Successfully Copied

अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा

सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो ।


प्रेरणा श्रेष्ठले ललितपुरको आदर्श विद्या मन्दिरबाट एसएलसी र बूढानीलकण्ठबाट ओ र ए लेभल पूरा गरेपछि छात्रवृत्ति पाएपछि उनी थप अध्ययनका लागि अमेरिकास्थित लिवरल आर्ट कलेजमा बायोकेमेस्ट्री पढ्न गइन् । छात्रवृत्ति पाएपछि चिकित्सक बन्ने अभिप्रायले मेडिकल स्कुलमा क्लास लिन सुरु गरेपनि उनको रुचि अध्ययन–अनुसन्धानमै थियो । यही सिलसिलामा सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो । आफ्नो रुचिको विषय भएकाले उनले ल्याबमा मानव विज्ञानसँगै मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न सफल भइन् । मलाई हावर्ड युनिभर्सिटीले ल्याबमा अवसर दिएकाले यो सम्भव भएको हो ।
करिअरमा आएको परिवर्तनबारे उनले भनिन्–थप अध्ययन गर्ने र बायोकेमेस्ट्रीमा सिकेको सीपलाई मस्तिष्क विज्ञानसँग मर्ज गर्ने बाटो पहिल्याउन सफल भएको महसुस भयो ।
कडा परिश्रम, निरन्तर अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा पिएचडी उपाधि हासिल गर्न उनी सफल भइन् । त्यसपछि अनुसन्धानको दायरा ठूलो बनाउन उनले सन् २०२१ मा स्थापना गरेको श्रेष्ठ ल्याब न्यूयोर्कमा मानव मस्तिष्कको अध्ययन गर्ने एक प्रमुख अनुसन्धान केन्द्रका रूपमा चर्चित छ ।
साथै अमेरिकी सरकारी निकाय नेसनल इस्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर (करिब २९ करोड २५ लाख) रकम उपलब्ध गराउने भएकाले प्रेरणाको चर्चा झनै चुलिएको छ । उनी भन्छिन्, ‘मैले यसलाई जीवनमा प्राप्त भएको विशेष पुरस्कारका रूपमा लिएकी छु । नेसनल इस्टिच्युट अफ मेन्टल हेल्थबाट अनुसन्धान वृत्ति पाउन अध्येताहरूलाई दसौं वर्ष पनि लाग्छ तर मैले छोटो समयमै प्राप्त गरें ।’ अनुसन्धान वृत्तिले उनको नेतृत्वमा रहेको समूहले मानव मस्तिष्कले कुनै घटना वा दुर्घटनाको नकारात्मक पक्षलाई लामो समयसम्म आफ्नो स्मरणमा किन राख्छ भन्ने विषय अध्ययन गर्नेछ । उनी थप्छिन्,–मानव जीवनमा घटेको कुनै घटना मस्तिष्कमा लामो समयसम्म बस्दै गर्दा त्यसले मानिसहरूमा मनोवैज्ञानिक सन्त्रास सिर्जना गर्छ र उनीहरू जीवनभर बिरामी हुने अवस्था रहन्छ।
प्रेरणा यस विषयलाई गहिरो अध्ययन गरी मानिसहरूलाई जीवनभरिको भोगाइलाई कम गर्न सकिन्छ कि भनेर अनुसन्धान गरिने बताउ“छिन् ।
उक्त अध्ययनका लागि मानिसहरूको आनीबानीसँग मिल्ने मुसाहरूमा एक विशेष प्रकारको टुल्स राखेर उनको टिमले अध्ययन गर्नेछ । आगामी तीन वर्षसम्म चल्ने यो अध्ययनको निष्कर्षका लागि भने केही समय कुर्नुपर्ने हुन्छ । लगनशीलता र कामप्रतिको इमान्दारिताले नै सफलता हात पारेको बताउने प्रेरणा भावी पुस्ताका लागि काममा निरन्तरता दिन सुझाव दिन्छिन् । परिवारसहित न्यूयोर्कमा बस्दै आएकी उनी स्टोनी बु्रक युनिभर्सिटीमा न्यूरो बायोलोजी र विहेभियर विभागमा कार्यरत छिन् । साथै उनले मानव जातिकै लागि प्रेरणादायक काम गरिरहेकी छिन् ।

मधुकर अधिकारी

 Image