एकल महिला र अधिकार

एकल महिला र अधिकार
फाल्गुन १, २०७०

एकल महिला कसलाई भन्ने ?

एकल महिला भन्नाले विभिन्न प्रकृतिबाट श्रीमान्का साथ नभएकी महिलालाई जनाउँछ। ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका, श्रीमान्को मृत्यु भएका, श्रीमान्बाट छोडिएका, श्रीमान् बेपत्ता भएका, श्रीमान्सँग सम्बन्ध विच्छेद भएका, श्रीमान्बाट अलग भएर बसेका र वादी महिलाहरूलाई एकल महिलाको हैसियतमा बुझ्न सकिन्छ।

द्वन्द्व, प्राकृतिक प्रकोप, भवितव्य र अन्य कुनै पनि दुर्घटनाका कारण श्रीमान्को मृत्यु हुने, श्रीमान्ले श्रीमतीलाई कुनै खबर नगरी आफ्नो मनखुसीले श्रीमतीलाई छोडी बेपत्ता हुने, घरेलु हिंसा, विचारको भिन्नता आदि कारणले श्रीमान्-श्रीमतीबीच सम्बन्ध विच्छेद हुने वा छुट्टीभिन्न भएर बस्ने र बच्चा भएका तर श्रीमान्को ठेगान नभएका वादी महिला पनि एकल महिला हुन्। कुनै समयमा संस्कारका रूपमा झाँगिएको प्रथा, आर्थिक अभावका कारण यौन पेसामा संलग्न भएर जीवन निर्वाह गरेका घरबारविहीन महिलाहरूलाई पनि एकल दर्जा दिन सकिन्छ।

परिवार तथा समाजमा एकल महिलाको अवस्था

अविवाहित ः शारीरिक तथा आकृतिगत हिसाबले कसैले नपत्याएका कारण विवाह हुन नसक्दा महिलालाई पारिवारिक तथा सामाजिक रूपमा बूढीकन्याको आक्षेप लगाउने चलन पनि छ। माइत बसेकी महिलालाई दाजुभाइ, भाउजू-बुहारी एवं आमाले पनि दुव्र्यवहार गरेको पाइन्छ। विविध कारणले विवाह नभएको अवस्थामा समाज अनि परिवारले लाञ्छना लगाउँदा हुने पीडा जो कोहीले सहजै अनुमान गर्न सक्छन्।

श्रीमान्को मृत्यु ः एउटा सुखी जीवन यापन गर्ने सपना बोकेर सन्तानलाई जन्म दिई वा नदिँदैको अवस्थामा कुनै कारणले श्रीमान्को मृत्यु भए ती एकल महिलालाई हाम्रो समाजले नकारात्मक दृष्टिकोणले हेर्छ। यद्यपि समय रूपान्तरण हुँदै जाने क्रममा विधवा महिलालाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन देखिन थालेको छ।

श्रीमान्बाट छोडिएका ः लामो समयसम्म खबर नगरी श्रीमान् बेपत्ता हुँदा एउटी महिलाले मानसिक रूपमा धेरै द्वन्द्व झेल्नुपर्छ। न मरेको खबर छ न त जिउँदो, न उनी विधवा न त सधवा। यो अवस्थामा विशेष गरी घरपट्टिका परिवार र आफन्तले उनलाई हेर्ने नजर सहजै अनुमान गर्न सकिन्छ। समाजले पनि श्रीमान् हराउनुमा उनैलाई लाञ्छित गरी पीडा दिइरहेको हुन्छ।

