Successfully Copied

तीज बजार

भर्खरै विवाह भएका युवतीहरूदेखि महिलाहरू चोकरको खोजीमा आउने गरेको उनको भनाइ छ । यो छोटो र पेन्टदेखि कुर्ता–सुरुवाल र साडीमा लगाउन सुहाउने भएकाले फेसनका रूपमा अगाडि बढ्दै गएको छ । बजारमा चोकर पोतेका मूल्य र रंगहरू फरक–फरक छन् ।


तीज जति नजिकिँदै जान्छ, त्यति नै बजार बढ्दै जान्छ । फेन्सी पसलदेखि पार्टी प्यालेस, कस्मेटिक पसलहरूमा भीडभाड ह्वात्तै बढ्छ । तीजमा धेरैजसो चुरापोतेको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् । असनका व्यापारी महमद दास भन्छन्, ‘चुरापोते साउनदेखि नै बिक्री हुन्छन्, हरियो, पहेंलो र रातो पोतेको माग बढ्न थाल्छ । उनको पसलमा क्षेत्रपाटीकी आशिष्मा श्रेष्ठ असनमा पोते किन्दै गरेको भेटिइन् । साउनमा उनले हरियो र तीजका लागि रातो किन्ने गर्छिन् । आफूलाई मात्र नभई साथीलाई पनि उपहार दिन्छिन् । उनलाई चाडपर्वले बजारसम्म पु¥याउँछ उनले भनिन्, ‘हामीलाई चाडपर्वले बजारसम्म ल्याइपु¥याउँछ । त्यसैले हरियो, पहेंलोदेखि रातो पोते र चुरा किन्छु ।’

थरिथरिका पोते
बजारमा विभिन्न रंग र साइजका पोतेहरू पाइन्छन् । गत वर्षहरूको जस्तो यो वर्ष तीजमा रौनक छैन । आर्थिक मन्दीका कारणले पनि बजारमा असर परेको देखिन्छ । असनका पोते व्यापारी सुनील गुप्ताका अनुसार पछिल्लो समय महिलाहरूले पोतेमा ग्राहकहरूले चोकर सेट रुचाउन थालेका छन् । भर्खरै विवाह भएका युवतीहरूदेखि महिलाहरू चोकरको खोजीमा आउने गरेको उनको भनाइ छ । यो छोटो र पेन्टदेखि कुर्ता–सुरुवाल र साडीमा लगाउन सुहाउने भएकाले फेसनका रूपमा अगाडि बढ्दै गएको छ । बजारमा चोकर पोतेका मूल्य र रंगहरू फरक–फरक छन् । अहिले बजारमा पहेंला र राता मल्टिकलरका पोतेहरू उपलब्ध छन् । यिनीहरूको मूल्य तीन सयदेखि नौ सयसम्म रहेको उनी बताउँछन् । इलिगेन्ट बेलेट चोकर, पाएभ बल पोते, पोते न्याकलेसदेखि ह्यान्ड मेड पोते पनि ग्राहकहरूले
रुचाएको उनको भनाइ छ । क्रिस्टल पोते भने एक हजार तीन सयदेखि एक हजार सात सयसम्मका छन् । कुरुस पोतेको मूल्य दुई सय पर्छ ।

