Successfully Copied

हेलमेट ब्रान्ड

नेपालमा भारत, इन्डोनेसिया र इटालीजस्ता देशहरूबाट हेलमेट भित्रिने गरेका छन् । यस्ता हेलमेट भारतको आइएस सर्टिफाइड, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गरेका छन् ।


स्कुटर होस् वा बाइक आवश्यक पर्दछ–हेलमेट । सुरक्षाका हिसाबले लगाउने हेलमेट अहिले फेसन आवश्यकता सँगसँगै ब्रान्ड पनि हेर्न थालिएको छ । हेलमेटका सोखिनहरूले ब्रान्डलाई पछ्याउन थालेका छन् । नेपाली बजारमा डेढ लाख रुपैयाँसम्मका हेलमेटहरू भित्रिएको बताउँछिन्–हेलमेट नेपालकी, अञ्जली महर्जन । उनका अनुसार महंगो हेलमेट नेपालमा भित्रिए पनि ६ हजारदेखि १० हजार रुपैयाँ सम्मका हेलमेट प्रयोगकर्ताहरूले किन्ने गर्छन् । युवापुस्ता मूल्यमा मात्र भर नपरी आजभोलि हेलमेटको लुक्स तथा सुरक्षामा पनि ध्यान दिने गरेको उनी बताउँछिन् । आफूले कस्तो सवारी साधन प्रयोग र केका लागि प्रयोग गर्ने भन्ने विषयमा प्रयोगकर्ताहरू हेलमेट रोज्ने गरेको उनी बताउँछिन् । नेपालमा भारत, इन्डोनेसिया र इटालीजस्ता देशहरूबाट हेलमेट भित्रिने गरेका छन् । यस्ता हेलमेट भारतको आइएस सर्टिफाइड, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गरेका छन् । हेलमेटहरू थर्मल सेल, फाइबर ग्लास र कार्बन फाइबरबाट बनेका हुन्छन् । हेलमेटको मूल्य पनि सोहीअनुसार निर्धारण हुने अञ्जली बताउँछिन् । प्लास्टिक सेलबाट बनेका हेलमेटको मूल्य कम पर्ने उनको भनाइ छ । नेपालमा उपलब्ध हुने हेलमेटको मूल्य यस प्रकार छ ।

स्टिलवर्ड
पछिल्लो समय चल्तीको हेलमेट हो–स्टिलवर्ड । युवापुस्ताको रोजाइमा समेत यो हेलमेट पर्छ । यसको लुक्स राम्रो हुने भएकाले पनि सबैको रोजाइमा परेको छ । विभिन्न मोडल र कलरमा उपलब्ध छन्–यी हेलमेट । सानो साइज भएकाले स्कुटरको डिकीमा राख्न सजिलो हुने भएकाले महिलाहरूको रोजाइ छ । भारतीय ब्रान्डका यी हेलमेटहरू २६ सय ५० देखि ७ हजार रुपैयाँसम्ममा पाइन्छन् ।

एलएस टु हेलमेट
स्पेनिस ब्रान्डका यीहेलमेटहरूको नेपाली बजारमा ७ हजार ५ सयदेखि १० हजारसम्म मूल्य पर्छ ।

इसीए
यी इटालियन ब्रान्ड भारतीय बजारमा निर्माण भएका हेलमेट हुन् । डबल डिरिङ भएका यी हेलमेटको मूल्य ७ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

केवाइटी हेलमेट
११–१२ हजार मूल्य पर्ने हेलमेट केवाइटी हेलमेट हुन् । इटालियन ब्रान्डका यी हेलमेट बाइक राइडरहरूले प्रयोग गर्छन् ।

एलएसटु
यीस्पेनिस ब्रान्डका हेलमेट हुन् । यसमा सुरुवाती मूल्य ७ हजार ५ सय र अर्को एलएसटुको ८ हजार ९ सयदेखि १० हजार रुपैंया“सम्म पर्छ । एलएसटु स्टिम इभो एलएसटु प्लस यी हेलमेटहरूमा पछाडि स्पोइलर हुने हुनाले सुरक्षाका हिसाबले उचित मानिन्छ । एयर डाइनामेकिकका रूपमा यी हेलमेटले काम गर्छन् ।