श्रीमान्सँग सम्बन्ध विच्छेद भएका वा छुट्टएिर बसेका ः श्रीमान्सँग बाँचुन्जेल जीवन बिताउँला भनी गाँसिएको सम्बन्ध जिउँदो हुँदाहुँदै विच्छेद भएको अवस्थामा महिला परिवार र समाजमा एक्लिन पुग्छिन्। न उनका श्रीमान्को परिवारसँग नाता रहन्छ न त माइतीसँग नै। विवाह गरी गएकी छोरीलाई पराइ देख्ने हाम्रो समाजले फेरि उनलाई आफ्नो परिवारमा समावेश गर्न सक्दैन। एकपटक डोली चढेर गएकी छोरीको उक्त घरबाट लास निस्कनुपर्छ भन्ने मान्यता राख्ने हाम्रो रुढिवादी संस्कारमा एउटी छोरीले विविध कारणवश आफ्नो श्रीमान्लाई कानुनी रूपमा त्याग्नुपरेको अवस्थामा उसलाई आफ्नो परिवारको अंशको रूपमा माइती पक्षले स्वीकार गर्न सक्दैन। श्रीमान्को घरपट्टकिा त कानुनी सम्बन्ध विच्छेदका कारण कुनै नाता सम्बन्ध रहँदैन। गोत्र परिवर्तन गरी गएकी चेलीको सम्बन्ध विच्छेद भएपछि गोत्र कुन हुने ? श्रीमान्सँग सम्बन्ध विच्छेद नभएका, तर वैचारिक वा अन्य विविध कारणवश छुट्टीभिन्न भएर बस्ने महिलाहरू कुनै पनि व्यवहारमा न स्वतन्त्र हुन सक्छन् न परिवारबाट सहयोग पाउँछन्।

माथिका दुवैखाले एकल महिलाको आफ्नो कुनै पहिचान रहँदैन। उनीहरू साँच्चिकै समाज र परिवारबाट सम्पूर्ण रूपमा एकल हुन पुग्छन्।

वादी महिला ः कुसंस्कारको फलस्वरूप जातीय हिसाबमा पिल्सिएका र प्रताडित महिलालाई कतिपय मानिसले आफ्नो यौन प्यास मेटाउने वस्तुका रूपमा उपयोग गरी मिल्काउने गरेका कारण वादी महिलाको पहिचान नै अलग किसिमले बनेको छ, कलङ्कति बनेको छ। उनीहरू आर्थिक रूपमा पनि सहजै पिछडिएका वर्ग हुन् किनभने बाबुको जिम्मेवारी (पालन-पोषण गरी हुर्काउने-बढाउने र पढाउने काम) समेत जबर्जस्ती ती महिलाको काँधमा परेको हुन्छ। उनीहरूलाई समाजबाटै यौनकर्मीका रूपमा अपमान गरिन्छ। उनीहरूलाई त्यो अवस्थामा पुर्‍याउने कतिपय स्वार्थी मानिसले आफ्नो कुकर्म लुकाउन जालझेल गरेका छन्। यौन पेसाका क्रममा जन्मिएका बालबच्चाहरूको लालन-पालनका निम्ति उनीहरू अझ थिचोमिचोमा परेका छन्।

सम्पत्तिमाथिको अधिकार

क) अविवाहित एकल ः अन्तरिम संविधान, २०६३ अनुरूप छोराछोरी जन्मजात नै पैतृक अंशको हकवाला ठहरिन्छन् तर व्यावहारिक रूपमा त्यस्तो छैन। पैतृक अंश लिएको छ भने पनि विवाहपछि दाजुभाइलाई फिर्ता गर्नुपर्ने अवस्था छ। अंश लिएपछि आफूलाई चाहिएको अवस्थामा उक्त सम्पत्ति बेचबिखन गर्न पनि डर-त्रासको अवस्था छ। दाजुभाइसँग सम्बन्ध बिगि्रएला भन्ने मानसिकता र आफू एक्लो भएको कुराले सो सम्पत्ति आफूखुसी प्रयोग गर्न सकिरहेको अवस्था छैन।

ख) श्रीमान्को मृत्युका कारण भएका एकल ः श्रीमान्को मृत्युपछि श्रीमान् हकवाला भएको सम्पूर्ण सम्पत्ति एकल महिलाको अधिकारमा रहन्छ। श्रीमान् जागिरे भए उनको नामको निवृत्तभरण, बीमा रकम, उनको मृत्युको कारण पाएको क्षतिपूर्ति सबै ती एकल महिलाले पाउने व्यवस्था छ, तर ती सबै प्रक्रियाका निम्ति एकल महिलालाई कानुनी अधिकारको जानकारी हुँदैन।

ग) सम्बन्ध विच्छेदबाट भएका एकल ः विगत केही वर्षदेखि महिलाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा श्रीमान्बाट आधा अंश लिई अलग हुन सक्छिन्, तर श्रीमान् जीवित हुँदाहुँदै उनको नामको अंश प्राप्त गर्न ती एकल महिलाले अनेकौं बाधा-व्यवधान, धम्की र त्रास व्यहोर्नुपर्छ। सोही क्रममा प्रायः उनले कसैको पनि साथ पाउँदिनन्। केही वर्षअघिसम्म महिलाले सम्बन्ध विच्छेद गर्न चाहे कुनै पनि अंश लिन नपाउने व्यवस्था थियो। सो अवस्थामा सम्बन्ध विच्छेद गरे महिलालाई घर र माइती पक्षबाट कुनै अंश दिएको देखिँदैन।