रातो पहिरनको बहार
तीजमा हरेकको रोजाइरातो पहिरन लगाउने हुन्छ। टप्स लगाउने कि कुर्ता, लेहेंगा लगाउने कि साडी । ग्राहकका रोजाइ प्रशस्त भेटिन्छन् । न्यूरोडमा तीजका लागि साडी किन्ने तरखरमा थिइन् गंगबुकी गोमा कार्की । उनी तीज आउनासाथ साडी किन्न हतारमा हुन्छिन् । उनलाई रातो साडीले तीजलाई अझ विशेष बनाइदिन्छ भन्ने लाग्छ । अरु समयमा लगाएको साडी भन्दा पर्वकै लागि भनी किनेर लगाउँदा उनलाई पर्वको महत्व अझ झल्किएजस्तो लाग्छ । उनले यो वर्ष चार हजारमा प्रेमनगरी साडी किनिन् । प्रत्येक वर्ष बजारमा नयाँ–नयाँ साडीको फेसन आउँछ । उनलाई फेसनका लागि नभए पनि आफ्नो खुसीका लागि साडी किन्नुपर्छ । बजारमा कटनको रातो टप्स एक हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म र कटनको साडीकोमूल्य तीन हजारदेखि सात हजारसम्म पर्छ । सिल्क साडी र डोला सिल्कको दुई हजारदेखि पाँच हजारसम्म तथा अनारकालीको सेट पाँच हजार र मल्टिकलर इम्ब्रोइड सिफन साडीको मूल्य चारदेखि छ हजारसम्म पर्छ ।

चुराको रहर
तीजमा झम्सिखेलकी सरिता देवी भट्टराईलाई हातभरि चुरा लगाउन मनपर्छ। उनी रातो साडी र रातै चुरा लगाउँछिन् । त्यसैले उनलाई असन मनपर्ने बजार हो । असनमा एकै ठाउँमा तीजका सबै सामान पाइने हुनाले पनि उनलाई सहज लाग्छ । उनको रोजाइको चुरा हो ‘ब्राइडल मेटल चुरा’ । यी चुरा सस्ता र राम्रा भएकाले मनपर्ने बताइन् । उनले पसलबाट २.४ को दुई दर्जन चुरा खरिद गरिन् । पहिरनमा म्याचिङ गरेर चुरा लगाउने टे«न्ङ पनि बढ्दै गएको इन्द्रचोकका व्यापारी आशिष श्रेष्ठ बताउँछन् । अहिलेधेरैले काँचका भन्दा मेटलका चुरा खोज्ने गरेका छन् । १५ वर्षदेखि चुरा बेच्दै आएका उनले बदलि“दो फेसनसँगै चुराको फेसनमा पनि परिवर्तन आएको बताउँछन् । युवतीहरूको रोजाइ भेल्भेटका चुरा हुन् । युवतीहरू पहिरनमा चुँजी हुने भएकाले म्याचिङ गर्नका लागि भेल्भेटका चुरा लगाउँछन् । रातो, हरियो, पहेंलो गरी थुप्रै कलरमा यी चुराहरू पाइने भएकाले पनि यिनको माग बढेको उनी बताउँछन् । त्यस्तै बजारमा ग्लोड प्याटेट चुरा, सिल्क थ्रेड चुरा, ग्लास चुरा, गोल्डेन, वाइट गोल्ड स्टोन, ग्लास जिरकनलगायतका चुरा छन् । यिनीहरू कुनै दुई पिसमा त कुनै दर्जनमा पाइन्छन् । मूल्य भने दुई सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पर्छ ।

सुनमा छैन आकर्षण
विगतका वर्षहरूमा जस्तो यो वर्ष सुनका गहनाको व्यापार छैन । तीज नजिकिँदै जाँदा ग्राहकहरू सुनमा आकर्षित नभएको न्यूरोडस्थित रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार बताउँछन् । मूल्य बढ्दै जाँदा र ग्राहकहरूको आकर्षण कम भएकाले कम मूल्यमा किन्न सकिने कम तौलका गहनाहरू निर्माण गरेको उनले बताए । उनले भने, ‘धेरै तौलका गहनाहरू महँगा हुने भएकाले कम तौलका कम मूल्य पर्ने गहनाहरू हामीले अफरमा दिने गरेका छौं ।’ अहिले हीराजडित गहनाहरूमा ग्राहकहरूको रुचि छ । यसका साथै तीजको समयमा तिलहरीको माग हुने गरेको उनको भनाइ छ । 

 Image