Successfully Copied

न्यु मिडियाका चुनौतीका बारेमा सम्पादकसँग छलफल

प्रेस काउन्सिल नेपालद्वारा भक्तपुरमा आयोजित न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रम सम्पन्न भयो ।


प्रेस काउन्सिल नेपालद्वारा भक्तपुरमा आयोजित न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रम सम्पन्न भयो । दुइदिन सम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताइन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् । ‘न्यु मिडिया पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा आएको परिवर्तनलाई आत्मसाथ गर्न सकेनौ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला’ उनले भनिन् । ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानुन पनि त चाहिएला, त्यसतर्फ सोचौं ।’



कार्यक्रममा मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताइन् । नकारात्मक कुरालाई बढावा दिदा नकारात्मक कुरा मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गर्नुपर्ने धारणा शर्माले राखिन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समेत समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा न्यु मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले प्रस्तुत गरेका थिए । न्यु मिडियालाई पछ्याउनुको विकल्प नरहेको उनले बताए । उनका अनुसार न्यु मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने धारणा राखे । ‘अब पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न सम्भव छैन । सहजीकरण गरिदिने हो । स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्छ’ दाहालले भने । दाहालको कार्यपत्रमाथि टिप्पणी गदै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताए । यसैगरी वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू समेत नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनर्परिभाषित गर्न आवश्यक रहेको बताइन् ।
अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताए । उनले न्यु मिडियालाई मार्गदर्शन गरी स्वनियमनका लागि प्रेरित र सहयोग गर्न जरुरी रहेको धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वअध्यक्ष शिव गाउँले र डा. महेन्द्र विष्ट लगायतले आफ्ना धारणा राखेका थिए ।


भोलिपल्ट सामाजिक सञ्जालको उपयोगिता र यसको व्यवस्थापन विषयमा छलफल गरिएको थियो । कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा. राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराएका थिए । उनले सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचित गर्नुको प्रभावकारी हुने प्रष्ट्याए । ‘सामाजिक सञ्जाललाई नजरअन्दाज गर्ने होइन, आत्मसाथ गर्नुपर्छ । सामाजिक सञ्जाल दुईधारे तरबार हो’ उनले भने । सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा समेत धेरै योगदान पु¥याउन सकिने उनेका भनाइ थियो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सामाजिक सञ्जालको प्रभाव मुलधारका सञ्जाल माध्यमभन्दा प्रभावशाली देखिन थालेकाले सामाजिक सञ्जाललाई जिम्मेवार र परिपक्व बनाउनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले दर्ता नभएका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएर भए पनि तत्कालको समस्या संबोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।


 Image