Successfully Copied

चारवटै टाइटल मिस नेपाल नै हो

दाङकी नीति शाह सानैदेखि मिस नेपालप्रति आकर्षित थिइन् । त्यसैले उनले पनि मिस नेपाल हुने सोचका साथ प्रतियोगितामा भाग लिएकी हुन् । मिस नेपाल इन्टरनेशनलमा चित्त बुझाउनु परे पनि नीतिलाई कुनै दु:ख लागेको छैन किनभने उनलाई मिस नेपालका चारवटै उपाधि मिस नेपाल नै

नीति शाह, मिस इन्टरनेसनल–२०१७

दाङकी नीति शाह सानैदेखि मिस नेपालप्रति आकर्षित थिइन् । त्यसैले उनले पनि मिस नेपाल हुने सोचका साथ प्रतियोगितामा भाग लिएकी हुन् । मिस नेपाल इन्टरनेशनलमा चित्त बुझाउनु परे पनि नीतिलाई कुनै दु:ख लागेको छैन किनभने उनलाई मिस नेपालका चारवटै उपाधि मिस नेपाल नै हो भन्ने लाग्छ ।  नीति केही वर्षदेखि मोडलिङमा सक्रिय छिन् । 

मिस नेपालको उपाधिबाट वञ्चित हुनुको मुख्य कारण के होला ?

मभन्दा राम्रा प्रतिस्पर्धी भएर नै हो । मैले ६ हप्ताको प्रशिक्षणका क्रममा सबैमा उत्तिकै ऊर्जा एवं आत्मविश्वास पाएँ । त्यसैले मेरो मनमा जो पनि मिस नेपाल हुनसक्छिन् भन्ने कुरा सेट थियो ।

मिस इन्टरनेसनलमा तपाईंको नाम लिँदा कस्तो अनुभव भयो ?

खुसी लाग्यो । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्याजेन्टमा जान पाउनु चानचुने कुरा होइन । मैले जुन उपाधि प्राप्त गरेँ त्यसमा म सन्तुष्ट छु ।

मिस नेपालपछि के–कस्ता कुरामा व्यस्त हुनुहुन्छ ?

मज्जाले सुत्न पाएँ, घरपरिवार तथा साथीभाइहरूको बधाईको जवाफ दिँदा र उनीहरूसँग कुराकानी गर्दैमा दिन बितिरहेको छ । त्यसका साथै टिभी एवं पत्रपत्रिकाहरूका लागि अन्तर्वार्ता, फोटोसुट आदिमा पनि व्यस्त छु ।

मिस नेपालको प्रशिक्षणबाट तपाईंमा केही परिवर्तन आएको छ कि ?

मिस नेपालमा भाग लिइसकेपछि ममा धेरै परिवर्तन आएको छ । आत्मविश्वासको स्तर बढेको छ । जसको जित भए पनि स्वीकार गर्न सक्छु भन्ने आँट पनि मैले यहीँबाट पाएकी हुँ ।

मिस इन्टरनेसनलको तयारी कसरी अघि बढाउने सोच छ ?

मैले मिस नेपाल भएको भोलिपल्टदेखि नै मिस इन्टरनेसनलका भिडियोहरू हेर्न थालिसकेकी छु । आफ्ना अग्रज प्रतियोगीहरूसँग भेटेरै कुराकानी गर्नेछु । म त्यहाँ पूर्ण तयारीका साथ जानेछु ।

अबको एक वर्ष त मोडलिङबाट टाढिनुपर्नेछ, कस्ता चुनौती देख्नुभएको छ ?

अब एक वर्ष हिडेन ट्रेजरसँगै रहेर आफूले पाएको जिम्मेवारी पूरा गर्नेछु । मेरो तत्कालको मुख्य चुनौती भनेकै मिस इन्टरनेसनलमा राम्रोसँग प्रस्तुत हुनु हो । 

 Image