घ) श्रीमान्बाट छोडिएका एकल ः यदि श्रीमान् कुनै कारणवश बेपत्ता भए श्रीमान्को हक रहेको अंश ती एकल महिलाले पाउन सक्छिन् तर श्रीमान्को घरपरिवारले समस्या खडा गर्न सक्छन्।

ङ) वादी महिला ः बाबुको पहिचान र स्वीकार नहुने कारणले पैतृक अंश पाउने कठिनाइ देखिन्छ।

महिलाप्रतिको दृष्टिकोण

एकल महिलाहरू कुनै न कुनै समस्याबाट प्रताडित छन्। मानसिक, शारीरिक, सांस्कृतिक, धार्मिक, पारिवारिक, आर्थिक, राजनीतिक, कानुनी रूपमा कहीँ न कहीँ पीडित भएको प्रस्ट छ। को कति कुन रूपमा समस्यामा परेका छन् भन्ने कुरा शिक्षा, परिवार, समाज र उसको आफ्नै चेतनाको स्तरअनुसार फरक छ।

एकपटक श्रीमान्सँग बसेर एक्लिएका एकल महिलाहरू (विशेषगरी विधवा र सम्बन्ध विच्छेद भएका) लाई सामाजिक रूपमा भिन्दै नजरले हेरिएको पाइन्छ। एक्लिएपछि पनि ऊ कसैसँग लागेकी होली भन्ने शङ्का-उपशङ्काले त्यस्ता एकल महिलाहरूको जीवन नारकीय बन्न पुग्छ। उसको समाज र परिवारमा आफ्नो अस्तित्वसँग शिर उभ्याएर बाँच्न पाउने अधिकारलाई निस्तेज पार्ने अनेकौं जाल रचिन्छ।

कुनै एक महिलाले आफ्नो मेहनत, सीप, क्षमता र बलबुताले कुनै राम्रो स्थान, पद वा सम्पत्ति आर्जन गरे पनि कुनै न कुनै पुरुषको काँध चढेरै हो भन्ने नकारात्मक सोच पाइन्छ।    समाजमा खुट्टा तान्ने प्रवृत्तिले गर्दा आफूजस्तै अर्को साथी एकल भएर अघि बढ्दै गएको देखिए तिनै शिक्षित साथीभाइबाट पनि टीका-टिप्पणी गरिन्छ। परिवारमा पनि दाजुभाइ-दिदीबहिनीभन्दा कुनै एक बहिनी वा दिदी जो एकल छ उसले प्रगति गर्दै जान्छे भने पनि परिवारका अरू सदस्यलाई त्यो सह्य हुँदैन। उसको प्रयासमा साथ र हौसला दिनुको साटो हतोत्साही गराउन आफ्नै परिवारले पनि ठूलै भूमिका खेलेको पाइन्छ।

सरकारी निकायबाट पनि कुनै एउटा पक्षका एकल महिलालाई तोकेर राहत दिनुको साटो एकल महिलाको परिभाषामा पर्ने एकल महिलाहरूको आर्थिक एवं पारिवारिक अवस्था अध्ययन गरेर सोहीअनुरूप राहत रकम, शिक्षा र सीप अनि रोजगारका निम्ति पहल गरिनुपर्छ। उनका सन्तान जो बाल अधिकारको न्यूनतम घेेराभित्र पर्दैनन् उनीहरूका निम्ति गहकिला कार्यक्रमहरू ल्याउनुपर्छ। सम्पत्ति र रोजगार भएका एकललाई फेरि राहतस्वरूप केही रकम दिनुको कुनै औचित्य छैन, बरु गरिब र अशिक्षाको एउटा स्तर तय गरेर त्यसभित्र पार्न सोचिनुपर्छ। परिवार, समाज, राष्ट्र अनि अन्तर्राष्ट्रिय जगत्को ध्यान अत्यन्त आवश्यक स्थान र व्यक्तिमा पर्नुपर्छ। परिवारमा सबैभन्दा तल परेको वा अरु सदस्यभन्दा प्रगति गर्न नसकेको र साथ आवश्यक भएकोलाई सकेसम्म साथ र सहयोग दिन पहल गरिनुपर्छ। त्यसैगरी समाज राष्ट्र अनि अन्तर्राष्ट्रिय जगत्ले पनि सोहीअनुरूप (सीमान्तकृत समूह) पहिचान उनीहरूको समय सापेक्ष आवश्यकता र सम्मानजनक बाँच्न पाउने अधिकार प्रवर्द्धनका निम्ति रणनीति र कार्यक्रम तर्जुमा गर्नुपर्छ। निरीक्षण पारदर्शी एवं न्यायसंगत हुनु आवश्यक छ।

