Successfully Copied

जाडोमा कोजी लुक

जब मौसममा परिवर्तन आउँछ, घरको इन्टेरियरलाई पनि थोरै परिवर्तन जरुरी हुन्छ । इन्टेरियर फेरबदलले घरलाई मौसम अनुकूल बनाइदिन्छ । गर्मीमा शीतल दिने हल्का पर्दाको ठाउँमा बाक्लो र गाढा रंगको पर्दाले कोठालाई न्यानो बनाइदिन्छ ।

जब मौसममा परिवर्तन आउँछ, घरको इन्टेरियरलाई पनि थोरै परिवर्तन जरुरी हुन्छ । इन्टेरियर फेरबदलले घरलाई मौसम अनुकूल बनाइदिन्छ । गर्मीमा शीतल दिने हल्का पर्दाको ठाउँमा बाक्लो र गाढा रंगको पर्दाले कोठालाई न्यानो बनाइदिन्छ । त्यसैगरी कोठाको भित्तामा हल्का रंगको साटो गाढा रंगको प्रयोगले गर्मी महसुस गराउँछ । यसै विषयमा रेड पेपर डिजाइनर्स प्रा.लि.का प्रबन्ध निर्देशक एवं इन्टेरियर डिजाइनर सुशोभित रंजितकारसँग गरिएको कुराकानी ः


रंगको सही छनोट
रंगले घरको इन्टेरियरमा महत्वपूर्ण भूमिका खेल्छ । जाडो महिनामा भित्ताको रंग उज्यालोभन्दा न्यानो महसुस गराउने रंग राख्नुपर्छ । जस्तै, पहेंलो रंगका सेडहरू प्रयोग गर्न सकिन्छ । त्यसैगरी सुन्तला रंग तथा खैरो रंगका सेडहरू प्रयोगमा ल्याउन सकिन्छ ।


फ्लोरिङ
जाडो मौसममा भुइँमा टायल, प्लास्टिकका कार्पेट राखिएको छ भने चिसो हुन्छ । खुट्टाले भुइँमा टेक्दा चिसो हुन्छ । यसमा पार्केटिङ गर्न सकिन्छ । पहिले नै टायलको प्रयोग गरिएको छ भने त्यसमाथि गलैंचा ओछ्याउन सकिन्छ ।


गाढा सेडका सामान राख्ने
सबैभन्दा पहिला घरको फर्निचरमा भएको हल्का रंग हटाएर गाढा रंगले पेन्ट गर्न सकिन्छ । साथै बाक्लो फेब्रिक भएको पर्दा, कुसन, वेड कभरको प्रयोग गर्नुपर्छ ।

पर्याप्त उज्यालोको व्यवस्था गर्ने
चिसो मौसममा दिन छोटा हुन्छन् । त्यसैले छिटै अँध्यारो हुन्छ । कोठामा पर्याप्त उज्यालोको व्यवस्था गर्नुपर्छ । यो मौससमा कोठामा घाम धेरै समय छिर्दैन । भरसक कोठालाई अँध्यारो नबनाउने प्रयास गर्नुपर्छ ।


न्यानो ओछ्यान
जाडोमा धेरैबेरसम्म ओछ्यान तातो हुँदैन । एकैछिन ओछ्यानबाट निस्किदा चिसो भइहाल्छ । जाडोमा पातलो वेडकभर ओछ्याउनुको साटो बाक्लो भुवादार ओछ्याउनुपर्छ । यसले ओछ्यानलाई न्यानो बनाइराख्छ । साथै बेलाबेलामा डस्ना वा ब्ल्यांकेटलाई बाहिर घाममा पनि सुकाइराख्नुपर्छ ।


कुर्सी वा सोफा
कुर्सी वा सोफाको आवरण रेग्जिनको छ भने चिसो हुन्छ । त्यसैले जाडो महिनामा त्यसमा बस्न मन लाग्दैन । यसमा बाक्लो कपडाको कभर माथिबाट लगाउनुपर्छ । रेग्जिनको साटो कपडाको फेब्रिक छनोट गर्न सकिन्छ ।


