Successfully Copied

पहिलो महिला राष्ट्रिय च्याम्पियनले स्थापना गरे हिमालयन चेस एकेडेमी

युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा उद्घाटन भएको छ ।


युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा उद्घाटन भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले संयुक्त रुपमा एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु राम्रो हो । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास लिएको छु । बालबालिकालाई चेस प्रशिक्षणले बौद्धिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसतर्फ पनि एकेडेमीले नेतृत्व गर्नेछ ।’
२०३६, ०३७ र ०३९ का च्याम्पियन लामाले भने, ‘हाम्रो पालोमा चेस खेल्न र खेल सामग्री जुटाउन पनि गाह्रो थियो । अहिले सहज छ । एकेडेमी स्थापनाले चेसको सिकाईलाई थप सहज बनाउने छ । यस हिमालयन चेस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने अपेक्षा गरेको छु ।’
नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागी भएका थिए ।
महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उनले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी ।
‘सबैले चेस खेल्न मिल्ने खालको लैंगिकमैत्री र सुरक्षित स्थल छैन, त्यससागै अहिलेको पुस्तामा बौद्धिक ढंगले सोंच्नसक्ने संस्कृति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती दिनसक्ने नेपाली खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको हो,’ अध्यक्ष खम्बूले भनिन्, ‘ सानै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञात्मक विकास (कग्निटिभ डेभ्लोप्मेन्ट), धैर्य गर्नसक्ने क्षमताको विकास हुन्छ । त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो ।’


एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ । त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका रहेका छन् । फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार कोर्स बनाएर प्रशिक्षण दिनेछ । एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरू रुपेश जैयसवाल र सुजना लोहनी तथा मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरि, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन् ।

 Image