Successfully Copied

नवदुर्गाको पूजा नारी शक्तिको पहिचान

नारी शक्ति, प्राकृतिक शक्ति, सृष्टि र संहार दुवै शक्तिकी प्रतीक नवदुर्गाको आराधना गर्नुको अर्थ हो सृष्टि नारीविना सम्भव छैन, पालनपोषण र हेरचाह नारी शक्ति, नारीको प्रेमविना सम्भव छैन भने दानवीय तत्वको संहारमा पनि दुर्गा शक्ति नै आवश्यक छ ।

 

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।

सबैको प्राणमा शक्ति रूप लिएर अवस्थित देवी मातालाई सबै धर्म, परम्परा तथा समाजमा पूज्य मानिएको छ परम्परादेखि नै । देवी शक्ति, नारी शक्ति, मातृ शक्ति र सृष्टिकी जननी नारीहरू सधैं उच्च कोटिमा छन् अस्तित्वका तर्फबाट । तैपनि हाम्रो समाजमा महिलालाई सधैं दोस्रो कोटिमा राखेर हेरियो भन्ने धारणाले जरा गाडेको छ र व्यवहारमा समेत त्यस्तै देखिन्छ । प्रत्येक वर्ष आउने बडादसैं अर्थात् नवदुर्गा पूजाले यो भ्रमलाई गलत साबित गर्छ । चेतनाको स्तरबाट नै महिलालाई सबै धर्म र परम्पराले उच्च कोटिमा राखेको पाइन्छ । हाम्रो हिन्दू धर्मले पनि दुर्गाशक्तिकै रूपमा नारीलाई उच्च स्थानमा राखेको छ । यद्यपि नेपाली समाजमा बढ्दै गएका महिला हिंसाका घटना र संशोधित कानुन, विधान एवं विधेयक पनि महिलालाई ध्यानमा राखेर, महिलालाई प्राथमिकतामा राखेर बनेनन् भन्ने गुनासो आइरहन्छ ।

अझ नागरिकताको सवालमा त महिलामैत्री कानुन बनेकै छैन भन्ने गुनासो छ । निर्वाचन प्रक्रिया होस् वा सामाजिक पद र दायित्वमा महिला सहभागितालाई आरक्षणमा छुट्याइनु र महिलाको मर्यादालाई पुरुषले निर्धारण गरिनुले पनि हिस्सा बराबरी र पाइला हाराहारी भन्ने आवाज उठाउन बाध्य भएको हुनुपर्छ महिलाहरू । यी सब समाजले बनाएका मान्यता हुन् र परिवर्तनका लागि यस्ता मान्यतामा पनि परिवर्तन आउनुपर्छ भन्ने सोचको विकास भने अझै भैसकेको छैन । महिलालाई दोस्रो कोटिमा राखेकै हो त समाजले ? परम्पराले ? धर्मले ? समाजमा घट्ने कुनै सामान्य घटना र व्यक्तिको संस्कार अनि व्यवहारका आधारमा महिलालाई दोस्रो कोटिमा राखिएको छ भनेर सामान्यीकरण गरिनु हुँदैन भन्ने तथ्य त नवदुर्गाको महत्वले नै प्रस्ट पारिदिएको छ ।

नारी शक्ति, प्राकृतिक शक्ति, सृष्टि र संहार दुवै शक्तिकी प्रतीक नवदुर्गाको आराधना गर्नुको अर्थ हो सृष्टि नारीविना सम्भव छैन, पालनपोषण र हेरचाह नारी शक्ति, नारीको प्रेमविना सम्भव छैन भने दानवीय तत्वको संहारमा पनि दुर्गा शक्ति नै आवश्यक छ । नाश अर्थात् संहार त्यही चीजको गरिन्छ जुन मानव जीवनमा आवश्यक छैन । त्यसैले महिषासुर, शुुम्भ, निशुम्भ एवं रक्तबीजरूपी राक्षस तत्व जसले समाजमा, घरमा र स्वयं व्यक्तिभित्र अत्याचार गरिरहेको छ त्यसलाई नष्ट गरिएको प्रतीक स्वरूप दुर्गाशक्तिको महिमा गाइएको हो । जहाँ सुरक्षा र सुखको आवश्यकता महसुस हुन्छ त्यहाँ असुरक्षा महसुस गराउने असुरहरूको नाश गर्नैपर्ने हुन्छ । कथा, किम्वदन्ती, धार्मिक ग्रन्थ, पर्वहरू तथा पुराणमा जसरी उल्लेख भए पनि तिनले दिन खोजेको मुख्य सन्देश भनेको प्रत्येक व्यक्तिभित्रको दानवरूपी, अन्धकाररूपी शक्तिलाई प्रेमरूपी शक्तिमा परिवर्तन गर्न दुर्गा अर्थात् नारी स्वरूपको आवश्यकता छ ।

