Successfully Copied

सागमा महिला शान

१३ औँ  दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन हुनु दुई दिनअघि नै महिला भलिबल खेलाडीहरूले नयाँ इतिहास रचे । पहिलो पटक सागको फाइनलमा पुगेको महिला भलिबल टोलीले कम्तीमा पनि रजत हात पार्ने सम्भावना देखिएपछि खेलाडीहरूको चर्चा चुलियो ।

१३ औँ  दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन हुनु दुई दिनअघि नै महिला भलिबल खेलाडीहरूले नयाँ इतिहास रचे । पहिलो पटक सागको फाइनलमा पुगेको महिला भलिबल टोलीले कम्तीमा पनि रजत हात पार्ने सम्भावना देखिएपछि खेलाडीहरूको चर्चा चुलियो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले श्रीलंकामाथि जित हासिल गरेपछि नेपाली टोली फाइनलमा पुग्ने पक्का भएको हो । यसअघि कांस्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।

फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दा भने नेपाल उत्कृष्ट खेल खेल्न सकेन । खेलमा नेपालले पछिल्लो दुई सेट गुमाएपछि ऐतिहासिक स्वर्ण पदक जित्ने मौका गुमाएको हो । महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको २० वर्षपछि घरेलु मैदानमा सागमा रजत पदक हासिल गरेको हो । नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो । सागमा प्रवेश गरेको २० वर्षपछि रजत हात पार्नु ऐतिहासिक सफलता हासिल गरेको बताउँछिन्–भलिबल टिमकी क्याप्टेन अरुणा शाह । उनका अनुसार १३ औं सागमा महिला भलिबल टिमले उत्कृट प्रदर्शन गरेको हो । उनले घरेलु मैदानमा स्वर्ण हात पार्न खेलाडीहरूले मेहनत गरे पनि सफलता भने हात पार्न नसकेको बताइन् । उनले अर्को साग प्रतिस्पर्धामा भने स्वर्ण जित्ने संकल्पसमेत गरिन् । 

काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३ औं दक्षिण एसियाली सागमा २६ खेलका लागि  १२५१ जना महिलाको सहभागिता रह्यो । नेपालले काठमाडौंबाहिर अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेको पहिलोपटक हो । जसमा नेपालका २९२ महिलाले प्रतिनिधित्व गरे । त्यसमा महिलाहरूले स्वर्ण, रजत र कांस्य पदक हासिल गरेर कीर्तिमानी कायम गरे ।  

महिला क्रिकेटअन्तर्गत कीर्तिमानी कायम गर्ने खेलाडी हुन् अञ्जली चन्द । उनले क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् । अन्तर्राष्ट्रिय  टी–ट्वान्टी महिला क्रिकेटमा कुनै पनि क्रिकेटरले यस्तो कीर्तिमान बनाएका छैनन् । भारोत्तोलनमा सञ्जु चौधरीले पनि इतिहास रचिन् । महिला ५९ केजी तौल समूहमा उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारिन् । यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने प्रथम नेपाली खेलाडी बनिन् । उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।

फुटबलमा चम्किएकी अर्की खेलाडी हुन्–सावित्री भण्डारी । उनी महिलातर्फ अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । ३८ गोलसहित सावित्री प्रथम भइन् । १३ औं सागमा पुरुषको तुलनामा महिलाको खेल अब्बल रह्यो । पुरुषको तुलनामा महिलाहरूले बढी स्वर्ण जितेका छन् । तेक्वान्दोमा दुई बच्चाकी आमा आयुषा शाक्य दुई स्वर्ण जितेर चर्चित बनिन् । ट्रायथलनमा पनि महिला खेलाडी सोनी गुरुङले इतिहास रचिन् । ट्रायथलनमा स्वर्ण जित्ने प्रथम महिला खेलाडी बनिन् गुरुङ । भारतीय खेलाडीलाई पछि पार्दै उनले स्वर्ण पदक हात पारिन् । यसअघि नेपाली खेलाडीहरूले कुनै पनि ट्रायथलनमा स्वर्ण जित्न सकेका थिएनन् । उसुमा पनि महिला खेलाडीहरूको खेल अब्बल रह्यो ।

निमा घर्ती मगर सागमा लगातार दुई पटक स्वर्ण जित्ने खेलाडी बनिन् । साइक्लिङमा महिलाहरूले पनि इतिहास रच्न पछि परेनन् । नेपाली महिला खेलाडीहरूले सागमा पहिलोपटक स्वर्ण पदक हासिल गरे । निश्मा श्रेष्ठ र लक्ष्मी मगरले पहिलो पटक स्वर्ण पदक हासिल गरेका हुन् । एथलेटिक्समा सन्तोषी श्रेष्ठ पनि इतिहास रच्न पछि परिनन् । सागमा एथलेटिक्समा स्वर्ण पदक जित्ने प्रथम नेपाली महिला खेलाडी बनिन् उनी । सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने प्रथम नेपाली खेलाडीको नाम राखिन् । नेपालकी जलपरी गौरिका सिंह पनि ऐतिहासिक खेलाडी बन्न पुगिन् । उनले स्वर्णका लागि ह्याट्रिक गरेकी हुन् । उनले १३ औं सागमा ३ स्वर्ण हासिल गर्दै इतिहास रचिन् । 

