Successfully Copied

गोदावरी फूलको कटिङ कसरी राख्ने ?

यसलाई हेरचाह गर्न, हुर्काउन, फुलाउन धेरै मेहनत गर्नु पर्दैन । यो अन्य फूल नफुल्ने सिजनमा पनि फुल्ने भएकालेबढी लोकप्रिय छ ।


गोदावरी फूल धेरै प्रजातिका भएकाले अत्यधिक रुचाइन्छ । यसको रंग, आकार, डिजाइनमा विविधता पाइन्छ । यसलाई हेरचाह गर्न, हुर्काउन, फुलाउन धेरै मेहनत गर्नु पर्दैन । यो अन्य फूल नफुल्ने सिजनमा पनि फुल्ने भएकालेबढी लोकप्रिय छ । यसो त गोदावरीलाई प्रकाश र तापक्रम नियन्त्रण गरेर बाह्रै महिना फुलाउन सकिन्छ । विशेषगरी यो फूल असोज–कात्तिकमा फुल्छ ।
जापानको राष्ट्रिय फूलसमेत रहेको गोदावरीको यतिबेला कटिङ गर्ने मौसम हो । यसलाई गमला तथा जमिन दुवैमा फुलाउन सकिन्छ । तर, पानीको निकास राम्रो भएको हुनुपर्छ । ‘कट फ्लावर’ का लागि समेत गोदावरीको प्रयोग हुने गरेको छ । ‘कट फ्लावर’मा गुलाब, ‘कार्नेसन’ पछि गोदावरीको माग हुन्छ । व्यावसायिक रूपमा यसको खेती गर्न सकिन्छ । गोदावरी फूलको कटिङ कसरी गर्ने ? माटो कस्तो हुनुपर्छ ? पानी कहिले र कति दिने ? हेरचाह कसरी गर्ने ? भन्नेबारे फूल व्यवसायी निमा लामासँग गरिएको कुराकानीः

कटिङका लागि
गोदावरीको पुरानो बोटबाट टुप्पा चुँडाएर रोप्नुपर्छ । यसका लागि दुईदेखि तीन वटासम्म पात भएको हुनुपर्छ । त्यसपछि बाँकीको भागलाई एउटा–एउटा पात राखेर छड्के गर्दै काट्नुपर्छ र बलौटे माटोमा रोप्नुपर्छ । रोप्नेबित्तिकै पानी हालिदिनुपर्छ । धेरै घाम पर्ने स्थानमा यसको कटिङ राख्नुहुँदैन । तीनदेखि चार सातासम्म यसमा जरा आउन र मुना पलाउन थाल्छ । त्यसपछि गमला वा ‘ग्रो ब्याग’ मा सार्न सकिन्छ । गोदावरीको बीउ प्रयोग गरेर पनि बिरुवा उत्पादन गर्न सकिन्छ । तर, यसरी बिरुवा कम उम्रन्छ ।


तामक्रम कस्तो हुनुपर्छ ?
गोदावरी फूलका लागि दिउँसोको तामक्रम २२ डिग्री सेल्सियस र रातिको १६ डिग्री सेल्सियस उपयुक्त हुन्छ । कोपिला लाग्ने समयमा भने २४–२७ डिग्री सेल्सियस भए उपयुक्त हुन्छ । ग्रिन हाउसभित्र गरिने गोदावरी फूल खेतीका लागि अलिक कम तापक्रम भए पनि पुग्छ ।





माटो कस्तो हुनुपर्छ ?
यो फूलको कटिङ राख्नका लागि बलौटे माटो उपयुक्त हुन्छ । कटिङ सार्ने बेलामा भने बलौटे माटोमा कम्पोस्ट मल मिसाएर रोप्नुपर्छ । फूल फुल्ने बेलामा एकपटक मल हालिदिनुपर्छ ।


पानी कहिले दिने ?

मौसम हेरी गोदावरी फूलमा पानी हाल्नुपर्छ । अन्य फूलको तुलनामा यसलाई पानीको धेरै आवश्यकता पर्छ । पानी जम्न दिनुहुँदैन । त्यसैले एकैपटकमा धेरै पानी हाल्नु हुँदैन । कटिङलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नुपर्छ ।



हेरचाह कसरी गर्ने ?
गोदावरीलाई धेरै स्याहारसुसारको आवश्यकता पर्दैन । दिनमा ५–६ घण्टा घाम पर्ने ठाउँमा यो फूल राम्रोसँग फुल्छ । इन्डोर राख्दा झ्यालको छेउमा घामको प्रकाश प्रशस्त पर्ने ठाउँमा राख्न सकिन्छ । जमिनमा रोप्दा दिनभरिको घामले फूल ओइलाउन सक्छ । त्यसैले दिनहँु पानी हाल्नुपर्छ । झारपात आउनासाथ गोडमेल गर्नुपर्छ । यसले माटोलाई खुकुलो बनाउँछ र बिरुवाको वृद्धि विकास राम्रोसँग हुन्छ ।

फूल फुल्ने बेला भएपछि लठ्ठी राखेर बिरुवालाई अड्याई बाँधिदिनुपर्छ । यसले बिरुवा ढल्न पाउ“दैन र फूल राम्रोसँग फुल्छ । लठ्ठी राख्दा भने बिरुवाको जरालाई असर नपर्ने गरी राख्नुपर्छ । गोदावरी विभिन्न प्रजातिको हुन्छ । कुनै स–सानो तर धेरै थुँगा लागेर फुल्ने हुन्छ भने कुनै एउटा मात्र फुलाउने सकिने हुन्छ । एउटै मात्र फुलाउने प्रजातिको गोदावरीलाई एउटा मात्र कोपिला राखेर अरु कोपिला चँुडिदिनुपर्छ, यसले ठूलो थुँगा फुल्छ । स–साना फूल धेरै फुलाउनका लागि पिन्चिङ गर्नुपर्छ । यसले बिरुवाको उचाइ कम गर्छ र हाँगाहरू धेरै फैलाउँछन् । त्यसका लागि करिब ५–६ इन्च रहने गरीटुप्पा नरम छँदै चिमोट्नुपर्छ । यसरी टुप्पो चुँड्दा बिरुवाले हाँगा धेरै फैलाउँछ । पिन्चिङ गर्दा बिरुवा रोपेको कम्तीमा पनि तीन साता पुग्नुपर्छ । दोस्रोपटक पाँच साता पुगेपछि गर्नुपर्छ ।

 

गोदावरी फूल सामान्यतया बिरुवा रोपेको पाँचदेखि छ सातामा फुल्छ । गोदावरी फूल जातअनुसार फुल्ने समय फरक–फरक हुन्छ । कट फ्लावरका लागि करिब १० से.मि. माथिबाट डाँठ काट्नुपर्छ । बिहान काटेको फूलभन्दा दिउासो काटेको फूल धेरै दिनसम्म टिक्छ । 

 Image