Successfully Copied

जाडोमा छालाको हेरचाह 

छाला शरीरको बाह्य कवच हो । मौसम प्रतिकूल हुँदा शिशिरयाममा रुखोपनको प्रत्यक्ष असर छालामा पर्छ । त्यसैले यतिबेला छालाको उचित स्याहार जरुरी छ । 

छाला शरीरको बाह्य कवच हो । मौसम प्रतिकूल हुँदा शिशिरयाममा रुखोपनको प्रत्यक्ष असर छालामा पर्छ । त्यसैले यतिबेला छालाको उचित स्याहार जरुरी छ । 

सनस्क्रिन र घामबाट बच्ने

जाडोमा पनि गर्मीमा जस्तै नियमित सनस्क्रिन लगाउनुपर्छ । जाडोको घाम न्यानो र पारिलो भए पनि छालालाई असर पार्न सक्छ । घामको ‘एलर्जी’ जाडोमा पनि हुनसक्छ । पाँच मिनेटको बिहानको घामले पनि पोतो, चाउरीपना र एलर्जी बढाउँछ । सनस्क्रिन दिनमा तीन पटक लगाउनुपर्छ । 

भिटामिन ‘डी’

जाडोमा भिटामिन ‘डी’ को आवश्यकता बढी हुन्छ । चिकित्सकको सल्लाहअनुसार सप्लिमेन्ट लिन जरुरी छ । छालाको समस्या हुनेलाई घामले असर पार्ने भएकाले सप्लिमेन्ट खानु उपयुक्त हुन्छ । 

छालाको हेरचाह

धेरैले डन्डिफोर आउँदा निचोर्ने गरेको पाइन्छ । पछिल्लो समय बजारमा उपलब्ध अन्तर्राष्ट्रिय ब्रान्डका सेरामाइडयुक्त क्रिमले समेत डन्डिफोर बढाएको देखिन्छ । त्यसैले चिकित्सकको सल्लाह र छाला जाँचेर मात्र क्रिमको छनोट गर्नुपर्छ । 

‘एक्सफोलिएट’ गर्ने

जाडोमा छालाले ढिलो काँचुली फेर्छ । जसरी नङ र केश जाडोमा ढिलो बढ्छन् त्यसरी नै छाला पनि पत्रमाथि पत्र जमेर बस्छ र ढिलो फेरिन्छ । जसले गर्दा छाला फुस्रो र चमकहीन देखिन्छ । यो मौसममा महिनामा १–२ पटक ‘एक्सफोलिएट’ गर्नुपर्छ । 

केशको चायाँ

जाडोमा चायाँ नपर्ने र केश नचिलाउने समस्या नभएका मानिस बिरलै भेटिन्छन् । झनै प्रदूषण र हेलमेटको प्रयोगले यो समस्यालाई अझै बढाइदिन्छ । त्यसैले औषधि पसलमा पाइने ‘एन्टी डेन्ड्रफ’ स्याम्पु सातामा दुई पटक लगाउनुपर्छ । केशको चायाँले अनुहारमा डन्डिफोर, एक्जिमा र पोतो बढाउन सक्छ । त्यसैले छाला स्वस्थ राख्न केश स्वस्थ हुनुपर्छ तर ‘मेडिकल स्याम्पु’ मात्र प्रयोग गर्दा केशको टुप्पा टुक्रने र सुख्खा हुने समस्या हुन्छ । पहिले ‘नरम सल्फेट फ्रि स्याम्पु’ प्रयोग गर्ने र त्यसपछि ‘मेडिकल स्याम्पु’ केशको जरामा मात्र लगाउने र ‘कन्डिसनर’ केशको टुप्पामा मात्र लगाउनुपर्छ । केही समय राखेर पखाल्नुपर्छ । यसले चायाँ कम हुन्छ र केश नरम हुन्छ । 

फेसमास्क वा तेल लगाउने

डन्डिफोर नआउने र धेरै सुख्खा छाला छ भने महिनामा दुई–तीन पटक नरिवलको तेल वा ‘हाइड्रेटिङ फेस मास्क’ राति लगाउँदा छाला नरम हुन्छ । 

तातोपानी र छाला

जाडोमा धेरै तातोपानीले नुहाउनु हुँदैन । तातोपानीले शरीरको प्राकृतिक तेल कम गराई कमजोर बनाउँछ । जाडोमा नुहाउनेबित्तिकै शरीरमा लोसन वा तेल लगाउनु उपयोगीे हुन्छ । ‘एसी’ वा ‘हिटर’को प्रयोग गरिन्छ भने ‘ह्युमिडीफायर’ जोड्नु उपयुक्त हुन्छ ।

ओठको स्याहार

जाडोमा ओठ र आँखा वरपरको भाग मुलायम राख्न ‘मोस्चराइजर’ नियमित लगाउनुपर्छ । 

डा. स्मृति श्रेष्ठ

छाला रोग विशेषज्ञ

(डा. स्मृति अनोभा स्किन एण्ड हेयर क्लिनिककी मेडिकल डाइरेक्टर हुन् ।) 

 Image