Successfully Copied

व्यक्तिमा सौन्दर्य सचेतना आवश्यक

चर्चित र विशेषज्ञ चिकित्सकका तस्बिरको दुरुपयोग गरी विज्ञापन गर्दै मानिसहरूलाई झुक्याउने गरेको पनि पाइन्छ ।


डा. रूपक घिमिरे

पछिल्लो समय व्यक्तिहरूमा सौन्दर्य चेतना बढ्दै गएको छ । विभिन्न तरिकाले उपचार गर्ने प्रवृत्ति पनि बढ्दो छ । सौन्दर्यका लागि नयाँ–नयाँ प्रविधिहरू पनि भित्रिन थालेका छन् ।

बढ्दो प्रविधि तर सौन्दर्य चेतनाको नाममा व्यक्तिहरू हल्लाको पछाडि लागेर छाला राम्रो हुने भन्दै पछि लागेका छन् । उपचार गर्ने र राम्रो बन्ने चाहनामा जथाभावी उपचार गर्नेहरू पनि बढेकै छन् । सामाजिक सञ्जालको बढ्दो प्र्रयोगले यस्ता कुराहरूलाई प्रश्रय दिइरहेका छन् । विभिन्न प्रकारका विज्ञापनले पनि आकर्षित गइरहेको देखिन्छ । चर्चित र विशेषज्ञ चिकित्सकका तस्बिरको दुरुपयोग गरी विज्ञापन गर्दै मानिसहरूलाई झुक्याउने गरेको पनि पाइन्छ । यतिसम्म छ कि सेतो कोट लगाएर ‘डाक्टर हँ, भन्नेहरूको भीड उस्तै छ । डाक्टरको नाममा विभिन्न ‘पार्लर टेक्निसियन’ हरूले अनेकौं बहाना बनाई ग्राहकहरूलाई झुक्याउँदै आएका छन् । चायाँ–पोतो हटाउने नाममा व्यक्तिहरूले जथाभावी क्रिम लगाउने गरेका छन् ।

कस्तो क्रिम लगाइरहेको छु, यसको असर के हुन्छ भन्नेबारे व्यक्तिलाई जानकारी नै हुँदैन । कसैले भनेको वा सोसल मिडियामा देखेको आधारमा उपचार गराउने गलत ट्रेन्ड बस्दै गएको छ, जुन गलत हो । पछिल्लो समय ‘हाइड्रा फेसियल’ गर्नेहरूको संख्या बढेको छ । तर, यो ‘फेसियल’ का लागि मानिसहरू चिकित्सककोमा भन्दा पनि पार्लर जाने गरेका छन् । कस्तो ‘फेसियल’ गर्ने, आफ्नो अनुहारमा गर्न मिल्छ कि मिल्दैन ? कस्तो व्यक्तिले यस्तो फेसियल गर्न सक्छ? आदि विषयमा कसैले खासै चासो राखेको देखिँदैन । यसले विभिन्न समस्या देखा पर्ने गरेको छ । अनुहारको छालामा विभिन्न दाग देखा परेका समस्याहरू लिएर चिकित्सकहरूमा पुग्ने गरेका छन् । मानिसहरू अरुको पछि लागेर जस्तो पनि उपचार गर्न र बजारमा रहेका क्रिमहरू लगाउन हौसिनु हुँदैन ।

उपचार गर्दा चिकित्सक हो÷होइन भन्ने कुराको जानकारी राख्दै सचेत हुन जरुरी छ । आफूलाई उपचार मन नपरेमा काउन्सिलमा उजुरी गर्न सकिन्छ । यसप्रति व्यक्ति सधै चनाखो रहनुपर्छ । चिकित्सक हुनका लागि काउन्सिलमा दर्ता हुनुपर्छ । यी सबै हरेक व्यक्तिले बुझ्न आवश्यक छ ।

(डा. रूपक, छाला रोग विशेषज्ञ का साथै आवरण स्किन क्लिनिकका सञ्चालक हुन् )

 Image