Successfully Copied

वातावरणमैत्री घरको निर्माण

पहिला बस्ने घरहरू ढुंगा र माटो प्रयोग गरी बनाइन्थ्यो भने अहिले प्रायःजसो घरमा सिमेन्ट, बालुवा, गिट्टी आदिको प्रयोग गरिन्छ । जुन वातावरण अनुकूल नहुन सक्छ ।


घर भन्नेबित्तिकै त्यस्तो ठाउँलाई जनाउँछ, जहाँ हामी सुरक्षित महसुस गर्छौं । यसका लागि हाम्रो वरपरको वातावरणले ठूलो भूमिका खेलेको हुन्छ । पहिला बस्ने घरहरू ढुंगा र माटो प्रयोग गरी बनाइन्थ्यो भने अहिले प्रायःजसो घरमा सिमेन्ट, बालुवा, गिट्टी आदिको प्रयोग गरिन्छ । जुन वातावरण अनुकूल नहुन सक्छ ।
घर वातावरणमैत्री हुनु जरुरी हुन्छ । त्यसमा हाम्रै वरिपरि सजिलै उपलब्ध हुने ढुंगा, माटो, बाँस, काठ आदिले निर्माण गर्न सकिन्छ । सिमेन्ट, बालुवा, टायल आदिको प्रयोग गरिएको हुँदैन । अहिले ग्लोबल वामिर्ङले गर्दा पृथ्वीको तापमान बढ्दै गएको छ । जसका कारणले हामीलाई सहज रूपमा बाँच्न गाह्रो हुन सक्छ । त्यसैले घर निमार्ण गर्दा वातावरणमैत्री हुनु जरुरी हुन्छ ।
वातावरणमैत्री घर निर्माण गर्दा घर बन्ने ठाउँको हावापानी कस्तो छ त्यसलाई पनि ध्यान दिनुपर्छ । साथै प्रकृतिसँग नजिक रहने खालको वातावरण सिर्जना गर्नुपर्छ । ढुंगामाटोले बनेको घरमा जाडोमा न्यानो र गर्मीमा शीतलताको अनुभव हुन्थ्यो तर सिमेन्टबाट बनेको घरमा जाडोमा एकदमै चिसो र गर्मीमा झनै गर्मी महसुस हुन्छ । तर पनि घरको डिजाइन गर्दा केही कुरामा ध्यान दिन सके त्यसको न्यूनीकरण गर्न सकिन्छ ।
सिमेन्ट उत्पादन गर्दा वातावरणलाई असर पारिरहेको हुन्छ । त्यस्तै इटा बनाउँदा पनि काँचो इटालाई भट्टामा पकाउनुपर्छ । जसले वातावरण प्रदूषित बनाइरहेको हुन्छ । त्यसैले वातावरणमैत्री घर निर्माण गर्दा यस्ता सामग्रीको प्रयोग नगरी प्रकृतिबाटै उपलब्ध माटो, ढुंगाको प्रयोग गर्नुपर्छ । यसले वातावरणलाई कुनै हानि–नोक्सानी गर्दैन । त्यसैगरी माटोको ब्लकको प्रयोग गर्न सकिन्छ । ७ देखि १० प्रतिशत सिमेन्ट र १ देखि २ प्रतिशत चूना, माटो मिसाएर बनाइएको हुन्छ तर भट्टीमा नपकाई तयार गरिएको हुन्छ ।



वातावरणमैत्री घरको निर्माण गर्दा निम्न कुरामा ध्यान दिनु जरुरी छ ।
–एसीको प्रयोग सकेसम्म कम प्रयोग गर्नुपर्छ ।
–सोलार प्यानलको प्रयोगबाट खाना पकाउन सकिन्छ । यसैबाट विद्युतीय सामानको प्रयोग गर्दा बत्तीको पैसा कम तिर्नुपर्छ । ढुंगा, माटो, बाँस, काठ प्रयोग गरी बनाइएको घरले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।
–घर वरिपरि रुख–बिरुवा धेरै रोप्नुपर्छ । यसो गरेमा चराहरू आउँछन् र प्रकृतिसँग अझ नजिक हुन सकिन्छ ।
गर्मीमा घर डिजाइन गर्दा
–झ्यालको माथि सानो भेन्टिलेसन बनाउँदा कोठामा भएको तातो हावा माथिबाट बाहिर जान्छ ।
–बढी घाम पर्ने दिशामा सानो झ्याल बनाउँदा घामको प्रकाश कोठामा कम पर्छ ।
–आकाशबाट परेको पानीलाई जम्मा गरेर फेरि प्रयोग गर्न मिल्ने गरी बनाउन सकिन्छ ।
–त्यसैगरी घरअगाडि सानो पोखरीको निर्माण गर्दा शीतल अनुभव गराउँछ ।
–कच्ची घर माटो र ढुंगाको प्रयोग गरी बनाइएकोमा थप प्रविधि प्रयोग गरी बनाउन सकिन्छ । यस्ता परम्परागत घरलाई सस्तो लागतमा पक्की र भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ ।
–घरवरिपरि रुख–बिरुवा रोप्दा शीतलता प्राप्त हुन्छ । 

लैला श्रेष्ठ
आर्किटेक्ट इन्जिनियर, आर्ट भ्यु इन्जिनियरिङ कन्सल्टेन्सी

 Image