सागमा महिलाहरूले स्वर्ण पदक जितेर मात्र होइन रजत पदक हासिल गरेर इतिहास रचेका छन् । म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भइन्–पुष्पा भण्डारी । उनले म्याराथनमा २ घन्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । इतिहासमै नेपाली महिला कबड्डी टोली पहिलोपल्ट फाइनलमा पुग्यो । २० वर्षपछि मिनु गुरुङले बक्सिङमा स्वर्ण पदक जितिन् । उनी सागमा स्वर्ण जित्ने प्रथम नेपाली महिला बक्सर बनेकी छन् । उनले ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् । 

जसले जिते पहिलो स्वर्ण 

सन् १९९१ मा श्रीलंकामा आयोजित साफ गेम्समा नेपालले दुई स्वर्ण जित्यो । नेपालले जितेका दुवै स्वर्ण पदक महिलाका हातमा परे । महिला खेलाडी सिजरिन शाह र गीता क्षेत्रीको नेतृत्वमा रहेको टेबलटेनिस टिमले पहिलोपटक महिलाको तर्फबाट स्वर्ण पदक हासिल गर्‍यो । टेबलटेनिस टिमले महिला टिम इभेन्टतर्फ पहिलो स्वर्ण पदक जित्यो । यही लहरमा अर्को स्वर्ण पदक जित्ने खेलाडी हुन्–अनिता श्रेष्ठ । उनले सुटिङको १० मिटर एयर राइफलमा स्वर्ण जित्दै स्वर्ण जित्ने महिलामा अर्को नाम थपिन् । नेपालले उक्त खेल खेलेपछि नेपाली महिलाहरूको नाममा स्वर्ण पदकको इतिहास रचियो । पहिलोपटक सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद साफमा पनि महिला खेलाडीहरूले सहभागिता जनाएका थिए । पौडीको ४ गुणा १०० मिटरमा श्रद्धा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ र नीलम तुलाधरले महिलाको तर्फबाट साफमा पहिलो कांस्य पदक दिलाए ।

दोस्रो साफ गेम्समा नेपाली महिला खेलाडीले कुनै पनि पदक हासिल गर्न सकेनन् । तेस्रो साफ गेम्समा नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । सिजरिन शाह र नीलम तुलाधरको टोलीकै दबदबा रह्यो । सोही संस्करणमा सिजरिनले धर्ममान बज्राचार्यसँग मिलेर मिक्स डबल्समा नेपाललाई अर्को रजत पदक दिलाएकी थिइन् । सिजरिनले एकल स्पर्धामा समेत कांस्य पदक जितिन् । एथलेटिक्सकी विमला जोशीले एउटा र मेनुका राउतले दुईवटा कांस्य पदक जिते । तेस्रो साफ गेम्सदेखि नेपाली महिला खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्न सुरुवात गरेका हुन् ।  

महिला खेलाडीहरू पनि अब्बल छन् 

डा. अच्युतम लामिछाने खेलकुदविज्ञ 

१३ औं सागसम्म आइपुग्दा नेपाली महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनी रह्यो । नेपाली महिला खेलाडीहरू धेरै अगाडि आइसकेका छन् । एउटा खेलमा मात्र नभई महिला खेलाडीले फरक–फरक खेलमा राम्रो प्रदर्शन गरेका छन् । महिलाहरूको प्रदर्शनी उत्कृष्ट हुनुको कारण भनेको समाजमा आएको सकारात्मक परिवर्तन र महिलामैत्री वातावरण निर्माण हुनु हो । भारत महिला खेलाडीका रूपमा अब्बल देखिएको छ । अन्य देशहरूमा भने महिलामैत्री वातावरण निर्माण हुन सकेको छैन । यसकारण नेपाल र भारतबाहेकका महिला खेलाडीहरू कमजोर छन् । अन्य खेलाडीको तुलनामा नेपाली महिला खेलाडीहरू अब्बल देखिए पनि भारतसँग भने कमजोर नै छन् । यसको कारण महिलाहरूलाई अगाडि बढाउन नसक्नु हो । महिला खेलाडीहरूले आवश्यक तालिम लिने वातावरण छैन । खेलाडीहरूको आर्थिक अवस्था पनि कमजोर छ । महिला खेलाडीहरू खेल जीवनले जीवन धान्न नसकेपछि लामो समय टिकिरहन सकेका भने छैनन् । यदि सरकारले खेलाडीको सामाजिक सुरुक्षा गर्नुका साथै अन्य सुविधाहरू दिन सके महिलाहरू पनि खेलमा अब्बल हुन सक्छन् ।     

 Image