बाहिरको अत्याचार र भित्रको अशान्ति दुवै दानवीय प्रवृत्ति हुन् । बाहिर अत्याचार छ भने कसरी प्रेम फैलिन्छ ? मानिस भित्रैबाट अशान्त छ भने कसरी आनन्दित हुनसक्छ ? प्रेम र आनन्दको शक्ति नारीको स्वरूप हो त्यसैले त के नारी के पुरुष नवरात्रिभरि शक्तिपीठ पुगेर पूजा–आराधना गर्छन् । बडादसैंको पर्व र उत्सवमा कस्तो शक्ति चाहन्छ र व्यक्तिले ? उसलाई शक्ति होइन प्रेमको, अपनत्वको, ध्यानको, भित्रको शान्ति र आनन्दको चाहना भएकाले दुर्गा शक्तिको आराधना गर्छ । प्रकृतिको सबै ऊर्जा नारी शक्तिमा समाहित हुने तथ्य अस्तित्वले समेत स्वीकार गरेको छ । प्रत्येक घरको सुख, शान्ति, समृद्धि, आनन्द र सुरक्षामा नारीको प्रमुख भूमिका रहन्छ । त्यसकै प्रतीक हो नवदुर्गाभरि नवदुर्गाको प्रतिमा स्थापना गरी आराधना गर्नुको तात्पर्य पनि ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया: ।।

मनुस्मृतिमा समेत उल्लेख गरिएको छ–‘जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् र जहाँ नारीको सम्मान हुँदैन, नारीलाई तिरस्कार गरिन्छ त्यहाँ गरिएका कुनै पनि धार्मिक कार्य सफल हुँदैनन् ।’ जहाँ व्यभिचार हुन्छ त्यही हो पाप । जहाँ प्रेम र सद्भाव छ त्यही हो धर्म । मन्दिर धाउनुको बेफाइदा छैन तर घरलाई नै मन्दिर बनाउने कला जान्नु महत्वपूर्ण छ । दस हात भएकी नारीको प्रतीक स्वरूप दुर्गाको मूर्ति र तस्बिर मात्र पूजा गरेर होइन दुई हात भएर पनि दस हात भएझैं घर, बालबच्चा, नोकरी, इष्टमित्र, सरसफाइ, किनमेल, करेसाबारी सबैतिर ध्यान दिन सक्ने, प्रेम जगाउन सक्ने आफ्नो घरका नारीप्रति सम्मान गर्नु भन्ने सांकेतिक अर्थ बोकेको छ नवदुर्गा पर्वले ।

नवरात्रिको समय ऋतु र मौसमअनुसार पनि मानिसमा तामसिक प्रवृत्तिको विकास हुने भएकाले त्यसलाई शान्त पार्न नवदुर्गाको शक्ति प्रयोग गरिएको हुनुपर्छ । राक्षसी प्रवृत्तिलाई नाश गरेर शान्ति र प्रेम फैलाउने कार्य गरेको सांकेतिक उदाहरण हो दुर्गाशक्ति तर मानिसले यसलाई आफ्नो अनुकूल बनाउन खोज्दै परम्परा नै उल्टो बनाएको छ । व्यक्तिले आफूभित्रको राक्षसी प्रवृत्तिको नाश गरी ध्यान र साधनाको कला अपनाउनुको साटो निरीह पशुलाई बलि दिएर नवदुर्गाको उपासना गरेको छु भनिरहेका छन् । मानिसभित्र उत्पन्न हुने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य एवं ईष्र्या नै असुररूपी राक्षसी प्रवृत्ति हुन् भने प्रेम, ध्यान, करुणा, शान्ति र आनन्द दुर्गा स्वरूप हुन् । प्रत्येक व्यक्तिभित्र रहेको प्रेम, ध्यान र आनन्द जागृत हुन सके मात्र प्रत्येक वर्ष मनाइने दुर्गापूजा र बडादसैंको वास्तविक मर्म उजागर हुनेछ ।

 Image