Successfully Copied

‘मेरा कविता मेरै गुरु’

नेपाली कविताको बलियो पक्ष मौलिकता हो । हामीसँग सयौं वर्षसम्म सयौं कविले लेख्दा पनि नसकिने हाम्रा मौलिक बिम्ब छन्, जसले कवितालाई सधैं बचाइराख्छ ।


कवि अमृता स्मृतिको नयाँ कवितासंग्रह ‘नदीको तिर्खा’प्रकाशित भएको छ । अहिले लेखिइरहेका कविता र कवितामा फेरिएका विषयमाथि उनीसँग गरिएको वार्ता-

नेपाली कविताका बलिया र कमजोर पक्ष के–के हुन् ?
नेपाली कविताको बलियो पक्ष मौलिकता हो । हामीसँग सयौं वर्षसम्म सयौं कविले लेख्दा पनि नसकिने हाम्रा मौलिक बिम्ब छन्, जसले कवितालाई सधैं बचाइराख्छ । जुनसुकै विचार, चेतलाई पनि नेपाली साहित्यले विश्व साहित्यमा राम्रोसँग चिमोट्न सक्ने सामथ्र्य राख्छ । चाहे त्यो समाजवादी साहित्य चेत होस् वा माक्सर्सवादी साहित्य चेत भनियोस् । यदि दुर्बल पक्ष छ भने त्यो कविताको दुर्बल पक्ष होइन, कविको दुर्बल पक्ष हो । र त्यो कविता हुनै बाँकी हुन्छ ।नेपाली कविताका शक्ति–सन्दर्भहरू विशेष देखिन्छन् ।

तपाईंको नयाँ कविता किताब ‘नदीको तिर्खा’ को प्रतिक्रिया कस्तो छ ?

सबै किसिमको प्रतिक्रियालाई स्वीकार गर्नु नै लेखक परिपक्व हुनु हो । पाठकको प्रतिक्रिया र स्नेह नै ‘नदीको तिर्खा’ कृति सफलताको साँचो हो । राम्रा प्रतिक्रिया आइरहँदा सिर्जनात्मक ऊर्जा बढिरहने रहेछ । पाठकको प्रेमले सिर्जनात्मक जीवन पल्लवित–पुष्पित–फलित भएको महसुस गरेकी छु । आभारी छु ।


तपाईं आफूलाई कुन अग्रज कविको निकट मान्नुहुन्छ ?
पछिल्लो पुस्ताका सबै कविले अग्रजहरूका विचार र शैलीका पथ अनुकरण गरेका छन् भन्ने पक्षमा म छैन । पथ अनुकरण गर्नु र शैली अनुकरण गर्नु दुई अत्यन्त भिन्न कुरा हुन् । हामी सबै अग्रजले खनेका साहित्यका विभिन्न विधाका पथमा हिँडिरहेका छौं । यद्यपि शैली भने हाम्रो आफ्नै किसिमको भिन्न हुन जरुरी छ । म आफूलाई कुनै निश्चित अग्रज कविको कविताको निकट पाउँदिन । मलाई मन परेका कविता धेरै छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘भिखारी’ कविता मलाई अहिले पनि मुखाग्र छ । कवि भूपि शेरचनको’नयाँ वर्ष’, कवि वैरागी काइँलाको ‘एकान्तको अजिङ्गर’ र तुलसी दिवसको ‘बाटो’ जति पढे पनि पुग्दैन । यस्ता धेरै कविता छन् जसलाई पढेर म हुर्किएँ । तर निकट वा टाढा कसैलाई पाउँदिन ।

तपाईंका कवितामा तत्कालीन घटनाप्रति असन्तोष, आक्रोश र असहमति देखिन्छ । आफू बाँचेको समयप्रति यतिविघ्न असन्तुष्टि आउनुको कारण के हो ?
पछिल्लो कवितासँग्रह ‘नदीको तिर्खा’ले सन्तुष्टि र असन्तुष्टि, प्रेम, प्रकृति र सामाजिक यथार्थलाई समात्छ । यो छुट्याउने जिम्मा पाठकलाई भयो । तत्कालीन समाजमा घटेका घटनाबाट एउटा कवि विमुख हुन सक्दैन । अग्रज कविका कविताबाट हामीले हिजोको समाज नियाल्यौं । आजको समाजलाई भोलिको पुस्ताले हेर्न हाम्रा कविता चाहिन्छन् । तत्कालीन पात्र, प्रवृत्ति र घटनाप्रति असन्तोष, आक्रोश र असहमति देखिनु स्वाभाविक छ । सीमित असन्तुष्टिका थैलाहरूलाई मात्र नफुकाई सन्तुष्टिका पुष्पगुच्छाहरूलाई पनि पाठकले नियाल्नुभएको छ ।

सुरुका र पछिल्ला आफ्ना कवितामा के परिवर्तन पाउनुहुन्छ ?
सुरुका कविता भनेर मैले विद्यालय जीवनमा लेखेका कवितालाई ठान्छु । त्यसबेला मैले लेखेका कविताहरू मेरा गुरु हुन् । सुरुमा लेखिएका कविताबाट के कविता हो र के कविता होइन भन्ने सिक्न पाएँ । समय र अध्ययनको दायरासँगै अर्थात् भोगाइ र परिवेशसँगै सुरुका कविता र अहिलेका कवितामा शैली, बिम्ब र भाषिक भिन्नता छ । सुरुका र अहिलेका कविता मात्र नभएर प्रत्येक कविता नै एक अर्काबाट भिन्न खालका छन् । हुनु पनि पर्छ । नत्र कविता किन लेख्नु ?

अनेकौं शैली, विचारका कविता लेखिँदैछन् । तपाईंले कस्तो कविता लेखिरहनुभएको छ ?
–कविको संख्या धैरै हुनु मलाई राम्रो लाग्छ । किनभने कमसेकम उसले अर्को कविको केही भए पनि कविता पढेको हुन्छ । लेख्दैमा न त सबै कविता हुन्छ, न त सबै कवि हुन्छन् । कवि हुन त विशेष खालको प्रतिभा, अलग दृष्टि हुनुपर्छ । नत्र जीवनभरि साधना गरे पनि कोही कवि नहुन सक्छ । हाम्रा अग्रजहरूलाई उदाहरणका रूपमा हेर्न सकिन्छ । सयौं कवि–लेखकहरू आए–गए । पाठकले त औंलामा गन्न सकिनेलाई मात्र याद गरेका हुन्छन् । त्यसैले एउटा कविले सामूहिक तस्बिरमा भन्दा पनि एकल तस्बिरमा आउनेगरी लेख्न सक्नुपर्छ । म त्यही यात्रामा छु । मेरा कविता कस्ता छन् भन्ने प्रश्नको उत्तर भने पाठकसँगै होला ।

 Image