने डर हुन्छ ।

हेरचाह कसरी गर्ने ?
फलफूलका बिरुवालाई उचित स्याहारसुसारको आवश्यकता पर्छ । सही माटो, मल, पानी, घाम आदि सबैको मात्रा सही हुनुपर्छ । जाडो मौसममा बोटबिरुवालाई गर्मी मौसममा जस्तो धेरै हेरचाह गर्नु पर्दैन । किनभने चिसोमा बिरुवाको जरा फैलदैन । तर गर्मी महिनामा दैनिक वा दिन बिराएर पानी दिनुपर्छ । बिरुवालाई समय–समयमा गोडमेल भने गरिराख्नुपर्छ । माटो सुख्खा हुँदा जराले हावा सोस्न सक्दैन । त्यसैले बेलाबेलामा माटोलाई कोट्याइदिनुपर्छ । बिरुवामा कीरा पर्न दिनुहुँदैन। बजारमा निमको पाउडर पाइन्छ । कीराबाट बचाउन यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै, बिरुवाको जरा वरिपरि महिनाको एकपटक मल हालिदिनुपर्छ ।

कीराबाट कसरी बचाउने ?
बिरुवामा कीरा लाग्न नदिन माटोको तयारी गर्दा नै ध्यान दिनुपर्छ । बिरुवा रोप्न तयार पारिएको माटो संक्रमित छ भने बिरुवामा कीरा पर्ने सम्भावना धेरै हुन्छ । बिरुवामा माथिबाट नगलेको मल, चियापक्ती, मासुको हड्डी, अण्डाको बोत्रा राख्नुहुँदेन । यसले फंगस तथा ब्याक्टेरिया आउँछ । भान्साबाट निस्किएको तरकारी एवं फलफूलका बोक्रालाई गलेपछि मात्र प्रयोग गर्नुपर्छ । कीरा लागेमा किटनाशक औषधि प्रयोग गर्न सकिन्छ ।

 Image