केवाइडी
केवाइडी ब्रान्ड पनि चलेको ब्रान्डमै पर्छ । रेसिङ हेलमेट भनेर यो हेलमेटलाई चिन्ने गरिन्छ । यसको मूल्य १२ हजार ५ सयदेखि १५ हजारसम्म पर्छ । यिनीहरूको विशेषताअनुसार मूल्यमा फरकपन छ । यी हेलमेटहरूको मूल्य ५० हजार रुपैयाँसम्म पर्छ । यी एरोडाइनामिक हुन्छन् । थर्मप्लास्टिक सेलबाट बनेका यी हेलमेट हलुंगा हुन्छन् । यी हेलमेट लङ ड्राइभका लागि उपयुक्त मानिन्छन् ।

एजीबी
नेपाली बजारमा डेढ लाख पर्ने हेलमेट हो–एजीबी ब्रान्डको हेलमेट । यो इटालियन ब्रान्ड हो । सुरक्षाको हिसाबले यो हेलमेट उपयुक्त मानिन्छ । यसको मूल्य ३२ हजार रुपैयाँदेखि सुरु हुन्छ ।

आइरो
यो युरोपियन सटिफाइड ब्रान्ड हो, आइरो । यो सुुरक्षाका हिसाबले राम्रो मानिएको हेलमेट हो । यो स्पोर्टका लागि उपयुक्त हेलमेट मानिन्छ ।

डट हेलमेट
अफरोडका लागि डट हेलमेट लगाउने गरिन्छ । यसमा पनि मोडलअनुसारको मूल्य पर्छ । फुल्ली डट र सेमिडटका हेलमेटहरू हुन्छन् । फुल्ली डटमा सनग्लास लगाउनुपर्छ । यसको मूल्य १० हजार रुपैँया पर्छ ।

कस्तो हेलमेट किन्ने ?
पहिलो कुरा हेलमेटको गुणस्तरमा ध्यान दिनुपर्छ । यसको मापदण्ड कस्तो छ र सुरक्षा मापदण्डको विषयमा ध्यान दिनुपर्छ । हेलमेटको साइजलाई ध्यान दिनुपर्छ । हेलमेट विभिन्न साइजमा उपलब्ध हुन्छन् । आफूलाई आवश्यक पर्ने हेलमेट छनोट गर्नुपर्छ । हेलमेटको तौलमा पनि ध्यान दिनुपर्छ । हेलमेटको तौल जति कम भयो उति राम्रो हुन्छ । धेरै तौलको भएमा टाउकोलाई बोझ हुन्छ । त्यसकारण तौलमा पनि ध्यान दिनुपर्छ ।

के छ मापदण्ड ?

नेपाल गुणस्तर तथा नाप तौल विभागले हेलमेटको गुणस्तर निर्धारण गरेको छ । विभागले हेलमेटको आकार स्वरूप, लक, भाइजर आदि कुरालाई ध्यान दिएको छ ।हेलमेटको भित्री फोम पोलियुरेथन हुनुपर्ने व्यवस्था छ । हेलमेट लगाउँदा पसिना आउने वा चिलाउने, छालाजन्य रोग निम्त्याउन नहुने मापदण्ड तोकिएको छ । त्यस्तै हेलमेट लगाउँदा गर्धनको माथिल्लो भाग छोप्ने कपडा हुनुपर्छ चिउँडोमा कस्सिने फित्ताको चौडाइ २० मिलिमिटरभन्दा कम हुनु हुँदैन। भाइजरलगायतका सामग्रीबाहेक हेलमेटको तौल डेढ किलोभन्दा बढी हुन नहुने भनेर तोकिएको छ ।

 Image