Successfully Copied

किन आउँछ गिजामा समस्या ?

गिजाको रोग लाग्नु भनेको गिजा,हड्डी र पेरियोडेन्टल लिगामेन्टमा समस्या बढ्दै जानु हो ।

गिजा के हो ?
गिजा दाँतको जग हो । हाम्रो दाँत हड्डीमा अड्केको हुन्छ । त्यसलाई छोप्ने गुलाबी रंगको मासु नै गिजा हो । दाँत र हड्डीको माथि सपोर्ट गर्ने स्टक्चरलाई गिजाका रूपमा बुझ्न सकिन्छ ।


गिजामा लाग्ने रोग र लक्षणहरू कस्ता हुन्छन् र?
गिजाको रोग लाग्नु भनेको गिजा,हड्डी र पेरियोडेन्टल लिगामेन्टमा समस्या बढ्दै जानु हो । यसमा विभिन्न समस्या आउँछन् । गिजा चिलाउने, गिजामा घाउ–खटिरा आउने हुन्छ । यसका साथै श्वास गन्हाउनु, जिब्रो पोल्नु, दाँत लामो भएर जानु र राति सुत्दा तकियामा रगत देखिनु यसका लक्षण हुन् ।

गिजामा समस्या आउने कारणहरू के–के हुन् ?
गिजाको सम्बन्ध अरू शारीरिक सम्बन्धमा पनि हुनसक्छ । गिजा अरु रोग लागेको छ कि छैन भनेर हेर्ने ऐना पनि हो । मधुमेह भएको छ कि छैन,व्यक्तिमा भिटामिन डीको कमी छ कि छैन भनेर पनि गिजाको माध्यमबाट थाहा पाउन सकिन्छ । बाथ रोग भएको मुखमा हड्डी खिइएर दाँतहरू हल्लिसकेका हुन्छन् । सबै रोगको समस्या गिजामा देखिन्छ । तर कमैलाई मात्र गिजा रोगसम्बन्धी जानकारी छ , अरु उपचार गर्न आउँदा मात्र गिजामा समस्या भएको थाहा हुन्छ ।


गिजा रोगबाट बच्न के गर्ने र?
गिजा रोग लाग्न नदिन घरमा दिनको दुई पटक सही तरिकाले ब्रस गर्नुपर्छ । दाँत र गिजाको स्केलिङ गर्नुपर्छ । खानेबित्तिकै कुल्ला गर्नुपर्छ । दिउँसो खाजा खाँदा पनि मुख कुल्ला गरिहाल्नुपर्छ । खानपानमा सुधार गर्नुपर्छ । खैनी, चुरोट आदि गिजाका लागि हानिकारक हुन् । यी खानेकुराबाट टाढा रहनुपर्छ । यदि समयमा हेरचाह गर्न नसकेमा जटिलता थपिँदै जान्छ ।

गर्भवतीमा किन गिजाको समस्या देखिन्छ र?
गर्भवतीमा पनि गिजा पाक्ने, गिजा चिलाउने समस्या हुने गरेको छ । यसको कारण शरीरमा आउने हर्मन गडबडीको कारण हो । यो अवस्था उपचारका लागि जटिल अवस्था पनि हो । धेरै किसिमको औषधि पनि चलाउन मिल्दैन । जसले गर्दा समस्या प्रतिदिन बढ्दै जाने सम्भावना रहन्छ ।

 Image