Successfully Copied

कविता लेखनमा मौलिकता हुनुपर्छ

कविता लेखनमा आफ्नो छुट्टै निजत्व र मौलिकता हुनुपर्छ ।



कवि देवकी अभिलाषीको नयाँ कविता संग्रह ‘आदिवासी भोक’ प्रकाशित छ । नेपाली साहित्य र ‘आदिवासी भोक’ पुस्तकमा केन्द्रित रही उनीसँग गरिएको संवाद

नेपालीमा लेख्ने कविको जनसंख्या बढी छ । अनेक शैली, प्रकृति र विचारका कविता थुप्रै लेखिँदै छन् । यस्तोमा तपाईं आफूले कस्तो कविता लेखिरहनुभएको छ ?

अरुले लादेको विचारअनुरूप अरुकै सिद्धान्तको दास बन्ने कुरामा म असमत छु । कविता लेखनमा आफ्नो छुट्टै निजत्व र मौलिकता हुनुपर्छ । म रहरले भन्दा पनि सामाजिक दायित्वबोध भएर कविता लेख्ने प्रयासमा सधै रहन्छु । मैले लेख्ने कविता पनि सामाजिक मुद्दा र परिवेशमै आधारित रहन्छन् ।

तपाईंको ‘आदिवासी भोक’ कवितामा ‘कुनै किराँतीको आमा बन्न चाहन्छु’ भन्नुभएको छ । तपाईंको यस्तो रहर किन ?

आदिवासी भोक कविता संग्र्रह यो सत्ताले जन्माएको मनोवैज्ञानिक विचारको मौन विद्रोह हो । म आफ्नै समुदायको पनि केही संस्कार र प्रचलनको विरोधी हुँ । फरक समुदायको संस्कृतिमा हुर्किएकी भए पनि मलाई आदिवासी सौन्दर्य चिन्तन धेरै मन पर्छ । म अरुको अस्तित्व र पहिचानको सधै सम्मान गर्छु र सामाजिक न्यायको पक्षधर पनि हुँ । त्यही भएर यस्तो रहर मलाई भएको हो ।

आफ्ना सुरुका र पछिल्ला कवितामा के परिवर्तन भेट्नुहुन्छ ?

सुरुमा कविता के हो भन्ने थाहै नपाई कवि हुने रहरमा लेखियो । तर, अहिले कविताको अर्थ बुझ्न थालेपछि सामाजिक मुद्दा र आफ्ना धारणाहरू लेख्ने जमर्को गर्दैछु । कविले लेख्ने भनेकै आफूले बसिरहेको समाजको घटना त हो नि ।


तपाईंका अधिकांश कवितामा तत्कालीन पात्र, प्रवृत्ति र घटनाप्रति असन्तोष, आक्रोश र असहमति पोखिएको देखिन्छ । आफू बाँचेको समयप्रति यति विघ्न असन्तुष्टि आउनुको पछाडिको कारण के हो ?

यो सबै कुराको दोषी भनेको यो देशको राजनीतिक अवस्था हो । यहाँ एक–अर्काको अस्तित्व स्वीकार गर्ने समस्याको कारण हरेक दिन आफ्नो पहिचान रक्षाका लागि आन्दोलन भैरहेको छ । म बाँचेको अहिले समय त्यति सुरक्षित छैन । म असन्तुष्ट र आक्रोशित हुने वातावरण ल्याउने यही कमजोर सत्ता हो ।

नेपाली कवितामा अग्रजहरूका विचार र शैलीका पथलाई अनुकरण गरेर पछिल्लो पुस्ता अघि बढ्दै जाँदा उसले आफ्ना किसिमको निजत्व दिएको पाइन्छ । तपाईं आफूलाई कुन अग्रज कविको निकट मान्नुहुन्छ ?

म अग्रज कविहरूको कविताको यात्रालाई अत्यन्तै सम्मान गर्छु किनभने उहाँहरूकै कविता पढेर वा सुनेर मैले पनि कविता लेख्ने दुस्साहस गरें ।

नेपाली कविताका बलिया र कमजोर पक्षहरू के–के हुन् ?

अहिलेको जल्दोबल्दो विषयमा वैचारिक सामाजिक न्यायको पक्षमा उत्कृष्ट कविताहरू पनि धेरै कविले लेखिरहेका छन् । यसलाई नेपाली कविताको बलियो पक्ष मान्न सकिन्छ । केही कविताहरू आत्मरञ्जनको हिसाबले कलाबिहीन तरिकाले पनि लेखिएका छन् । तर यो कमजोर पक्ष हो ।

 Image