Successfully Copied

जमेको जोडी

आमरूपमा नेपाली समाजको यो दृश्यमा बढी मात्रामा महिला नै आउँछन् । प्रदीप एउटा यस्ता श्रीमान् हुन् जो आफ्नो क्षेत्रमा अब्बल, सशक्त र लोकप्रिय भएर पनि आफ्नो जीवनसाथीको उन्नति–प्रगति र खुसीका लागि कहिल्यै पुरुष हुनुको दम्भ गरेनन् ।




अमेरिकाको न्यूजर्सी सिटीस्थित ‘४६ अल्बा एभिन्यू होपाटकङ’ को पारिलो थुम्कोमा रहेको एउटा सुन्दर घरभित्र प्रवेश गर्दा लेखक, सञ्चारकर्मी तथा अधिकारकर्मी प्रदीप परियार थापा भान्सामा खाना बनाउन व्यस्त थिए । हामी पुग्नेबित्तिकै उनी सम्हाल्दै गरेको भान्सा छाडेर हँसिलो मुहारका साथ स्वागतका लागि ढोकामा आइपुगे । श्रीमती विष्णुमाया परियार दिनभरिको कामले थाकेर घर फर्किंदा श्रीमान्ले सधै यसरी गर्ने न्यानो स्वागतले थप ऊर्जा मिल्ने बताउँछिन् । 

आमरूपमा नेपाली समाजको यो दृश्यमा बढी मात्रामा महिला नै आउँछन् । प्रदीप एउटा यस्ता श्रीमान् हुन् जो आफ्नो क्षेत्रमा अब्बल, सशक्त र लोकप्रिय भएर पनि आफ्नो जीवनसाथीको उन्नति–प्रगति र खुसीका लागि कहिल्यै पुरुष हुनुको दम्भ गरेनन् । आफ्नो जातको पछाडि श्रीमतीको जात जोड्ने सायदै उनी पहिलो नेपाली हुन् । यसले ‘माया भन्दा ठूलो के छ र...’ भन्ने उक्तिलाई प्रस्ट्याउँछ । त्यसो त श्रीमती बिष्णुमाया पनि श्रीमान कामबाट थाकेर घर फर्किंदा यसै गरी न्यानो मायाले स्वागतका लागी ढोकासम्म आइपुग्छिन । यसरी नै यि दुइले आफ्नो जीवनलाई ‘माया–प्रेम’ को फुलबारी बनाएका छन ।

पछिल्लो दृश्यमा प्रगाढ प्रेम र मेल देखिएको यो जोडीको पहिलो भेट कहाँ र कसरी भएको थियो भन्ने जिज्ञासामा प्रदीपले भने, ‘सन् २००९ मा केन्टकी राज्यमा भएको गैरआवासीय नेपालीहरूको क्षेत्रीय सम्मेलनमा हाम्रो भेट भयो । म सल्लाहकार थिएँ, उनी राष्ट्रिय समीतिको बोर्ड सदस्य । न्यूजर्सीबाट मेरो न्यूज पोर्टलको रिपोर्टिङका लागि म त्यहाँ गएको थिएँ । त्यो पहिलो भेटमा उनले कथित दलित समुदायकी केटीका रूपमा बाल्यकालदेखि अहिलेसम्म नेपालमा जातीय विभेद कसरी भइरहेको छ भन्ने आफ्नो संघर्ष र सफलताको कथा सुनाइन् । ती संघर्ष तर त्यसको विरुद्ध लड्ने उनको दृढता र सफलताको कथा यति प्रभावशाली थियो कि म त्यो दिन उनको कुरा सुनेर रोएँ ।’ त्यसयता आफूले जातीय भेदभाव अन्त्य गर्न जसरी भए पनि उनलाई सहयोग गर्ने प्रतिज्ञा गरेको प्रदीप बताँउछन् । यद्यपि त्यो पहिलो नजरमा प्रेम भने थिएन भन्ने प्रदीपले त्यो दिनदेखि आफूहरू राम्रो र मिल्ने साथी भएको बताए । क्रमशः साथी मात्र होइनौं भन्ने महसुस भएपछि २०१५ मा विवाह बन्धनमा बाँधिएको पनि उनले सुनाए ।

अमेरिकास्थित न्यूजर्सी सिटीकी महिला अधिकारकर्मी विष्णुमाया परियार गोरखाको ताक्लुङमा जन्मिएकी हुन् । गरिब परिवारमा हुर्किएकी उनले सानैदेखि छुवाछूत र भेदभाव खेप्नुप¥यो । सन् १९९९ मा अमेरिका पुगेकी विष्णुमायालाई एक सेमेस्टर अंग्रेजी भाषा मात्रै पढेपछि म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । उनले कलेज टप गरिन् । कलेजमा एक्सिलेन्स पोलिटिकल साइन्स अवार्ड जित्ने पहिलो नेपाली मात्रै नभएर कलेजले प्रदान गर्ने प्रेसिडेन्ट अवार्डलगायत चार उत्कृष्ट अवार्ड जित्न समेत उनी सफल भइन् । पाइन म्यानरबाट सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याचलर डिग्री गरेकी उनले अध्ययन सकेको वर्ष दिनपछि ‘ओपिडी’मा ‘डेमोक्र्याटिक भ्वाइलेन्स एड्भोकेट’का रूपमा काम गर्न थालिन् । जहाँ उनले महिला हिंसासम्बन्धी विविध अनुभव बटुल्ने र घरेलु हिंसाबारे धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन् । प्रदीपसँगको भेटपछि आफ्नो करियरको गति तीब्र भएको विष्णुमाया बताउँछिन् । उनी भन्छिन्, ‘जीवनलाई फलाउन–फुलाउन र सुन्दर बनाउन मन मिल्ने साथीको आवश्यकता पर्दो रहेछ । जब मैले प्रदीपको साथ पाए“ त्यसपछिका हरेक पल सुन्दर र फलदायी छन् । मेरो भावना बुझ्ने, म र मेरो कामलाई सम्मान गर्ने, मलाई विश्वास गर्ने, मेरा हरेक कदममा साथ दिने उहाँको व्यवहारले मलाई नतमस्तक बनाएको छ ।’