महिला अधिकारका निम्ति निरन्तर संघर्षशील व्यक्तित्व, समूहले पनि सम्पूर्ण एकल महिलाहरूलाई एउटा मालामा उन्ने प्रयास गर्ने र उनीहरूको हक-अधिकारका निम्ति वकालत गर्न जरुरी देखिन्छ। को कुन रूपमा एक्लिएको भन्दा पनि हरेक एकल महिलालाई आइपर्ने समस्या अध्ययन गरेर एकता देखाउन जरुरी देखिन्छ। यसमा समाजका बराबरीका हकदार महिला-पुरुष दुवैको समान जिम्मेवारी छ। यो समाज अनि संस्कार परिवर्तनको युद्धमा महिला वा पुरुषमध्ये कुनै एक पीडित भए यहाँ दुवैको हार हुनेछ।

विधवा र विच्छेदित महिलाको अवस्था

एकल महिला विशेषगरी विधवा र विच्छेदितलाई माइतमा पनि कुनै स्थान हुँदैन। जब उनीसँग राम्रो श्रीमान् छ भने मात्र उनलाई राम्रो दृष्टिकोणले हेरिन्छ। यसमा पनि सम्बन्ध विच्छेद गरेकाहरूको त अझ दयनीय अवस्था हुन्छ। त्यसैले महिलालाई जन्मजातै बाबुको सम्पत्तिमाथि छोरासरह छोरीको पनि अधिकार हुनुपर्छ। संविधानमा समान अधिकार भने पनि अंशबन्डा हुनुअघि विवाह गरेका दिदी-बहिनीलाई अंश दिनु नपर्ने कुराले अंशको प्रावधानको पनि कुनै अर्थ राख्दैन। अंशबन्डाको प्रक्रियामा अंसियार को-को छन् भनेर जसरी खोजी गरिन्छ त्यतिबेला विवाहित छोरीको पनि खोजी गरी बराबर अंशबन्डा गरिनुपर्छ। त्यसो भए आफ्नो पारिवारिक आर्थिक अवस्थाअनुरूप उनले पनि आफूलाई सक्षम, सबल बनाउँदै जान सक्छिन्। आफ्नो प्रगति र वृत्तिमा अरु इँटा थप्न सक्छिन्। रोजगार वा स्वरोजगारका लागि मार्ग पहिल्याउन सक्छिन्। आफ्नो इच्छाअनुरूप विवाहपछि पनि शिक्षा र सीपमूलक कार्यमा लगानी गर्न सक्छिन्। यसरी विवाहअघि वा पछि जुनसुकै समयमा किन नहोस् महिला हुनुको अस्तित्व-बोध पनि कायम रहन्छ।

अन्तिम प्रण

त्यसैले आजैदेखि छोराछोरी, दाजुभाइ, दिदी-बहिनी, श्रीमान्-श्रीमती, महिला-पुरुषको नाममा भएका कुनै पनि भेदभावपूर्ण संस्कार, कानुन, विचारका विरुद्ध एक हुने प्रण गरौं। भेदभावरहित समाजको निर्माणका निम्ति सबैले आ-आफ्नो स्थानबाट आफ्नो योग्यता, क्षमता र सीपअनुरूप योगदान दिने थप प्रयास गरौं। जातजाति, धर्म-संस्कृति, भौगोलिक अवस्था आदिका नाममा एकल महिलाको सन्दर्भ पनि व्यक्ति विशेषका लागि प्रयोग हुन लाग्यो भने पीडित महिलाको स्थिति अझ दर्दनाक हुने कुरा निश्चित छ।

- बालकुमारी पन्त

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>