Successfully Copied

बेली फ्याट कसरी घटाउने ?

बेलीफ्याटले शरीरमा गहिरो प्रभाव पारेको हुन्छ । बेलीफ्याट पेटको आसपास जम्ने भएकाले यसले त्यस वरिपरिका अंगहरू प्रभावित पार्छ ।


बेलीफ्याटले धेरैलाई सताएको छ । हाम्रो शरीरमा दुई प्रकारको फ्याट हुन्छ । पहिलो छालाको मुनि र अर्को छालाभित्रै बढ्छ । फ्याट बढ्नुको पछाडि खराब जीवनशैली, शारीरिक गतिविधि र डाइटसँग जोडिएको हुन्छ ।
धेरैजसोलाई बेली फ्याटको कारण आफनो लुक बिग्रिएको भन्ने चिन्ता हुन्छ । तर यसको प्रभाव यतिमा मात्र सीमित हुँदैन । बेलीफ्याटले शरीरमा गहिरो प्रभाव पारेको हुन्छ । बेलीफ्याट पेटको आसपास जम्ने भएकाले यसले त्यस वरिपरिका अंगहरू प्रभावित पार्छ ।


बेली फ्याट कसरी बन्छ ?
अस्वस्थ खाना, एक्सरसाइजको कमी, स्वास्थ्य समस्या, तनाव आदिका कारण बेली फ्याट बन्छ । शरीरलाई चाहिने भन्दा बढी खानाले बेली फ्याट बढाउँछ ।


बेली फ्याटहानिकारक हुनसक्छ ?
बेली फ्याट केही दीर्घकालीन स्वास्थ्य समस्याका कारक मानिन्छ । अन्य रोग लाग्न सक्ने जोखिम बढाउँछ । उच्च रक्तचाप, मधुमेह र मुटुको रोग बढाउन सक्छ । बेली फ्याटले कलेजो, किड्नी, पेट, आन्द्राहरूको रोग बढाउने खतरा पनि उत्तिकै हुन्छ ।


योगासन वा व्यायामबाट पनि बेली फ्याट घटाउन सकिन्छ ?
सकिन्छ । डाइटिङ, जिम गरेर बेली फ्याट घटाउने प्रयास गरिन्छ । तर सही तरिकाले डाइटिङ र जिम गरिएन भने यसले शरीरलाई उल्टो असर पार्छ । तर योगासन उपयुक्त विकल्प हो । नियमित योग र मुद्राले बेली फ्याट घटाउन सकिन्छ । कम्तीमा पनि तीन महिनासम्म नियमित रूपमा गर्नुपर्छ ।

बेली फ्याट घटाउने सबैभन्दा प्रभावकारी आसन के हो ?
उठेर गरिने योग चारैतिर शरीरलाई झुकाएर गरिने चारासन, कोणासन, ताडासन, त्रिकोणासन, पादहस्तासन योग गर्नुपर्छ । यी योग ढाड, कम्मरका बिरामीले भने गर्न मिल्दैन । उच्च रक्तचाप भएका अगाडि झुक्नु हुँदैन । कम रक्तचाप भएकाले पछाडि झुक्नु हुँदैन । आफ्नो स्वास्थ्य अवस्थानुसार योगासन गर्नुपर्छ । शरीरमा अन्य रोग छैन मोटोपनमात्र समस्या हो भने बिस्तारै–बिस्तारै समय बढाउँदै यी योग गर्न सकिन्छ । चारासनमा सबैभन्दा पहिले सीधा तन्किनुपर्छ अनि दायाँ–बायाँ, अगाडि–पछाडि झुक्नुपर्छ ।


यी आसनहरू गर्दा पहिले जगिङ र सूक्ष्म व्यायाम गरेर शरीर तताउनुपर्छ । तीन–तीन पटक १५ सेकेन्डसम्म श्वासलाई रोक्दै फेरि १५ सेकेन्ड श्वास छोड्दै गर्नुपर्छ । पछि बिस्तारै बढाउँदै लैजान सकिन्छ । सबै योगासन गर्दा शरीरलाई तन्काउँदा श्वास लिने र शरीर खुम्चिदा श्वास छोड्ने प्रक्रिया गर्नुपर्छ । त्यसैगरी सुतेर गरिने आसनहरू मर्कटासन, तिर्यक भुजङासन, साइक्लिङ आदि गर्न सकिन्छ ।


अरु कुन–कुन योग आसनले बेली फ्याट घटाउँछ ?
नौकासन, चतुरदण्डासन, वशिष्ठासन, पाश्र्व उध्र्वहस्तासन, पवनमुक्तासन, पाश्र्वकोणासन, अष्टाङासन, पर्वतासन आदि अरु थुपै्र आसन गर्न सकिन्छ ।


(योग प्रशिक्षक निरु भट्टराईसँग सुजाता मुखियाले गरिएको कुराकानीमा आधरित)

 Image