श्रीमतीको प्रगतिमा श्रीमान्को साथ र सहयोग मिले महिलाले जस्तोसुकै चुनौती पार गर्न सक्ने बताउँदै उनी भन्छिन्–‘दाम्पत्य जीवन सफल बनाउन एकले अर्कालाई बुझ्न र समय दिन जरुरी छ । हरेक कुरामा आपसी सहयोग र सद्भाव चाहिन्छ । कतिपय कुरामा कम्प्रोमाइज पनि गर्नुपर्छ तर दुवैले एक–अर्कालाई सुखमा मात्र नभएर दुःखमा पनि साथ दिनुपर्छ ।’ सम्बन्ध बलियो बनाउने कुरामा प्रदीप माहिर छन् । श्रीमतीले शब्दोच्चारण नगर्दै उनको भावना बुझेर सोहीअनुसार व्यवहार गर्छन् । ‘विवाह दुई फरक जीवनको मिलन हो । त्यहाँ थुप्रै कुरा हुन्छन् जसले एक–अर्कालाई एक–अर्काबाटै भिन्न बनाइरहेका हुन्छन्, जस्तो कि, मनपर्ने–मन नपर्ने रुचि, बानी र विचारहरू । यति हुँदाहुँदै पनि जोडीका रूपमा आपसी विश्वास, मित्रता र दीर्घकालीन सम्बन्ध विकास गर्न हामीले स्वीकार, समायोजन र परेको खण्डमा सम्झौता समेत गर्नुपर्छ ।’ दुवैले दुवैका राम्रा–नराम्रा कुरालाई स्वीकार गर्दै जीवनलाई सुन्दर र सरल बनाउनुपर्नेमा जोड दिँदै प्रदीप भन्छन्, ‘विवाह भनेको जोडीका रूपमा नया“ संसार र सार्थक भविष्य निर्माण गर्ने काम पनि हो । हामीले एक–अर्कालाई सम्मानित व्यक्तिका रूपमा स्थान र सम्मान दिनुपर्छ । तपाईं आफ्नो जीवनसाथीलाई यस्तो स्थान दिनुका साथै बिनासर्त समर्थन गर्नुहोस् कि आफ्नो पार्टनरलाई उनी को हुन् भनेर स्वतन्त्र रूपमा अगाडि बढ्नुमा कुनै हिच्किचाहट नहोस् । आफ्नो जीवनसाथीलाई आफ्नो विचार वा रुचिमा ढाल्ने प्रयास नगर्नुहोस् । आफ्नो जीवनसाथीलाई उनको लक्ष्य, रुचि, इच्छा, चाहना र सपनालाई पछ्याउन दिनुहोस् । उनको जीवन रेखा बन्नुहोस् । प्रेम भन्ने कुरा विश्वास र मायामा फुल्छ, घृणा र अविश्वासमा होइन ।’

जीवनका प्रत्येक पललाई सकेसम्म आनन्दित रूपमा बाँच्ने प्रयास गरिरहेको यो जोडीको निष्कर्ष छ । दुवैले एकै स्वरमा भने, ‘हामी सार्वजनिक जीवन बाँचिरहेका छौं । त्यसैले हामी निरन्तर सामाजिक परिवर्तन र सामाजिक योगदानमा संलग्न छौं । हामी सोच्छौं कि सँगै हामी अझ राम्रो गर्न सक्छौं, अझ बलियो र प्रभावकारी रूपमा सहकार्य गर्न सक्छौं । एकता शक्ति हो । हाम्रो बिनासर्त प्रेम, आपसी विश्वास र बलियो बन्धन हाम्रो दिगो सम्बन्धका लागि बल र शक्ति हो ।’


विष्णुमायाको नजरमा प्रदीप
बलियो पक्ष -दृढ, सहयोगी र अध्ययनशील ।
कमजोरी - तुरुन्तै विश्वास गरिहाल्ने ।
आकर्षक पक्ष-बौद्धिकता र हरेक कुराको समस्या निकाल्न सक्ने खुबी ।
मनपर्ने कुरा-लेखन कला र बौद्धिकता ।
कस्ता श्रीमान् ?-आदर्श जीवनसाथी, मेरो प्रगति–उन्नतिमा सधै खुसी हुने श्रीमान् ।
के भएको हेर्ने रहर छ -अझै लेखनमै केन्द्रित भएर इनोभेटिभ पत्रकारितामा प्रगति गरेको र खुसी एवं स्वस्थ भएको हेर्ने रहर छ ।

प्रदीपको नजरमा विष्णुमाया
बलियो पक्ष- बहुप्रतिभाशाली तथा काममा दृढ ।
कमजोरी-असाध्यै वर्कोहोलिक ।
आकर्षक पक्ष-ड्यासिङ पर्सनालिटी ।
मनपर्ने कुरा- बौद्धिक र आत्मविश्वासी ।
कस्ती श्रीमती - आइडल वाइफ ।
के भएको हेर्ने रहर छ -आफ्नो क्षेत्रमा अझै अब्बल र अगाडि भएको ।

 Image