Successfully Copied

मिस नेपाल हुनकै लागि भाग लिएकी हुँ

म मिस नेपाल हुनकै लागि मिस नेपालमा सहभागी भएकी थिएँ तर प्रशिक्षणपछि भने जित्नु मात्र जित होइन, हामी १९ जना प्रतियोगी नै मिस नेपाल हौं भन्ने धारणा विकास भैसकेको थियो । फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपको नाम घोषणा भैसकेपछि भने मलाई डर लागेको

अश्मि श्रेष्ठ, मिस नेपाल–२०१६

मिस नेपालको नाम घोषणा हुँदा तपाईंको अनुभव कस्तो रह्यो ?

म मिस नेपाल हुनकै लागि मिस नेपालमा सहभागी भएकी थिएँ तर प्रशिक्षणपछि भने जित्नु मात्र जित होइन, हामी १९ जना प्रतियोगी नै मिस नेपाल हौं भन्ने धारणा विकास भैसकेको थियो । फस्ट रनर्सअप र सेकेन्ड रनर्सअपको नाम घोषणा भैसकेपछि भने मलाई डर लागेको थियो । त्यसैले म र सिर्जना बेस्सरी हात समातिरहेका थियौं । ऊ र ममध्ये एक जना मिस नेपाल हुन्छौं भन्ने लागेको थियो । आफ्नो नाम घोषणा हुँदा मेरो आँसु मेरो खुसी तथा सिर्जनाका लागि दु:खमा निस्किएको हो । तीन दिनको क्लोज क्याम्पका कारण मैले मम्मी, ड्याडी भेट्न पाएकी थिइन । जितेपछि उहाँहरूलाई भेट्दा सन्तुष्टिको आँसु पनि आयो ।  

मिस नेपालमा भाग लिने सोच कसरी बनाउनुयो ?

ममा सानैदेखि मिस नेपाल हुने सपना थियो । हरेक मिस नेपाल हेरेपछि आफूले पनि क्राउन लगाएको सपना बुन्थें । यो वर्ष मेरो ग्राजुएसन पनि सकिएकाले उचित समय लागेर भाग लिएकी हुँ । 

६ साताको प्रशिक्षणपछि आफूमा के–कस्तो सुधार आएजस्तो लाग्यो ?

पहिलेको तुलनामा आत्मबल बढ्नुका साथै सत्यलाई स्वीकार गर्नसक्ने क्षमता बढेको छ ।

र्‍याम्प मोडलिङलाई निरन्तरता दिनुहुन्छ ?

मोडलिङमा रमाउँछु तर मिस नेपाल भएपछि ममा जिम्मेवारी थपिएको छ त्यसैले मोडलिङमा चाहेर पनि धेरै समय दिन सक्दिन होला । एक वर्षपछि भने त्यसलाई पनि निरन्तरता दिनेछु । 

मिस नेपाल भएपछि आफूमा के–कस्ता दायित्व थपिएको बोध भएको छ ?

पहिले म चितवनलाई प्रतिनिधित्व गर्थें भने क्राउन लगाएपछि नेपालकै प्रतिनिधित्व गर्दैछु । मिस वल्र्डमा राम्रो प्रदर्शनका लागि दबाब छ भने केही राम्रा काम गरेर उदाहरणीय पनि बन्नुपर्छ भन्ने बोध भएको छ । 

आगामी योजनाहरू के–के छन् ?

मिस नेपालको एक वर्षीय कार्यकालमा युवा सशक्तीकरणमा जोड दिन्छु । त्यसको साथमा हिडेन ट्रेजरले दिएका जिम्मेवारीमा सक्रिय भएर लाग्नेछु । 

तपाईं बाहेक मिस नेपालको प्रवल दावेदार को थिइन् ?

म सिर्जना रेग्मीको नाम लिन चाहन्छु । हामी दुवै उस्तै क्षेत्रबाट आएकाले हामीमा दबाब पनि थियो । एकजना मिस नेपाल र अर्काे मिस अर्थ हुन्छौं भन्नेमा म ढुक्क थिएँ ।

मिस नेपालमा नेवारलाई नै प्राथमिकता दिइन्छ भन्ने चर्चा पनि चल्यो नि ?

मिस नेपाल भएपछि मैले पनि सामाजिक सञ्जालमार्फत थाहा पाएँ । यो कुराले मेरो मन रोएको छ । मिस नेपाल मेरो मेहनत र परिश्रमले पाएको उपाधि हो । हामीकहाँ नकारात्मक टिप्पणी गर्नु  कतिपय मानिसको स्वभाव नै भएको छ, म यस्ता कुरामा टेन्सन लिन चाहन्न । 

मिस नेपाल भन्नासाथ कसलाई सम्झनुहुन्छ ?

सृष्टि श्रेष्ठलाई सम्झन्छु । मलाई मोटिभेसन गर्ने सृष्टि दिदीकै सम्झना आउँछ ।

प्राय: मिस नेपालहरू मिडिया क्षेत्रमै लागेको देखिन्छ, तपाईंको के योजना छ ?

मिस नेपाल भएपछि मिडियामै देखा परिरहनुपर्छ भन्ने लाग्दैन । मैले पहिले इसीएस लाइफमा कार्यक्रम चलाएकी थिएँ तर मलाई त्यति मन लागेन । जुन क्षेत्रमा रहे पनि सफल तथा उत्कृष्ट हुनुपर्छ भन्ने लाग्छ । भविष्यमा व्यवसायमा लाग्ने सोच छ । 

अरू के–केमा रुचि छ ?

एडभेन्चर एकदमै मन पर्छ । हाइकिङ, प्याराग्लाइडिङ तथा र्‍याफ्टिङ गरिसकेकी छु । अब बन्जी जम्पिङ गर्ने योजना छ । 

तपाईं कस्तो स्वभावकी हुनुहुन्छ ?

म छिटो घुलमिल हुन सक्दिन । आवश्यक मात्र बोल्छु, चाहेर पनि धेरै खुल्न सक्दिन । खुसीमा मात्तिने र दु:खमा आत्तिने स्वभाव पटक्कै छैन । 

 Image