कुसन र वेड कभर
चिसो मौससमा कुसनको सुतीको कभर हटाएर बाक्लो फेब्रिक वा वुलनको कभर लगाउनुपर्छ । अहिले बजारमा बाक्लो फेब्रिकको बेड कभर सजिलै पाइन्छ । यसले ओछ्यानलाई न्यानो बनाउँछ ।

पर्दाको फेब्रिक र रंग
झ्यालमा लगाइने पर्दाले चिसो हावालाई रोक्छ । पातलो पर्दाले चिसो हावालाई रोक्न सक्दैन । बाक्लो फेब्रिक भएको पर्दाले हावा रोक्नुका साथै कोठालाई न्यानो बनाउँछ । त्यसैगरी पर्दाको रंगको छनोट गर्दा गाढा रंगको गर्नुपर्छ । यस्तो रंगले न्यानो महसुस गराउँछ । यो रंगले सूर्यको किरण सोस्ने भएकाले कोठालाई न्यानो बनाइराख्छ ।


बत्तीको प्रयोग
कोठालाई न्यानो बनाउन बत्तीमा केही परिवर्तन गर्न सकिन्छ । बत्ती चिसोको समयमा कोठालाई न्यानो राख्ने राम्रो स्रोत हो । चिसा कुनाहरूमा फ्लोर र टेबलमा ल्याम्प राख्न सकिन्छ । यो चिसोमा एलइडी र सीएफएलको साटो इनक्यान्डोसेट बल्बको प्रयोग गर्न सकिन्छ । कोठामा डिफ्युज लाइटहरूको प्रयोग गर्नाले कोठामा न्यानोपनको आभास गराउँछ ।


बाक्लो कार्पेट र गलैंचाको प्रयोग
कार्पेट र गलैंचाको प्रयोगले घरको सौन्दर्य बढाउनुका साथै चिसो हुनबाट पनि बचाउँछ । भुइँलाई तातो बनाउन बाक्लो कार्पेट र गलैंचा प्रयोग गर्नुपर्छ । कार्पेटले तातो सोस्छ र कोठालाई न्यानो बनाउँछ । खाली खुट्टा हिँड्ने बानी भएकाले बाक्लो कार्पेट ओछ्यानुपर्छ नत्र चिसो लाग्छ ।


विन्टर फ्रेन्डली बाल्कोनी

जाडो मौसममा घरभित्र मात्र नभएर घरबाहिरको खाली ठाउँमा विन्टर फ्रेन्डली लुक दिन सकिन्छ । बाल्कोनी वा बगैंचामा फर्निचर राखेर त्यसमा सिट कुसन, कुसनले सजाउनुपर्छ । बाल्कोनीको लागि कलरफुल प्लान्टहरूले सजाउँदा आकर्षक देखिन्छ । एक कुनातिर विन्ड च्याम्स झुन्डाउन सकिन्छ । सिलिङमा फेब्रिक वा पेपर बेस्ड हेंगिङ लेम्प राख्दा अझ राम्रो देखिन्छ ।




–सेतो रंगको भित्ताले चिसो महसुस गराउँछ । त्यसैले गाढा रंगको पेन्टस् लगाउने र भित्तामा वुडन फ्रेम भएको फोटो फ्रेम झुन्ड्याउन सकिन्छ ।
–स्टाइलिस र न्यानो लुकका लागि कर्नर टेबलमा अलग–अलग साइजको मैनबत्ती राख्नुपर्छ ।
–झ्याल र ढोका बिहान–बेलुका बन्द राख्नुपर्छ । यसले चिसो हावा भित्र पस्न पाउँदैन ।
–साँझ परेपछि झ्यालको पर्दा राम्रोसँग लगाइदिनुपर्छ ।
–घरमा फायर कर्नर छैन भने बजारमा रेडिमेड पत्थरबाट बनेको इलेक्ट्रिक फायर स्टफ पाइन्छ । यसले कोठालाई न्यानो बनाउँछ ।
–ब्लु लाइटस्को साटो एल्लो लाइटको प्रयोग गर्नुपर्छ । यसले कोठालाई न्यानो लुक दिन्छ । 

 Image