Successfully Copied

‘टन्नै खाएर तौल घटाउन सकिन्छ’

यो बिहान–बेलुका खाना खाएर तौल घटाउने विधि हो । उचाइअनुसारको तौल हुनेबित्तिकै शरीर हल्का र दीर्घरोगको जोखिमबाट बच्न सकिन्छ ।


डा. डम्बरबहादुर सुनुवार
अध्यक्ष, होलिस्टिक युनिभर्सल हस्पिटल

प्राकृतिक उपचार कति प्रभावकारी हुन्छ ?

यो एकदमै प्रभावकारी हुन्छ । यो पुरानो उपचार पद्धति भए पनि त्यति प्रचलनमा नआइसकेको मात्र हो । प्राकृतिक विधिबाट उपचार गराइने भएकाले पछिल्लो समय यो विधि अपनाउने धेरै छन् । यसको साइडइफेक्ट पनि नहुने र शरीरलाई कुनै पनि प्रकारको नोक्सानी नगर्ने भएकाले पनि बढी प्रभावकारी मानिन्छ । प्राकृतिक तरिकाबाट उपचार गरिने भएकाले अहिले यसैबाट उपचार गराउने चेत आइसकेको देख्न सकिन्छ ।


प्राकृतिक उपचारबाट के–कस्ता रोगहरू निको हुन्छन् ?
विशेषगरी तनाव, तौल व्यवस्थापन र दुखाइको व्यवस्थापन गरी तीन कुरामा केन्द्रित रहेर उपचार गरिरहेका छौं । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरैमा तनावको लेभल बढ्दै जान्छ । मस्तिष्क नै थकित हुन्छ । जसले गर्दा आफूले चाहेजति काम गर्न सकेका हुँदैनौं । मोटोपन अर्को समस्या बनेको छ । दीर्घकालीन दुखाइ जस्तो बाथ, ढाड दुख्ने समस्याले पनि धेरैलाई सताएको छ । यी सबैबाट छुटकारा पाउन प्राकृतिक उपचार उपयुक्त हुन्छ । त्यसबाहेक सबै दीर्घ रोगको उपचार गरिन्छ ।



प्राकृतिक उपचार विधिका लागि लामो समय लाग्ने र खर्च पनि धेरै हुन्छ भन्ने आम बुझाइ छ नि ?
यो हामीले पहिलेदेखि नै सुनिरहेको कुरा हो । हामीकहाँ विशुद्ध प्राकृतिक उपचार मात्र गरिँदैन । यो सँगै अकुपञ्चर, अकुप्रेसर, होमियोपेथी, फिजियोथेरापी, आयुर्वेदिक पद्धतिबाट उपचार गरिन्छ । त्यसैकारण होलिस्टिक हस्पिटल नाम दिइएको हो । यी पद्धतिहरू बिरामीको आवश्यकतानुसार उपचार गरिने भएकाले रोग चाँडै निको हुुन्छ ।


खासगरी मधुमेह, मोटोपन, उच्च रक्तचाप, थाइराइड अहिलेको आम समस्या हो । यी समस्याबाट छुटकारा पाउन प्राकृतिक उपचार कति उपयोगी हुनसक्छ ?
उपयोगी हुन्छ । यी रोगहरू हाम्रो जीवनशैलीसँग सम्बन्धित रोग हुन् । यी रोग लागेपछि जिन्दगीभर औषधि खानुपर्छ, उपचार नै छैन भन्छन् । तर प्राकृतिक पद्धतिबाट छुटकारा पाउन सकिन्छ । यसअन्तर्गत स्वस्थ जीवनशैली कसरी अपनाउने, सुत्ने–उठ्ने तालिका, खानपान कस्तो खाने, व्यायाम आदि सिकाइन्छ ।

प्राकृतिक विधिबाट मोटोपन घटाउने विधि के हुनसक्छ ?
दुईवटा विधिबाट उपचार गरिन्छ । ती हुन्–क्लिन्जिङ र डाइट । क्लिन्जिङ भनेको हाइड्रोथेरापी जस्तै साउना, स्टिम बाथ, ज्याकुजीबाट पसिना निकालेर शरीरलाई सफा गर्ने विधि हो । त्यससँगै हामीले छुट्टै डाइटको मेनु बनाएका छौं । यसमा अग्र्यानिक खाना, ताजा तरकारी र फलफूलको जुस र लो काब्र्स भएको खाना समावेश हुन्छ । त्यही मेनुलाई फलो गरेर हप्ता दिनदेखि १५ दिनसम्म हस्पिटलमा भर्ना भएर उपचार गराउनुपर्छ । त्यसपछि घरमै गएर पनि गर्न सकिन्छ । यसले एकदिनमा आधा केजीदेखि तीन दिनमा एक केजीसम्म तौल घट्छ ।
यो बिहान–बेलुका खाना खाएर तौल घटाउने विधि हो । उचाइअनुसारको तौल हुनेबित्तिकै शरीर हल्का र दीर्घरोगको जोखिमबाट बच्न सकिन्छ ।


एकपटक तौल घटाइसकेपछि फेरि तौल बढ्ने सम्भावना कत्तिको हुन्छ ?
हाम्रो जीवनशैलीलाई व्यवस्थापन गर्न सकियो भने तौल पहिलाजस्तो ह्वात्तै बढ्दैन । खानपानबारे पनि सचेत भइसकेको हुनाले शरीरलाई नोक्सानी गर्ने खाना खानै मन लाग्दैन । हप्ता वा १५ दिनमा एकपटक क्लिन्जिङ गराएमा मोटोपन बढ्दैन । काम पनि राम्रोसँग गर्न सकिन्छ ।
मोटोपन पनि रोग नै हो । यसकै कारण अन्य रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । उचाइअनुसार तौल भयो भने फिट देखिन्छ । कतिपय रोगमा मोटोपनकै कारण उपचार गर्न सम्भव हुँदैन । तौल घटाएर उपचार गराउनुपर्ने हुन्छ ।

(डा. सुनुवारसंग सुजाता मुखियाले गरेको कुराकानीमा आधारित)

 Image