Successfully Copied

गर्मीमा छालाको सुरक्षा

चिल्लो छालामा धेरै धूलो टाँसिने र अनियन्त्रित पसिना आउने हुँदा तैलीय ग्रन्थिहरू थुनिने भएकाले डन्डिफोर बढाउँछ ।

डा.स्मृति श्रेष्ठ

असिस्टेन्ट प्रोफेसर तथा छालारोग विशेषज्ञ

गर्मी सुरु भइसकेको छ । यतिबेला पसिना, चिल्लोपन, कडा घामको किरण र प्रदूषणको प्रभावले छालामा समस्या देखा पर्न सक्छन् । गर्मीमा तैलीय ग्रन्थिहरू धेरै सक्रिय हुने भएकाले अनुहार चिल्लो र चमकहीन देखिन सक्छ । चिल्लो छालामा धेरै धूलो टाँसिने र अनियन्त्रित पसिना आउने हुँदा तैलीय ग्रन्थिहरू थुनिने भएकाले डन्डिफोर बढाउँछ । तैलीय छाला हुने व्यक्तिमा डन्डिफोरको समस्या प्रायः गर्मीमा धेरै बढ्छ । प्रदूषणका कारण यो समस्या झनै बढ्छ । पहिले भन्दा तापक्रम बढ्दो छ भने वायुमण्डल पातलिँदै छ । घामका रापिला किरणहरू चर्किदैछन् । यी किरणले डन्डिफोर, डन्डिफोरको दागमात्र नभई पोतो, तिलकोठी र चायाँ पनि बढ्छ । महिला र किशोरीमा पोतोको समस्या धेरै देखिन्छ । कतिपय पुरुषमा समेत पोतो आउने गरेको छ ।

घामको चर्को विकिरणले छालाको तन्कने र खुम्चनेगुणयुक्त तत्व ‘कोल्याजन’ लाई घटाएर छिटो चाउरीपन निम्त्याउँछ । गर्मी महिनामा धेरै घाममा बस्ने मानिसमा चाउरीपन झनै छिटो आउँछ । १६ वर्षको उमेरपछि प्रत्येक वर्ष छालाले १५ कोल्याजन गुमाउँछ । पछिल्लो समय २५ वर्षमै चाउरीपन सुरु हुने क्रम बढ्दो छ । उमेर नपुग्दै केश पातलो हुनु, तालुखुइले हुनु, केश फुल्नु पनि घामको किरणकै असर हो । विभिन्न मेडिकल अनुसन्धानकाअनुसार सातामा १६ घन्टाभन्दा बढी घाममा बसे केश फुल्ने र तालुपनको सम्भावना धेरै बढ्छ । त्यसैले गर्मीमा घाममा निस्कँदा छाता ओढ्नु र चर्को घामबाट बच्नु छालाको स्वास्थ्यका लागि आवश्यक छ ।

छालाको स्याहार

अनुहार सफा राख्न फेसवास र आवश्यक मात्रामा सनस्क्रिन प्रयोग गर्नुपर्छ । तैलीय (चिल्लोपन) छाला हुनेले ‘रेटिनोल सिरम’ तथा ‘मोस्चराइजर’ प्रयोग गर्नुपर्छ । जाडोमा नरम क्लिन्जरको प्रयोग गरे पनि गर्मीमा परिवर्तन गर्नुपर्छ । गर्मीमा तैलीय छाला हुनेले ‘एएचएबीएचएयुक्त फेसवास’प्रयोग गर्नुपर्छ ।यसले छालाको चिल्लोपन कम गराउँछ । धेरै सुख्खा र संवेदनशील छाला हुनेले साधारण क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । दिनहुँ मेकअप गर्नेहरूले ‘मिसेलर वाटर’ ले राम्ररी सफा गरी फेसवास प्रयोग गर्नु वेश हुन्छ ।

‘मोस्चराइजर’ ले छालाको अवरोधका रूपमा काम गर्छ । त्यसैले दिनहुँ यसको प्रयोग गर्नुपर्छ । छालाको प्रकार (सुख्खा वा चिल्लो) अनुसारको सनस्क्रिन कम्तीमा पनि दिनको तीन पल्ट प्रयोग गर्नुपर्छ । पानी धेरै पिउँदा छाला सुख्खाहुन पाउँदैन र छालाको अन्य समस्या कम गर्छ । छालामा डन्डिफोर आउने समस्या छ र उमेर २५ वर्षभन्दा बढी छ भने ‘रेटिनोल’ को प्रयोग गर्नु उपयुक्त हुन्छ ।

‘रेटिनोल एक किसिमको भिटामिन ए हो, जुन छालाका लागि उपयुक्त हुन्छ । यसले छालाको पुरानो कोषिका फेरेर नयाँ कोषिका ल्याउन मद्दत गरी अनुहार चम्किलो बनाउँछ । साथै अनुहारको चाउरी घटाउने र छालालाई स्वस्थ राख्ने काम गर्छ । ‘रेटिनोल’ को नियमित प्रयोगले कोल्याजन बढाई चाउरीपन केही हदसम्म घटाउन मद्दत गर्छ ।

गर्मी मौसममा घाम र प्रदूषणले छाला र केशमा हुने ‘अक्सिडेटिभ स्ट्रेस’ छाला र केशका लागि हानिकारक हुन्छ । यसबाट बच्न भिटामिन ‘सी’, ‘ई’ रनियासिनामाइड क्रिम पनि छालाको स्किन केयर रुटिनमा प्रयोग गर्न सकिन्छ ।

बिहान नियासिनामाइड र साँझ भिटामिन ‘सी’ प्रयोग गर्नु राम्रो हुन्छ । भिटामिन ‘सी’ र ‘रेटिनोल’ दुई घन्टाको फरकमा लगाउनु राम्रो हुन्छ ।

 Image