Successfully Copied

दाँतमा देखा पर्ने समस्या

पछिल्लो समयमा युवावस्थामा पनि दाँतको समस्या बढ्दै गएको पाइन्छ । चुरोट, खैनीजस्ता खाद्य पदार्थले पनि दाँतमा असर गरेको देखिन्छ । गिजाको समस्या पनि हुने गरेको छ ।

दाँत कीराले खाने, गिजासम्बन्धी समस्या, बालबालिकाहरूको दाँत झर्ने, दाँत खिइनेदेखि लिएर भर्ने अवस्थासम्म समस्या देखा पर्छन् ।

समयमा चेकअप आवश्यक

धेरै बिरामी दाँत दुखेपछि मात्र डेन्टल क्लिनिकमा आउने गरेका छन् । १० जनामध्ये ८ जनामा दाँतको समस्या देखा परेको छ । तर ८० प्रतिशत मानिसमा दाँतको केही न केही समस्या भइरहेको हुन्छ । क्लिनिकमा पुग्दा धेरै समस्या आइसकेका हुन्छन् । त्यसकारण गम्भीर समस्या आउनु पहिले नै चेकअप गर्दा राम्रो हुन्छ । छ–छ महिनामा चेकअप गराउनुपर्छ । चेकअप नगर्दा दाँत बिग्रेर सिस्ट हुन सक्छ । ट्युमर पनि हुनसक्छ । यस्तो अवस्था दाँतका लागि जटिल हुन्छ । अप्रेसन नै गर्नुपर्ने हुन्छ ।

उपचारमा भ्रम

जनमानसमा एउटा भ्रम छ–दाँत सफा गरेपछि हल्लिने वा बिग्रने हुन्छ । तर यो बुझाइ गलत छ । दाँत सफा गर्नु भनेको गिजादेखिको फोहोर निकाल्नु हो । यसले गिजाको पकड झनै बलियो हुन्छ । सफा गरेको एक–दुई दिनसम्म सिरिङ–सिरिङ हुन्छ । त्यो पनि बिस्तारै कम हुँदै जान्छ । दाँतको उपचार महँगो छ भनिन्छ । तर धेरै बिग्रिसकेको अवस्थामा क्लिनिक धाउने भएकाले केही महँगो हुने गरेको मात्र हो । विदेशको तुलनामा दाँतको उपचार सस्तो छ ।


क्लिनिक छनोट

धेरै मानिस दाँत कहाँ देखाउने भन्ने कुरामा अलमल परेका हुन्छन् । मेडिकल वा काउन्सिलमा दर्ता भएर मात्र डेन्टल सञ्चालन गर्नुपर्ने हुन्छ । बाटोमा जताततै दाँत बनाउने ठाउँ भनेर लेखिएका हुन्छन् । त्यसरी बोर्ड देखेर चेकअपका लागि जानु हँुदैन । हरेक नागरिक दाँतको उपचारमा सचेत हुन आवश्यक छ ।

खानपानले पनि दाँतमा समस्या

पछिल्लो समयमा युवावस्थामा पनि दाँतको समस्या बढ्दै गएको पाइन्छ । चुरोट, खैनीजस्ता खाद्य पदार्थले पनि दाँतमा असर गरेको देखिन्छ । गिजाको समस्या पनि हुने गरेको छ । चिसो पेय पदार्थमा एसिडिक फुड दाँतका लागि नराम्रो असर गर्दछ । यसले दाँत खियाउने समस्या हुन्छ । जंकफुडहरूबाट पनि टाढै रहनुपर्छ । फाइबरयुक्त खाना खानुपर्छ । गुलियो चीज पनि कम खानुपर्छ । त्यसकारण दाँत स्वस्थ राख्न खानपानमा पनि ध्यान दिन आवश्यक हुन्छ ।


सफा गर्ने तरिका

दाँत बिहान–बेलुका ब्रस गर्नुपर्ने हुन्छ । दिनहुँ खाएका खानेकुरा दाँतको बीचबीचमा हल्का अड्कने हुन्छ । साग, मासुजस्ता अड्कने खानेकुरा साधारण ब्रसले जाँदैनन् । त्यसैले ती खानेकुरा निकाल्न दिनहुँ फल्स गर्न जरुरी छ । त्यसैगरी इन्टरडेन्टल ब्रसहरू प्रयोग गर्नुपर्ने हुन्छ । दाँत धेरै माझ्नु हुँदैन । धेरै माझेमा दाँतको इनामेल खिइने र गिजामा चोट लागेर रगत आउँछ । त्यसैले दाँत माझ्दा मिडियम ब्रसले सबै भागमा दुई–तीन मिनेटजति ब्रस गर्नुपर्छ ।

(डा.शाक्यसँग प्रकृति दाहालले गरिएको कुराकानीमा आधरित) 

 Image