Successfully Copied

आइभीएफको सफलता कसरी बढाउने ?

उपचारका क्रममा आइभीएफ ‘लङ प्रोटोकल’ ‘सर्ट प्रोटोकल’ यस्ता थुप्रै पद्धति हुन्छन् । यो उपचारमा सफलता बढाउन चिकित्सकले सुहाउँदो प्रोटोकल छान्नु जरुरी छ ।


डा. सानुमाया श्रेष्ठ प्रधान, प्रजनन् विशेषज्ञ, क्रिएटर आइभीएफ नेपाल, सातदोबाटो
पछिल्लो समय निःसन्तानको समस्या बढ्दै गएको छ । निःसन्तानको उपचारमा पछिल्लो समय विभिन्न प्रकारका उपचार पद्धति विकसित हुँदै गएका छन् । यीमध्ये एक उपचार पद्धति आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) हो । विश्वव्यापी रूपमा विकसित हुँदै गएको आइभीएफ नेपालमा पनि पछिल्लो पटक विकसित हुँदै गएको छ । यसअन्तर्गत निःसन्तान दम्पती महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई निकालेर प्लेटमा राखी इन्क्युवेटरमा राखिन्छ । जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रूणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ ।


आइभीएफको सफलता कति ?
प्रत्येक आइभीएफ सफल हुँदैनन् । आइभीएफ उपचार सफल हुने र नहुने भन्ने कुरामा आइभीएफ टिम चिकित्सकहरूको उचित सहकार्य र उपचारमा भर पर्छ । उपचारका क्रममा आइभीएफ ‘लङ प्रोटोकल’ ‘सर्ट प्रोटोकल’ यस्ता थुप्रै पद्धति हुन्छन् । यो उपचारमा सफलता बढाउन चिकित्सकले सुहाउँदो प्रोटोकल छान्नु जरुरी छ । हरेक आइभीएफ केन्द्रले सफलता दर इमान्दारीपूर्वक प्रकाशित गर्न जरुरी छ । विकसित देशमा आइभीएफको औसत सफलता निकालेको हुन्छ । करिब २५ देखि २० प्रतिशतसम्म आइभीएफ सफल भएको अवस्था छ । नेपालको सन्दर्भमा आइभीएफलाई मनिटरिङ व्यवस्था छैन । त्यसको सफलता रेट भन्न सक्ने अवस्था छैन । हाम्रो आइभीएफ सेन्टरको कुरा गर्दा पा“चवर्षको तथ्यांकअनुसार ३१ प्रतिशत दम्पतीले सन्तान प्राप्त गरेका छन् ।

पावर कलर डुप्लर अल्ट्रासाउन्ड जरुरी
महिलाहरूको उमेर बढ्दै जाँदा शरीरमा डिम्बको भण्डारण कम हँुदै जान्छ । यो उमेरका महिलालाई आइभीएफ उपचार गराउन झन् समस्या हुन्छ । किनकि आइभीएफका लागि धेरै डिम्ब आवश्यकता पर्छ । त्यसकारण महिलाहरूको पाठेघरको नली ठीक छ र श्रीमान्को वीर्यमा शुक्रकीटको कमी छैन भने यो अल्ट्रासाउन्डको प्रयोग गरेर श्रीमान्–श्रीमतीको सहवासको समय मिलाएर गर्भ गराउन सकिन्छ । यो आइभीएफभन्दा सस्तो उपचार पद्धति हो । कुनै दम्पतीको आइभीएफ धेरै पटक असफल भएको छ भने पावर कलर डुप्लरको प्रयोग गरी राम्रो स्तरको भ्रूण बनाई महिलाको गर्भाशयमा प्रतिस्थापन गर्न सकिन्छ । यसले पनि आइभीएफको सफलता दर बढाउन मद्दत पु¥याउँछ ।

(डा. सानुमायासँग प्रकृति दाहालले गरिएको कुराकानीमा आधरित)

 Image